भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले बजार प्रतिनिधिको क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।संघको संस्थागत विकास उपसमितिको आयोजनामा होटल सिटी गाउँ, भातेढिकुरमा एक दिवसिय बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको हो ।
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संघले सहकारीको सात सिद्धान्तमध्ये पाँचौ सिद्धान्त तालिम, शिक्षा र सूचना अन्तर्गत संघले निरन्तर तालिम तथा शिक्षाको कार्यक्रम गर्दै आएको बताए ।
उनले संस्था सदस्यमा बजार प्रतिनिधि मार्फत पुग्ने भएकोले बजार प्रतिनिधिले संस्थाको बारेमा सम्पूर्ण जानकारी राखि सदस्यको बचत सुरक्षाको सुनिश्चता गरी काम गर्नुपर्ने बताए । उनले वर्तमान अवस्थामा सदस्यलाई सहकारीका बारेमा सुसूचित गर्न बजार प्रतिनिधिले भुमिका खेल्नुपर्ने बताए ।
तालिमका प्रशिक्षक उपेन्द्र हुमागाईले सहजीकरण गर्दै हालको अवस्थामा बजार प्रतिनिधिहरु स्वउत्प्रेरित भई सदस्यहरुलाई निरन्तर सेवा, सम्पर्क र सहयोग गर्नुपर्ने बताए । उनले तालिमबाट सिकेको ज्ञान व्यवहारमा उतारे मात्र तालिम सार्थक रहने बताए ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकारीले सदस्यसंग मात्र कारोबार गर्ने भएकोले बजार प्रतिनिधि भन्दा पनि सदस्य सहायक भन्नुपर्ने बताए ।
सदस्यको सेवामा खटिने बजार प्रतिनिधिले सदस्यलाई सहि सूचना सम्प्रेशन गर्न सहकारीबारे निरन्तर ज्ञान हासिल गर्नुपर्ने उनको विचार थियो । तालिममा सदस्य संस्थामा कार्यरत ३९ जना बजार प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
तालिममा सहभागीहरुले छोटो अवधिको तालिममा पनि समुह कार्य, प्रवचन, रोल प्ले जस्ता शिक्षण विधिहरुबाट धेरै सिक्न पाएकोमा खुशी व्यक्त गर्दै तालिम प्रभावकारी भएकोले बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धिमा धेरै सहयोग पुग्ने बताए ।
Leave a comment