प्राङ्गरिक खेतिमा आकर्षण बढाउँदै साना किसान कृषि सहकारी, गिद्धा

प्राङ्गरिक खेतिमा आकर्षण बढाउँदै साना किसान कृषि सहकारी, गिद्धा :: Sahakari Akhabar

संस्थाको २ कठ्ठा १६ धुर जग्गामा आफ्नै भवन रहेको छ । भवन निर्माणकालागि साना किसान विकास वैकले २ लाख ५० हजार र नगरपालिकाले १५ लाख सहयोग गरेको छ।

काठमाडौं । धनुषाको बिदेह नगरपालिका ६ तीनकौरियामा रहेको साना किसान कृषि सहकारी संस्था गिद्धाका सदस्य प्राङ्गारिक खेतितर्फ आकर्षित हुनथालेका छन् । संस्थाले सदस्यलाई प्राङ्गारिक खेति तर्फ आकर्षित गर्न कृषि र पशुपालन ऋणमा जोड दिंदैआएको छ ।

संस्थाले रासायनिक मलको प्रयोग कम गर्न, प्राङ्गारिक मलको उत्पादन र प्रयोग गरी प्रर्यावरण जोगाउन सदस्यलाई शिक्षा दिइरहेको छ । २०६२ सालमा स्थापना भएको संस्थासंग अहिले १ हजार ७ सय सदस्य रहेका छन् ।

त्यसैगरी संस्थाले कृषि तथा ब्यवसायीक पशुपालनमा ६ सय ९५ जनालाई ब्यवसायीक उत्पादनमा लगानी गरेको छ । त्यसैगरी २ सय जना साना साना ब्यवसायलाई बढावा दिन पनि लगानी गरेको छ ।

संस्थाले उद्देश्य अनुरुप उत्पादन क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको जनाइएको छ । जसमा अधिकांस सदस्यले पशुपालन र तरकारी खेति गरिरहेका छन् ।

संस्थाका सदस्यले गाई, भैंसि, बाख्रा र कुखुरा पालन अनि तरकारी खेति गरेका छन् । संस्थाले सदस्यलाई ब्यवसायीकरुपमा अघि बढ्न ५० लाख सम्म ऋण दिनेगरेको छ । ऋण लिएर सदस्यले ब्यवसायीक रुपमा तरकारी खेती र पशुपालन ब्यवसाय गरेका छन् ।

सदस्यहरुको हरेक माग संस्थाले पुरा गरिदिने हुनाले साना किसान सहकारी बाहेक अरुसंग कारोबार नगर्ने संस्थाका अध्यक्ष रामचरित्र महतो बताउँछन् ।

उनी संस्थाले कार्यक्षेत्रमा रहेका निम्न वर्ग, दलित जनजाती र पिछडिएका मानिसलाई पनि सदस्य बनाएर सानो सानो ऋण दिएर आत्मनिर्भर बनाउन सहयोग गरेको बताउँछन् ।

सदस्य किसानलाई पशुपालनमा आकर्षित गर्न गोठ सुधार, अनुदानजस्ता कार्यक्रम गरि सहयोग गरेको उनको भनाइ छ । सस्थाले गोठसुधार अन्तर्गत दुइजना सदस्यलाई ५० / ५० हजार अनुदान दिएको बताए ।

सदस्यलाई ऋण सेवा मात्र नभएर शिक्षा, तालिम दिएर आम्दानीबाट बचत गर्न सिकाएको, उद्यम गर्न सिकाएको, स्वरोजगार गराएकोले सदस्यहरु साना किसान सहकारीलाई आफ्नै संस्थाको रुपमा हेर्ने गरेको उनको भनाई छ ।

संस्थामा २३१ वटा समुह रहेको संस्था प्रवन्धक हरिचन्द्र पण्डित बताउँछन् । संस्थाले पछिल्लो वर्ष ८२ लाख कूल आम्दानी गरेको छ । असुली दर पनि सय प्रतिशत रहेको उनले बताए ।

