भक्तपुर । भक्तपुरको ताथलीस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको स्वास्थ्य शिविरसहित १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं ९ मा रहेको सो सहकारीको साधारणसभा तथा स्वास्थ्य शिविर सुर्यविनायक गणेश मन्दिर परिसरमा भएको हो । स्वास्थ्य शिविरका लागि नेशनल बाथरोग सेन्टरले प्राविधिक सहयोग गरेको थियो ।
सभाको उद्घघाटन चाँगुनारायण नगरपालिका वडा नं ९ का वडा अध्यक्ष गणेश त्यातले गरेका थिए । कार्यक्रममा उनले नाफाको पछि लाग्ने स्वभावका सञ्चालक रहेका सहकारीले सामाजिक क्रियाकलाप नगर्दा समुदायमा आधारित सहकारीसमेत बदनाम हुनपुगेको बताए ।
उनले पछिल्लो समयमा स्थानीय तहहरूमा बहुउद्देश्यीय सहकारीको संख्या बढेको उल्लेख गर्दै स्थानीय व्यक्तिको सक्रियतामा मात्र सञ्चालित सहकारीमा बचत गर्न अनुरोध गरे । वडा अध्यक्ष त्यातले सो अवसरमा सहकारीका उत्कृष्ट बचतकर्ता र ऋणीलाई सम्मान गरेका थिए ।
कार्यक्रममा मासिक असल बचतकर्ता सम्मानबाट श्यामु बस्नेत, सामुहिक जमानी ऋणतर्फ उत्कृष्ट ऋणी सम्मानबाट मनहरि बस्नेत, धन जमानी ऋणतर्फ उत्कृष्ट ऋणी सम्मानबाट पुस्कर खत्री, उत्कृष्ट बाल बचत सम्मानबाट प्राश्ना न्हेम्हाफुकी र उत्कृष्ट दनिक बचत सम्मानबाट राजु बाला सम्मानीत भएका छन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष हरिगोपाल बासुकला तथा प्रगति युवा समाजका सचिव रविन्द्र न्हेम्हाफुकीले सहकारीले वित्तीय अनुशासन कायम गरी समुदायका लागि काम गर्न सके सहकारी सिद्धान्तअनुसार काम हुने उल्लेख गर्दै शुभकामना दिए ।
ताथलीको तैकाबु गणेश सांस्कृतिक समूहको सांस्कृतिक प्रस्तुतिका साथ भएको कार्यक्रममा सहकारीका सचिव हरिसुन्दर छुकां, कोषाध्यक्ष अर्जुन सुवेदी, ऋण उपसमिति संयोजक उत्तम साखकर्मी तथा लेखा समिति सदस्य घनश्याम खड्काले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०६७ सालमा स्थापना भएको उक्त सहकारीमा ५९४ सदस्य रहेका छन् भने आव २०७९र८० मा ७२ लाख ३४ हजार शेयर पूँजी भएको छ । सहकारीले सोही आर्थिक वर्षमा ३ करोड ७ लाख ५८ हजार बचत संकलन गरि ३ करोड ७३ लाख ३८ हजार रूपैयाँ ऋण लगानी गरेको छ ।
Leave a comment