हाइलाइट

धादिङका दुई सहकारी एकिकरण

धादिङका दुई सहकारी एकिकरण :: Sahakari Akhabar

धादिङ । निलकण्ठ नगरपालिकामा रहेको श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था र हिमाल बचत तथा ऋण सहकारी संस्था बीच एकिकरण भएको छ । दुबै साकोसले संयुक्त साधारण सभा गरी श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाको नामबाट कारोबार संचालन गरेको छ ।

एकीकरण पछि श्रोत परिचालन सहकारीको सेयर सदस्य ८ हजार ८ सय ९७  पुगेको छ भने सेयर पुँजी ७ करोड १० लाख १ हजार ३ सय रुपैयाँ पुगेको छ । त्यस्तै संस्थाको कुल वासलात ६१ करोड ३४ लाख ३६ हजार ४ सय ५० रुपैयाँ पुगेको छ ।

हिमाल साकोसका अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न संयुक्त साधारण सभामा नीलकण्ठ नगरपालिकाका मेयर तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाको प्रमुख आतिथ्यता तथा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको विशेष आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि मेयर ढुङ्गानाले एकीकृत संस्थामार्फत सदस्य सेवा थप प्रभावकारी हुने बताए । उनले सहकारीहरुले सदस्य हितलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने भन्दै एकीकरणमार्फत बलियो बनेको संस्थाले सदस्यहरुका सबै खाले आवश्यकताहरुको सम्बोधन हुनेगरी सेवा दिनुपर्ने बताए ।

कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय तह र सहकारीहरुबीच घनिष्ठ सहकार्य आवश्यक भएको बताए । नेफ्स्कूनका प्रवक्ता समेत रहेका ढकालले सहकारी ऐनको पूर्ण पालना तथा सहकारी क्षेत्रको प्रवर्धन र दिगो विकासका लागि पनि स्थानीय तह र सहकारीबीच सहकार्य अत्यावश्यक रहेको बताए ।

उनले जिल्लाको सहकारी अभियानको विकास र बिस्तारमा प्रदेश बचत संघ र जिल्ला बचत संघहरुको पनि उच्च योगदान रहेको भन्दै नेफ्स्कूनसँगको सञ्जाललाई थप सबल बनाउन आवश्यक रहेको बताए ।



Leave a comment