संस्थाले वित्तिय कारोबार भन्दा पनि सदस्य हितका विभिन्न गतिबिधिलाई नै प्राथमिकता दिएको प्रवन्धक पण्डित बताउँछन्। उनले सदस्यलाई शिक्षा तालिम, अनुदान, विउ बिजन, मल खाद, किटनाशक औषधी बितरण गरेको जनाए ।

उनले भने सदस्यहरु विषेशत कृषि, पशुपालन लगायतको उत्पादन क्षेत्रमा आधारित रहेका छन् । सदस्यले धान खेती, गहु खेती र अन्य मौसमी तथा बेमौसमी तरकारी खेती गरिरहेको उनको भनाई छ ।

पछिल्लो समय किसानहरु आलु खेती र काउली खेतीमा बढी आकर्षित भएको उनले बताए । संस्थाले पशुपालनमा ९ प्रतिशत ब्याजदरमा लगानी गरिरहेको छ ।

सदस्य किसानहरुले ब्यवसायीकरुपमा पशुपालन गरि एकजना सदस्यले दैनिक २ सय लिटरसम्म दूध बिक्रि गरिरहेको उनले बताए । सदस्यले गाई, भौंसी बाख्रा अनि कुखुरा पालन गरेको र त्यसको गोबर मलबाट तरकारी खेती गरिरहेका छन्।

संस्थाका सदस्यले दुध तथा दुग्ध सामाग्री उत्पादन गरी आम्दानी गरेका छन् । संस्थाका सदस्य मिथेश मण्डलले संस्थासंग सदस्य भएर पशुपालन र तरकारी खेती गरिरहेका छन् ।

उनले जैविक खेती गरिरहेका छन् भने भैंसि पालन गरेर दैनिक दूध पनि बेचिरहेका छन् । उनले संस्थाबाट तालिम, बिउ बिजन मलखादलगायतको सेवा पनि लिएका छन् ।

संस्थाका अर्का सदस्य कमलेश कुमार मण्डल पनि संस्थाको सदस्य भएर बचतका अलवा ऋण सेवा पनि लिएका छन् । उनले धान मिल संचालनका साथै भैंसि पालन पनि गरेका छन् । अधुनिक गोठ बनाएर भैंसि पालनमा लागेका मण्डललाई संस्थाले गोठ सुधारकालागि ५० हजार अनुदान पनि दिएको छ ।

त्यसैगरी संस्थाका सदस्य रामप्रकाश मण्डलले संस्थाबाट ऋण लिएर बाख्रा पालन गरेका छन् भने सदस्य इश्लाम भैलले १५ कठ्ठा जग्गामा ब्यवसायीक तरकारी खेती गरिरहेका छन् ।

उनको बारीमा अहिले भान्टा, बन्दा कोपी, आलु र काउली फलेको छ । उनी जस्तै अधिकांश सदस्यहरु ब्यवसायीक रुपमा पशुपालन र तरकारी खेतीमा लागेका छन् ।

सदस्यले दैनिकरुपमा जनकपुरसम्म लगेर दूध बिक्रि गर्ने गरेको प्रवन्धक हरिचन्द्र पण्डितको भनाइ छ । संस्थाले ग्रामिण लघु उद्यम कर्जा दिएर सदस्यलाई राइस मिल, माछा पालन, तरकारी खेतीका साथै विभिन्न पेशामा आवद्ध गराएको छ ।

ब्यवसायीक रुपमा बाख्रा पालनकालागि १० लाखसम्म लगानी गरिदिएको प्रवन्धक पण्डितले बताए । बैदेशिक रोजगारकालागि पनि एक जना सदस्यलाई ३ लाखसम्म लगानी गरेर चारसय जनालाई वैदेशिक रोजगारमा पठाइसकेको उनले बताए ।

संस्थाले सदस्यको पशु ब्यवसायको विमा पनि गरेको छ । बालकदेखि वृद्धसम्मको बचत योजना ल्याएर सवैलाई सहभागी गराएको छ । साना किसान अनुदानमा मात्र भर नपरेको र आफ्नै पूँजी संकलन गरेर आत्मनिर्भर भइरहेको प्रवन्धक पण्डित बताउँछन् ।

