साना किसान कृषि सहकारी संस्था गोविन्दपुर, धनुषा

साना किसान कृषि सहकारी संस्था गोविन्दपुर, धनुषा :: Sahakari Akhabar

काठमाडौं । नेपालमा रहेको वहु आयामिक गरिबि न्युनिकरण गर्न नेपाल सरकारले कृषि विकास बैंक मार्फत साना किसान विकास आयोजना २०३२ सालमा सुरुवात गरेको थियो ।

२०६२ साल भदौ २० गते तत्कालिन साना किसान विकास आयोजना धनुषाधामबाट सामुदायमा हस्तान्तरण हुनेगरी साना किसान विकासको कार्यक्रम संचालन गर्न तत्कालिन डिभिजन सहकारी कार्यालय धनुषा, जनकपुरद्वारा २०६१  साल पुस १८ गते  संस्था विधिवत रुपमा दर्ता भइ गोविन्दपुर, धनुषाको व्यवस्थापन हस्तान्तरण भएको हो ।

संस्थाको कार्यक्षेत्र हाल धनुषाधाम नगरपालिका १ र २, सबैला नगरपालिका ५,६,७ र ११ वडा, मिथिला विहारी नगरपालिका १,२,४ र ५ वडा रहेको छ । संस्थाले समाजमा रहेका सुकुमवासि सिमान्तकृत, पिछडा वर्ग, दलित, आदिवासि, जनजाती, मुस्लिम वर्गलाई समावेसि हिसावले समुहमा आवद्ध गराई कार्यक्रम संचालन गरीरहेको छ ।

त्यसैले साना किसानहरुको लागि सेवा दिन सक्ने सक्षम दिगो भरपर्दो र विश्वासिलो ग्रमिण सस्थाको स्थापना स्थापना भएको अध्यक्ष प्रभुनारायण साह तेलीको भनाई छ ।

संस्थाले कार्यक्षेत्र भित्रका आवद्ध किसान सदस्य हरुलाई आर्थिक रुपमा सम्पन्न तथा स्वालम्वी बनाउने उद्देश्यले लघु कर्जा, व्यापारीक, कृषि, पशुपालन, स्वालम्बन तथा समृद्धि कर्जा उपलब्ध गराएको छ ।

छरिएर रहेको पूँजिलाई वचत निक्षेपको माध्यमबाट संकलन गरी संस्थाको आन्तरिक स्रोतको निर्माण गरी दिगो संस्थागत विकासको साथै सामाजिक रुपान्तरण गरी सदस्यहरुको वित्तिय पहुँच र जिवनस्तर उकास्ने काम गरेको अध्यक्ष तेलीले बताए।

संस्थामा हाल २०८० असाढ मसान्त सम्म ३ करोड २१ लाख ८६ हजार १०० रुपैंयाँ शेयर पूँजी तथा ९ करोड ८ लाख २७ हजार ७१८ रुपैंयाँ निक्षेप रहेको छ ।

संस्थाको आर्थिक वर्ष २०७९ / ०८० मा लगानीमा रहेको ऋण ३० करोड ३८ लाख ६८ हजार रुपैंयाँ छ । संस्थाको जगेडा कोषमा ४ करोड १० लाख ४६ हजार ६०५रुपैंयाँ तथा कुल सम्पति ३४ करोड २० लाख ९० हजार ५७४रुपैंयाँ रहेको जनाइएको छ ।

त्यसैगरी संस्थाले यस आर्थिक वर्षमा ३३ लाख ७ हजार ६६० रुपैंयाँ नाफा गरेको संस्थाका मुख्य प्रवन्धक राजकुमार साहले जानकारी दिए ।

संस्थाले शेयरधनीहरुको ऋण मागको अवस्थामा साना किसान विकास लघुवित वित्तिय संस्थासंग थोक ऋण ल्याई सदस्यहरुलाई उपलब्ध गराउदै आएको उनले बताए ।

संस्थाले कृषक सदस्यहरुलाई खेतीमा तारवार घेरालगाउन, तरकारी खेती गर्न, पशु पालन गर्न सरल तथा सुलभ कर्जा लगानी गर्दैआएको छ भने सदस्यलाई स्वालम्बन कर्जा, लघु उद्यम कर्जा, ग्रामिण उद्यम कर्जा, कृषि यांत्रिकरण कर्जा, प्राविधिक शैक्षिक कर्जा तथा व्यापारीक कर्जा प्रदान गरेर आत्मनिर्भर, स्वरोजगार अनि ब्यवसायी र उद्यमी बनाएको छ ।

