काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) पौष ७ र ८ गते हुने निर्वाचन सहितको साधारणसभामा सहकारीकर्मी अमरावती बलामी महर्जनले संचालक पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन।
महर्जन काठमाडौं र ललितपुरका ३४ वटा सहकारी संस्थाहरु मिलेर बनाएको सक्रिय सहकारी संजालको अध्यक्ष रहेकी छन् । त्यसैगरी उनी जिल्ला सहकारी संघ काठमाडौंकी संचालक तथा उपासना महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हुन् ।
कर्मचारीको रुपमा सहकारी अभियानमा प्रवेश गरेकी महर्जन उपासना महिला बचत तथा ऋण सहकारी संस्थाको १५ वर्षदेखि नेतृत्व गर्दै आएकी छन् । उनले दोस्रो पटक जिल्ला सहकारी संघ काठमाडौंको सञ्चालक पदको जिम्मेवारी बहन गरिरहेकी छन् ।
सहकारी मार्फत हुनेखानेसँगै हुँदाखानेको जीवनस्तर माथि उठाउनुपर्छ र सामाजिक, आर्थिक, तथा सांस्कृतिक उत्थानमा सहकारी लाग्नुपर्ने उनको भनाई छ ।
सहकारीको नेतृत्व तहमा महिलाहरुलाई पुर्याउनुपर्छ भन्ने मान्यताका साथ लागेकी महर्जन पछिल्लो समय सहकारीका विरुद्ध भइरहेका अनर्गल प्रचारको विरोध गर्दै सहकारी बचाउ अभियानमा पनि लागेकी छन् ।
सहकारी क्षेत्रको विकास र प्रवद्र्धनका लागि सक्रिय महर्जन सहकारीलाई सरकारले देशको समृद्धिको आधार बनाउनुपर्ने बताउँछिन् । सहकारीको बारेमा अध्ययन, अनुसन्धान गर्दै आएकी महर्जन सहकारी प्रशिक्षकको रुपमा पनि क्रियाशील छिन् ।
बचत तथा ऋण सहकारी अभियानलाई मर्यादित र ब्यवस्थित बनाउन आवश्यक रहेकोले एकताबद्ध रुपमा यसलाई थप व्यवस्थित र मर्यादित बनाई यसको विकास र प्रवर्धनका लागि सक्दो पहल गर्ने उनको भनाई छ ।
बचत ऋण अभियान मात्र नभएर सिंगो सहकारी अभियानलाई नै मर्यादित बनाउन आफू लागीपर्ने र सिंगो टिमसंग सहकार्य गरेर नेफ्स्कूनको छवि उँचो बनाउन आफूले उम्मेदवारी दिनलागेको उनको भनाइ छ ।
Leave a comment