विराटनगर । ‘राज्यको आँखामा महिला सवाल र कानुनी व्यवस्था’ विषयक एक दिने गोष्ठी मोरङको बेलबारीमा शुक्रबार सम्पन्न भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको महिला परिचालन उपसमितिको आयोजनामा भएको गोष्ठिमा ११८ जना विभिन्न सहकारीका सञ्चालक तथा कर्मचारी महिलाहरुको सहभागिता रहेको थियो ।
जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङकी उपाध्यक्ष तथा महिला समितिकी संयोजक सिता तालिछानेको अध्यक्षता तथा नेफ्स्कूनका सञ्चालक शालिकग्राम ढकालको प्रमुख आतिथ्यतामा भएको उद्घाटनमा ढकालले महिला नेतृत्व स्थापित गर्न सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनले महिलाहरुले सञ्चालन गरेको सहकारीमा समस्या पनि कम आएको बताउँदै नेतृत्व क्षमता महिलाहरुमा बढी हुने र सुशासनको पाटोलाई ध्यानमा राखेर काम गर्ने भएकाले पनि महिलाले नेतृत्व गरेका संस्था सफल हुनेमा जोड दिए । महिलाका विषयमा कानुन राम्रो भएपनि कार्यान्वयनमा भने कमी भएको उल्लेख गरे ।
त्यस्तै जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका अध्यक्ष प्रेमप्रकाश कोईरालाले सहकारीमा मात्र नभएर अन्य क्षेत्रमा पनि महिलाको नेतृत्व सफल रहेको बताए । सहकारीले महिलाको नेतृत्वमा विकास गरेको बताउँदै उनले जनप्रतिनिधिमा निर्वाचित महिलाहरु कुनै न कुनै रुपमा सहकारीमा आवद्ध भएको बताए ।
सहकारीमा आवद्ध भएर नेतृत्व विकास गरेर अन्य क्षेत्रमा नेतृत्व गर्न सफल भएको उनको भनाई छ । समुदायको विकासको क्षेत्रमा पनि महिला नेतृत्व अग्रणी रहेको कोईरालाले बताए । हामीले अहिले समानता भन्दा पनि समताको विषयमा कुरा गर्नुपर्ने उनको भनाई छ ।
जिल्ला सहकारी संघ मोरङकी उपाध्यक्ष पार्वता बरालले पछिल्लो समयमा महिलाहरु आफ्नो अधिकारका सवालमा चनाखो हुँदै गएको बताईन ।
‘सहकारी क्षेत्रमा पनि महिलाले सञ्चालन गरेको सहकारीमा मात्र महिलाको नेतृत्व हुन्थ्यो’, उनले भनिन्, ‘अहिले पुरुषले सञ्चालन गरेका सहकारीमा पनि महिलाको नेतृत्व रहेको छ ।
सञ्चालकहरुमा महिलाहरु प्रतिस्पर्धाबाट नै आएका छन् । यो हाम्रो लागि सकारात्मक हो । तर, अझै पनि अर्थपूर्ण रुपमा महिला सहभागिता भने कम नै छ ।’
जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङका सल्लाहाकार हरि सुवेदीले मोरङमा यस्तो खालको कार्यक्रम पहिलो पटक भएकाले महत्वपूर्ण रहेको बताए ।
गोष्ठीको सहजीकरण अधिवत्ता सरिता अधिकारीले गरेकी थिईन । उनले संविधानमा रहेको महिलाको हक, ऐन, नियम कानुन लगायतका विषयमा जानकारी गराएकी थिईन ।
गोष्ठिमा सहभागिहरुले नजिकको होस् या टाढाको कसैलाई पनि पूर्णरुपमा विश्वास गर्न नहुने रहेछ भन्ने कुरा थाहा पाएको बताए । पुरुषहरुको तुलनामा महिलाहरु कार्यक्रममा कम सहभागिता हुने र महिलाकालागि कार्यक्रम पनि कम हुने भएकाले यस्ताखाले कार्यक्रम बढाउन सके काुननी कुराको बारेमा पनि जानकारी हुने उनीहरुको भनाई थियो ।
गोष्ठी समापनमा नेफ्स्कून सञ्चालक लक्ष्मी सापकोटा, नेफ्स्कून पूर्व सञ्चालक गोमा नेपाल, संघका सचिव जीवन बस्नेत लगायतको सहभागिता रहेको थियो ।
गोष्ठीमा सहभागी प्रमुख अतिथि, अतिथि लगायत सहभागीहरुलाई सञ्चालक मिना कार्कीले स्वागत गर्नुभएको थियो । कार्यक्रम संघकी सञ्चालक बालकुमारी लिम्बूले सञ्चालन गर्नुभएको थियो ।
Leave a comment