संस्थाले बचत तथा ऋण सेवा, व्यवसायिक सहकारी खेति, सहकारी सुपथ मूल्य पसल, बिउबिजन तथा मलखाद उपलब्ध गराउँदैआएको छ । संस्थाले सदस्यका छोरा छोरीहरुकालागि संस्थामै बालविकास मन्टेश्वरी विद्यालय सञ्चालन गरेको अध्यक्ष तेलीले जानकारी दिए ।

त्यसैगरी संस्थाले सदस्यलाई पशुपालनमा आत्म निर्भर बनाउन तालिमको व्यवस्था गरेको छ भने, साना किसान विकास अनुशरण कार्यक्रम, सेवा केन्द्र विस्तार, सामुदायिक एवम वातावरणिय चेतना अभिवृद्धिलाई निरन्तरता दिएको छ ।

दलित, गरिब, आदिवासि, जनजाती, सुकुमवासी, अति सिमान्तकृत लोप उन्मुख, वित्तिय सेवाबाट बञ्चित भएका शेयर सदस्यहरुलाई लक्षित गरी वितिय सेवा प्रदान गरी शिक्षा तालिम सूचनाको माध्यमबाट उनीहरुलाई स्वरोजगार मुलक तथा स्वालम्बी बनाउने कार्य गरिरहेको संस्थाका मुख्य प्रवन्धक साहले बताए ।

किसानहरुले उत्पादन गरेको कृषि उपजहरु धान, राहु, मकै, तरकारी आदी खरिद बिक्रि गर्नुका साथै भण्डारणको समेत व्यवस्था गरेको छ । कृषि जन्य विउ विजन, मल खाद्य, किटनाशक औषधि र कृषि यान्त्रिकरणको सामानहरु तथा कृषिकलाई चाहिने आवश्यक पूर्वाधार र सेवा सुविधा उपलब्ध गराइरहेको छ ।

संस्थामा २ हजार ४५ जना महिला र ३२२ जना पुरुष गरि जम्मा २ हजार ३६७  जना सदस्य रहेका छन् भने अन्तर समुह २२ वटा रहेको छ । संस्थाले सदस्यहरुलाई क्षमता अभिवृद्धि गराउन समय समयमा सहकारी शिक्षा, सहकारी अभिमुखिकरण तालिम, वित्तिय साक्षारता, पशुपालन तालिम आयोजना गर्नेगरेको छ ।

त्यसैगरी संस्थाले यसै आर्थिक वर्षमा सदस्यलाई एक लाख रुपैंयाँ कृषी मिटर, करेशावारी बिउविजन, पशुपालन भैसि फर्म तथा बाखा फर्म गोठ सुधार कार्यक्रमकालागि अनुदान बितरण गरेको छ । साना किसान विकास लघुवित वितिय संस्थासंगको सहयोगमा १ लाख नगद अनुदान उपलब्ध गराएको छ ।

संस्थाले कार्यक्षेत्र भित्र शुद्ध खाने पानीको लागि हाइण्ड पाईप जडान गरेको जनाइएको छ । सदस्य वा सदस्यको एकाघरपरिवारका सदस्यको मृत्युमा संस्थाबाट ३५ हजार राहत उपलब्ध गराएको छ ।

साथै संस्थाले साना किसान कृषी सहकारी जनकनन्दिनी, साना किसान नौवाखोर पर्साही र झटियाही, साना किसान हंसपुर कठपुला र बघचौराको अनुसरण गरेको छ ।

सम्मान र पुरस्कार

संस्था राष्ट्रिय सहकारी महासंघद्वारा उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७४, डिभिजन सहकारी कार्यालय, धनुषाबाट ५९ औं राष्ट्रिय सहकारी दिवस २०७२ प्राप्त गरेको छ ।

साथै १०१औं अन्तराष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेश जनकपुरबाट कार्य सम्पादन तथा मुल्यांकनको आधारमा प्रदेश स्तरमा संस्था र मूख्य प्रबन्धक राजकुमार साहलाई पुरस्कार प्रदान गरेको थियो।

संस्थाको भावी कार्यक्रम

संस्थाले आगामि दिनमा सुपथ मुल्य उपभोक्ता सहकारी पसल संचालन किटनाशक औषधि पसल तथा कृषि यान्त्रिकरण उपकरणहरु बिक्रीकेन्द्र संचालन गर्ने, सदस्यहरुलाई आत्मनिर्भर बनाउन सुलभ दरमा कृषि पेशामा लगानी,  पशुपालन, तरकारी खेती र लघु उद्यममा थोक कर्जा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

कृषक सदस्यको उत्पादन वृद्धि, मूल्य श्रृखला, सेवा विस्तार गर्न सदस्यहरुलाई परम्परागत कृषि प्रणालीबाट व्यवसायिक तथा उच्च प्रविधिको प्रयोग गर्दै आधुनिकिकरण गर्ने निति लिएको छ ।



Leave a comment