काठमाडौं । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको युवा उपसमितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा एक सय जनाले रक्तदान गरेका थिए ।
संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत सहकारीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । संस्थाको प्राङ्गणमा आयोजित कार्यक्रममा स्थानीय युवा, संस्थाका सदस्य र सञ्चालकहरुको उपस्थिति रहेको थियो ।
संस्थाले हरेक बर्ष राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ । यसपटक भने रगत अभावको अवस्थालाइ मध्यनजर गर्दै कार्यक्रम गरेको अध्यक्ष भोलानाथ पाठकले बताए ।
संस्थाले विगत १४ बर्षदेखि निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको उनको भनाई छ । स्वयंसेवी रक्तदाताहरुमा उत्प्रेणा जागृत गर्न संस्थाले नियमित ५ पटकसम्म रक्तदान गर्ने व्यक्तिहरुलाई चाँदीको सिक्का प्रदान गर्दै आएको छ ।
अध्यक्ष पाठक स्वयसेवी रक्तदाताहरु छाता संगठन ब्लड डोनर्स एसोसिएसन नेपालको केन्द्रीय सदस्य रहेर रक्तदान अभियानलाई निरन्तरता दिंदै आएका छन । संस्था बचत तथा ऋणको कारोवारमा मात्र सिमित नरही सदस्य र समुदायको हरेक आवश्यकता पुरा गर्ने कार्यमा तल्लिन रहेको उनले बताए ।
सहकारीको मुल मर्म सदस्यहरुको सेवा गर्नु रहेको र सदस्यहरुलाई जन्मदेखि मृत्युसम्म संस्थाले सहयोग गर्दै आएको पाठकले जानकारी दिए। पछिल्लो समय सहकारीप्रति नकारात्मक भावना विकास हुँदै गएको भए पनि पाँच तारा सदस्यसँग नजिक रहेर काम गरेकाले कुनै पनि समस्या नरहेको उनको भनाई छ ।
सहकारीलाई नाफाको दृष्टिकोणले हेर्दा अहिलेको समस्या आएको र सदस्यलाई केन्द्रविन्दुमा राखेर हरेक क्रियाकलाप गर्दा कुनै समस्या नआउने उनले बताए ।
संस्थाले सदस्यका दुखसुखमा सहभागी हुँदै आएको छ भने सदस्यहरुलाई आपतविपत आइपर्दा सहयोग गर्न विपत व्यवस्थापन कोष नै खडा गरेर अगाडि बढेको छ ।
संस्थाले कोभिड–१९ जस्तो महामारीको बेलामा आवश्यकतामा रहेको आफ्ना सदस्यहरुको आवश्यकता पूरा गर्ने उदेश्यले केही मात्रामा भए पनि आर्थिक सहयोग गरेको थियो । स्थानिय सम्पदा, बगैचा र सार्वजनिक क्षेत्रको मर्मतसम्भारका साथै अन्य विभिन्न गतिविधि सञ्चालनमा समेत संस्थाले आफ्नो कोषबाट सहयोग गर्दै आएको छ।
Leave a comment