विराटनगर । विराटनगर–२ स्थित श्रृष्टि वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष मोहनप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित साधारणसभामा असल बचतकर्ता, असल ऋणीका साथै शेयर सदस्यका सन्ततिहरुमध्ये २०८० को कक्षा १२ को परीक्षामा उत्कृष्ट जीपीए ल्याउनेहरुलाई सम्मानित गरिएको छ।
साधारणसभाका प्रमुख अतिथि अर्थशास्त्री डा.भेषप्रसाद धमलाले सहकारीका असल बचतकर्ता विराटनगर–४ का दामोदर अग्रवाल र तारा परियार, असल ऋणी सदस्य कटहरी–१ का नरेशकुमार चौधरी र विराटनगर–२ की राधा राजवंशीलाई सम्मानपत्र र नगद प्रदान गरेका थिए ।
त्यसैगरी शेयर सदस्यका सन्ततिहरुमध्ये २०८० सालको कक्षा १२ को परीक्षामा उत्कृष्ट जीपीए प्राप्त गर्ने छात्र सफल कोइराला र छात्रातर्फ कटहरी–१ की गरिमा दाहाललाई नगद पुरस्कार र प्रशंसा–पत्र प्रदान गरिएको थियो ।
सहकारीका अध्यक्ष भट्टराईले राष्ट्रिय अर्थतन्क्रमा सहकारीले सशत्त भूमिका निर्वाह गर्दै आएको भएपनि केही सहकारीहरुमा देखिएको आर्थिक विचलन र सहकारिता तथा वित्तीय क्षेत्रविरुद्व फैलाइएको भ्रामक प्रचारप्रसारले सहकारी क्षेत्र नै घेराबन्दीमा पर्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
साधारणसभाले सहकारीमा हाल १ हजार ८ सय ८१ जना शेयर सदस्यहरु रहेको र आर्थिक वर्ष ०७९ / ०८० मा सम्पन्न गरेका आर्थिक तथा सामाजिक गतिविधिको विवरणसहितको वार्षिक प्रतिवेदन पारित गरेको जनाइएको छ ।
आर्थिक वर्ष ०७९ / ०८० मा २८ करोड ९१ लाख ९३ हजार २३६ रुपैयाँ ४३ पैसाको कारोवार गरेको संस्थाले चालु आव ०८० / ०८१ का लागि कारोवारतर्फ ३२ करोड ९९ लाख ६९ हजार ५७६ रुपैयाँ ९८ पैसा, आम्दानी तर्फ २ करोड २१ लाख ६६ हजार ३४३ रुपैयाँ ४३ पैसा र खर्चतर्फ २ करोड १४ लाख १० हजार ९३३ रुपैयाँको अनुमानित आयव्यय विवरण पेश गरिएको जनाइएको छ ।
Leave a comment