झापा । प्रदेश नं १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको तेस्रो वार्षिक साधारण सभा दमकमा सम्पन्न भएको छ ।संघका अध्यक्ष महेन्द्रकुमार गिरीको सभापतित्व तथा कोशी प्रदेश सभाका समामुख अम्बरबहादुर विष्टको प्रमुख आतिथ्यमा साधारण सभामा सम्पन्न भएको हो ।
सभामा संघका अध्यक्ष गिरीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले संघमा हालसम्म ४५ वटामात्र संस्थाहरु सदस्य बनेका र एक करोड ४४ लाख शेयर पुँजी संकलन भएको जानकारी गराए ।
त्यसैगरी उनले चालू आर्थिक वर्षमा सदस्य संख्या ७० बनाउने र शेयर पूँजी दुई करोड रुपैयाँ पुर्याउने लक्ष्य रहेको जनाए । समीक्षा वर्षमा संघले ८ लाख १५ हजारमात्र खुद नाफा गर्न सकेकोले २ प्रतिशत शेयर बोनस र संरक्षित पूँजी फिर्ता कोष वितरण गर्ने सभामा प्रस्ताव पेस गरेका थिए ।
संघले अहिले सिटिसी चिया, मह र तोरीको तेल उत्पादन गरी बिक्री गरिरहेको छ भने चालू वर्षदेखि बेसार, कफी र सुदोनून थप गरी प्याकेजिङ्ग र बजारीकरण गर्ने अध्यक्ष गिरीले बताए ।
साधारणसभामा कोशी प्रदेश सभाका सदस्य होमबहादुर थापा, कृषि केन्द्रीय सहकारी संघका उपाध्यक्ष मिना ढकाल, झापा जिल्ला सहकारी संघ लेखा सुपरीवेक्षण समितिका संयोजक चूडामणि ओझा, बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपाने, सिएमसी झापाका अध्यक्ष खोमप्रसाद बगाले, सहकारी बैंकका शाखा प्रमुख बिवेक डाँगीले शुभकामना मन्तव्य राखेका थिए ।
Leave a comment