ललितपुर । अभिवादन बहुउद्देश्यीय सहकारी संस्थाको ७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष किशोर महर्जनको सभापत्वि तथा सिद्धिपुरका जेष्ठ नागारिक जितलाल महर्जनको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
संस्थाले रक्तदानको क्षेत्रमा योगदान पुराएको भन्दै स्वयंसेवी रक्तदाता अभियन्ता प्रेमसागर कर्माचार्यलाइ अभिवादन सहकारी पुरस्कारबाट सम्मान गरिएको थियो । साधारण सभामा उत्कृष्ट बचतकर्ता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो भने सत्यनारायण भजन खल हरिसिद्धि र तः खा छे दाफा खललाई सम्मान तथा वाद्य वादन सामाग्री प्रदान गरिएको थियो ।
सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष महर्जनले सदस्यहरुको विश्वासका कारण कोभिड (१९ र आर्थिक मन्दीका बीचमा पनि संस्थाको वित्तीय कारोबारलाई मजवुत राख्न सकेको बताए । संस्था समुदायबाट अलग रहन नसक्ने भन्दै उनले समुदायको सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा पनि काम गर्दै आएको जानकारी दिए ।
संस्थाले नाफाको केही प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्दै आएको उनले बताए । संस्थाको उद्देश्य नाफा मात्र कमाउनु नरहेको भन्दै उनले सदस्यहरुको दुःख सुखको साथी बन्न पाउनु नै मुख्य उपलब्धी रहेको महर्जनले बताए ।
संस्थाले कति नाफा कमायो भन्दा पनि सदस्यलाई कति सेवा दिन सकियो यो महत्वपूर्ण भएको भन्दै उनले जेष्ठ सदस्यलाई तिथार्टन, सदस्य राहत कोषबार्ट उपचार खर्च र सुत्केरी पोषण खर्च बापत महिला सदस्य सुत्केरी हुँदा २ हजार उपलब्ध गराउँदै आएको उनको भनाई छ ।
सदस्यले सहकारी भनेको के हो भन्ने कुरा बुझे मात्र संस्था दिगो हुने भन्दै उनले सहकारी शिक्षा र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले विभिन्न ९ वटा बचत योजना सञ्चालनमा ल्याएको जानकारी दिँदै सदस्यहरुलाई मासिक बचतमा सहभागी हुन उनको आग्रह छ ।
संस्थाले बनाएको नीति मान्नु सदस्यको दायित्व भएको भन्दै महर्जनले न्युनतम शेयर पुँजी १० हजार र मासिक बचतमा सहभागी भए सदस्यहरुलाई संस्थाले विभिन्न सुविधा प्रदान गर्ने जानकारी गराए । संस्थाका सञ्चालक को हो भन्ने नबुझी ब्याजको लोभमा बचत गर्दा धेरै सदस्य अहिले समस्यामा परेकाले समुदायमा आधारित भएर सञ्चालन भएका र चिनेजानेको संस्थामा मात्र कारोबार गर्न उनको आग्रह गरे ।
२०७२ साल चैत्र १७ गते ७७ जना सदस्य र १९ लाख २५ हजार शेयर पुँजीबाट सुरु भएको संस्थामा गत असार मसान्तसम्म १ हजार ८५० सदस्य र २ करोड ९० लाख शेयर पुँजी पुगेको छ । संस्थाको जगेडा कोषमा १ करोड ४३ लाख , बचत संकलन २० करोड ८२ लाख, वाह्य ऋण ७ करोड ४१ लाख, ऋण लगानी २३ करोड ६५ लाख गरी कुल सम्पत्ति ३५ करोड ४९ लाख पुगेको जानकारी सभामा दिइयो ।
संस्थामा गत असार मसान्तसम्म ३२ प्रतिशत तरलता रहेको र सदस्यले आफ्नो बचत आवश्यकता अनुसार राख्न झिक्न सक्ने महर्जनले बताए । संस्थाले सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेर लघु बीमा गर्दै आएको र यसले सदस्यहरुको जोखिम बहन गर्न ठुलो सहयोग मिलेको उनले बताए ।
संस्थाले प्रत्येक सदस्यले लिएको ऋणको बीमा गरेकाले ऋणी सदस्यहरुको मृत्यु तथा भैपरी आए पनि ऋण नउठ्ला भन्ने समस्या नरहेकाले उनले ढुक्क भएर वित्तीय कारोवार गर्न आग्रह गरे । संस्थामा संकलित पुँजीलाई सदस्यमाझ उत्पादनशील र आयमुलक क्षेत्रमा लगानी गरी सदस्यको जीवनस्तर परिवर्तनमा सघाउने संस्थाको लक्ष्य छ ।
साधारण सभामा कोषाध्यक्ष सुदन महर्जनले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजकको तर्फबाट संयोजक कविता महर्जनले समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । संस्थाका उपाध्यक्ष राज मर्हजनले शुभकामना मन्तव्य र सचिव महेन्द्र कुमार महर्जनले सभाको सञ्चालन गरेका थिए ।
Leave a comment