काठमाडौं । ललितपुरको चापागाँउमा रहेको प्राकृतिक बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाको सभापतित्व तथा राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको प्रमुख आतित्थ्यता तथा जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष केदार गोर्खालीको आतित्थ्यता रहेको थियो ।
सभामा संस्थाका अध्यक्ष तिमल्सिनाले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले साबिकको प्राकृतिक बचत तथा ऋण सहकारी, प्राकृतिक कृषि सहकारी, माता बिन्दवासिनी साकोस तथा रिलायबल साकोस एकिकरण भइ प्राकृतिक बचत तथा ऋण सहकारी संस्थाका नामबाट संचालन भइरहेको जनाए । थिए ।
उनले शेयर सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि प्रबिधि मैत्री रुपमा संस्था संचालन भएर सेवा प्रदान गरेको बताए । संस्थाको मुख्य कार्यालय गोदावरी नगरपालिका चापागाँउ तथा कर्पोरेट कार्यालय ललितपुर महानगरपालिका सातदोबाटो, सदस्य सेवाकेन्द्र कोञ्ज्योसोम गापा शंखु र रिलायवल साकोस सेवाकेन्द्र शंखमुलमार्ग, नयाँबानेश्वर काठमाडौंमा रहेको जानकारी दिए ।
सदैव गुणस्तरीय सेवा प्रदान गर्न संस्था एकिकरणको अभियानलाई निरन्तरता दिँदै समान कार्य क्षेत्र, समान उद्देश्य तथा दोहोरो सदस्यता रहेका संस्थाहरु पहिचान गरि यस आ।ब।मा समेत संस्था एकिकरण कार्यलाई निरन्तरता प्रदान गरिने उनले बताए ।
संस्थाले प्रयोगमा ल्याएको स्मार्ट बैंकिङ सेवालाई थप गुणस्तरिय बनाई वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीहरुमा तथा अन्य बित्तिय संस्थामा जुनसुकै समयमा रकम ट्रान्सफर गर्न सकिने व्यवस्था मिलाइएको जनाए ।
सदस्यहरुको बैंक खातामा रहेको रकम प्राकृतिक साकोसमा रियल टाईममा नै जम्मा गर्न तथा ऋणको किस्ता ब्याज तिर्न सकिने व्यवस्था समेत मिलाईएको जानकारी दिए ।
सदस्य र संस्थाबिच रगतको नाता कायम गर्ने उद्देश्यले संस्थाले शेयर सदस्यहरुलाई उपचारका क्रममा रगतको आवश्यकता परेको खण्डमा शेयर सदस्यहरुलाई रगत उपलब्ध गराउने वातावरण तयार गरेको जनाए । साथै २ पिन्ट सम्म रगतको लागि लाग्ने प्रोसेसिङ चार्जको बिल संस्थामा पेश गरि सदस्य राहत कोषबाट उक्त रकम शेयर सदस्यलाई भुक्तानी गर्ने ब्यवस्था मिलाईएको जनाए ।
घरदैलोमा नै रेमिट सुविधा प्रदान गरेको, आन्तरिक हवाई टिकट सेवा, मोबाईलको रिचार्ज, टेलिफोनको बिल भुक्तानी, ईन्टरनेटको बिल भुक्तानी, डिसहोमको रिचार्ज, बैंक खातामा रकम जम्मा जस्ता सुविधा प्रदान गरीरहेको जनाए ।
संस्थाले भैपरी आउने बिपत्तिमा सदस्यहरुलाई सहयोग गर्न सदस्य राहत कोष, सदस्यको मृत्युमा ५ हजार राहत र एकाघर परिवारका अन्य सदस्यहरुको मृत्यु भएमा एकहजार सदस्य राहत कोषबाट प्रदान गर्ने गरेको जानकारी दिए । संस्थाले आगलागी पिडितलाई सदस्यहरुलाई सदस्य राहत कोषबाट प्रति घरगोठ २१ हजार प्रदान गरिएको जनाए ।
सभामा संस्थाका प्रमुख सल्लाहकार ओमदेवी मल्लले स्थापना गरेको अक्षय कोषबाट प्रत्येक वर्ष प्रदान गरिने केशव बडाल पत्रकारीता पुरस्कारको निरन्तरता दिएको जनाए । संस्थाले उत्कृष्ट कारोवार गर्ने २ जना शेयर सदस्यलाई बार्षिक रुपमा सम्मान गर्ने गरेको जनाए ।
त्यसैगरी संस्थाले सदस्य वा सदस्यका छोराछोरीहरुलाई प्राकृतिक पदाधिकारी छात्रवृत्ति कोषबाट छात्रबृत्ति प्रदान गरिएको, राष्ट्रियस्तरका खेलहरुमा सहभागी भई पदक प्राप्त गर्ने शेयर सदस्य वा एकाघर परिवारका खेलाडीहरुलाई निरन्तर सम्मान गर्ने गरेको जनाए ।
त्यसैगरी संस्थाले विभिन्न बैंक तथा वित्तिय संस्था मार्फत समन्वय गरी ग्रामिण क्षेत्रमा रहेका गरिब तथा विपन्न वर्गमा पशुपालन, तरकारीखेती, च्याउखेती, कुखुरापालन, बाख्रापालनजस्ता आयमुलक कार्यका लागि समुहमा लघुवित्त कर्जा लगानी प्रारम्भ गरिएको जनाए ।
संस्थाले सदस्य, संचालक समिति तथा उपसमितिका पदाधिकारीहरुलाई नेपालका धार्मिक तथा पर्यटकिय स्थलहरु, नमुना सहकारी, नमुना तरकारी खेती तथा नमुना पशुपालन फर्मको अवलोकन भ्रमण जस्ता कार्य गरेको जनाए ।
त्यसैगरी प्राकृतिक साकोस परिवारमा नयाँ बुहारी र नयाँ ज्वाँई कार्यक्रम संचालन गरिने पनि जानकारी दिए । उनले संस्थाले आर्थिक वर्षको आषाढ मसान्तसम्म शेयर पूँजी ६ करोड ६३ लाख ४८ हजार ९०० रुपैंयाँ जगेडा कोषमा १ करोड ८० लाख ९३ हजार ८३१ रुपैंयाँ रहेको जानकारी दिए ।
त्यसैगरी संस्थाको अन्य कोषमा १ करोड ८७ लाख ४६ हजार ७०४ रुपैंयाँ तथा निक्षेप ३९ करोड ६६ लाख ६१ हजार रुपैंयाँ रहेको जनाए । संस्थाको लगानीमा रहेको ऋण ६७ करोड ९६ लाख ९५ हजार ६९० रुपैंयाँ रहेको जनाइएको छ ।
Leave a comment