बास्तविक किसानले अनुदान नपाउने र अनुदानको सामान गुणस्तरिय नहुने भएकोले पनि आफूहरु अनुदानमा भर नपर्ने उनको भनाइ छ । संस्थाले अव कृषि तालिमको ब्यवस्था गरेर किसानलाई चैते धानको उत्पादन बृद्धिमा लागिरहेको बताए।

संस्थाको २ कठ्ठा १६ धुर आफ्नै भवन रहेको छ । जग्गा र भवन निर्माणकालागि साना किसान विकास वैकले २ लाख ५० हजार र नगरपालिकाले १५ लाख सहयोग गरेको उनले बताए ।

सहकारी संस्था सफल बनाउन लेखा समितिको भूमिका महत्वपूर्ण रहेको संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक दुर्गाहरी मण्डल बताउँछन् । लेखा समिति संस्थाको मेरुदण्ड भएको उनको भनाई छ ।

सहकारीको समिति र ब्यवस्थापनको सहकार्यमा संस्था बलियो बनाउन सकिने बताउने मण्डल लेखा समितिले ब्यवस्थापनले तयार गरेको प्रतिवेदनमा हस्ताक्षर गर्ने मात्र काम गर्नुनहुने भन्छन् । लेखाले संस्थालाई वाचडगकोको रुपमा काम गर्नुपर्ने उनको भनाइ छ ।

संस्थाका सामाजिक कार्य

संस्थाले सदस्यकोलागि बिउ बिजन वितरण कार्यक्रम, चर्पी निर्माण, बोरिङ, पम्पसेट बितरण गरेको छ । गत वर्ष १३ सय सदस्यलाई कृषि औजार कोदालो, हाते औजार, स्प्रे टैकी पनि बितरण गरेको छ ।

त्यसैगरी सदस्य सुरक्षा विमा पनि संचालन गरेको छ भने सदस्यको मृत्युमा परिवारलाई कृया खर्च बापत १० हजार सहयोग गर्ने गरेको छ । गोठ सुधार, अनुदानजस्ता कार्यक्रम संचालन । संस्थाबाट ७ जना यूवा कृषि कर्म सिक्न इजरायल पनि गएका छन्।

भावी कार्यक्रम

आगामी दिनमा बिउ बिजन मल खाद बितरण कार्य निरन्तर गर्ने, कार्यक्षेत्र विस्तार गरी कार्यक्षेत्रका सवै मानिसलाई सहकारीमा आवद्ध गराउने र गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेल्ने संस्थाको लक्ष्य रहेको छ ।

सदस्यहरुलाई ब्यवसायीक रुपमा पशुपालन गर्ने सहुलियतको ऋण प्रवाह गरी अग्र्यानिक उत्पादनमा जोड दिने संस्थाको लक्ष्य रहेको छ ।

संस्थाले दूध डेरी संचालन गरी सदस्इले उत्पादन गरेको दूध संस्थाले खरिद गरी ब्यवस्थित रुपमा बजारको ब्यवस्थापन गर्ने लक्ष्य संस्थाले लिएको छ ।

त्यसैगरी पशु आहारको ब्यवस्था गर्ने, किसानकालागि आवश्यक पर्ने सवै सेवा उपलब्ध हुनेगरी सहकारी पसल संचालन गर्ने संस्थाको लक्ष्य रहेको छ ।

आव ८० ८१ मा सदस्य वृद्धि गरि २ हजार ५ सय पुर्याउने लक्ष्य संस्थाको छ । सदस्यको उत्पादनलाई संस्थाले खरिद गरेर बजार ब्यवस्थापन गरिदिने संस्थाको लक्ष्य रहेको छ ।

संस्थाले वृद्धाआश्रम निर्माणको योजना बनाएको छ । संस्थाले पशुपालन र कृषि पेशामा आधारित सदस्यलाई प्राथमिकता दिएर गरिबी निवारणको मूल लक्ष्य लिएको छ ।



Leave a comment