विराटनगर । राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारी संस्थामा आवद्ध भईसकेपछि सदस्यको जीवनमा के परिवर्तन आयो भन्ने कुरा महत्वपूर्ण रहने र संघमा आवद्ध भईसकेपछि प्रारम्भिक सहकारी संस्थामा के परिवर्तन आयो भन्ने कुरा महत्वपूर्ण हुने बताईन ।
जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको ३० औं बार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष मल्लले मोरङको बचत संघ नेतृत्वदायी संघ भएकाले उदाहरणीय रहेको आगामी दिनमा पनि संघले नेतृत्वदायी भूमिका निर्वाह गर्नेमाआफू विश्वस्त रहेको उल्लेख गरिन ।
उनले सहकारीको पुँजी धेरै हुँदैमा समस्या नआउने नभई सहकारीको मूल्यमान्यतालाई विर्सेर सञ्चालन गर्दा बढी समस्या देखि रहेको बताईन । “एउटै व्यक्तिलाई बढी भन्दा बढी ऋण लगानी गर्दा संस्थामा समस्या आउँछ”, उनले भनिन्, “सहकारीमा देखिएका समस्या हेर्दा पनि त्यही भेटिएको छ ।
एउटै व्यक्तिलाई करोडौं लगानी गरेको छ र उसले पैसा बुझाएको छैन् । त्यसले गर्दा सहकारीहरुमा समस्या देखिएको छ । र, सहकारी संस्थाले आफ्नो संस्थामा आएको निक्षेप कस्तो खालको हो भनेर ध्यान नदिदा पनि समस्या देखिएको छ ।”
साधारण सभाको प्रमुख अतिथि समेत रहेकी मल्लले सरकारले सहकारी क्षेत्रलाई उपेक्षा गरेका कारण पनि सहकारी क्षेत्रमा समस्या देखिएको बताईन । संविधान र कानुनमा भएका कुरालाई कार्यान्वयन गर्न पनि सरकारले आनाकानी गरिरहेको उनको आरोप छ । कर्चा सूचना केन्द्र बनाउने व्यवस्था भएपनि सरकारले अहिलेसम्म चासो नदिएको उनको भनाई छ ।
त्यस्तै कार्यक्रममा सहकारी महासंघका उपाध्यक्ष तथा साधारण सभाका विशिष्ठ अतिथि रमेश पोखरेलले संघमा आवद्ध भएका सहकारीहरुमा संकटको समयमा पनि समस्या नदेखिएको बताए । सदस्य केन्द्रित भएका कारण पनि समस्या नदेखिएको उनको भनाई छ ।
सदस्यको सक्रियता रहेन, सदस्यको अपनत्यो भएन र सहभागिता भएन भने संस्थामा समस्या आउने पोखरेलले बताए । लेखा सुपरिवेक्षण समितीले आफ्नो भुमिका निर्वाह गर्न नसक्दा पनि सहकारीमा समस्या आउने र आईरहेको पनि उनले बताए ।
साधारण सभामा नेफ्स्कूनकी सञ्चालक गोमा नेपालले पछिल्लो समयमा संघहरु किन चाहियो भनेर प्रश्न उठिरहेको अवस्थामा संघ आवश्यक रहेको बताईन । उनले सरकारबाट होस् या अन्तराष्ट्रिय क्षेत्र तथा अन्य विभिन्न क्षेत्रबाट संघम नै पहिला जानकार आउने र पछि यिनै संघहरुले प्रारम्भिक सहकारीहरुलाई जानकारी दिनेरेका उल्लेख गरिन ।
विभिन्न किसिमका संघहरुको काम भनेको प्रारम्भिक सहकारीहरुको गुणस्तर बृद्धि तथा क्षमता विकास गर्ने नै भएको उनको भनाई छ । अन्य जिल्लाको भन्दा मोरङ जिल्लाको हकमा धेरै सुरक्षित रहेको बताउँदै उनले पुँजीमा कम भएपनि धेरै हिसावबाट सुरक्षित रहेको पनि उनले जानकारी दिईन ।
त्यसैगरी नेफ्स्कूनका पूर्व कोषाध्यक्ष केशव पोखरेलले सहकारीको अस्तित्वमाथि प्रश्न चिन्ह खडा भएको र सामाजिक सञ्जालहरुमा नकारात्मक कुराहरु बढि मात्रामा आईरहेको बताए । केही सहकारी संस्थाहरु चुकेका कारण र विचमा देखिएका विभिन्न परिघटना र आर्थिक मन्दिको मारमा सहकारी परेको उनको भनाई छ ।
वित्तिय बजार कमजोर भएका कारण पछिल्लो समयमा सहकारी संस्थामा तरलता बढिरहेको भएपनि ऋणको माग कम भएको पोखरेलले बताए । हिजो सदस्यले गरेका व्यवसाय संकटका कारण अझै माथि उठ्न नसकिरहेकाले पनि यस्तो समस्या देखिएको उनको भनाई छ । उनले हिजो जसरी सहकारी संस्थाहरु सञ्चालनमा ल्याईयो तथा सञ्चालन गरियो अब त्यसरी नै सञ्चालन गर्ने छुट सहकारी संस्थालाई नरहेको बताए ।
Leave a comment