काठमाडौँ । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन बागमति प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले गरेका थिए।उनले संस्थाको सेवाको प्रसंशा गर्दै उत्कृष्ट सहकारी भएको बताए ।
संस्थाको साधारण सभाको अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठलाई २४ वर्ष देखि साकोस अभियानमा क्रियाशिल रही सहकारीको छवीलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन गर्नुभएको योगदान र देशभरीको साकोसहरुको व्यवस्थापकहरु मध्येबाट उत्कृष्ट व्यवस्थापकको रुपमा पुरस्कृत हुने घोषण भएकोमा संस्थाले अभिनन्दन गरेको थियो ।
यस्तै संस्थाले बर्षको उत्कृष्ट कर्मचारीको रुपमा ओसन तण्डुकार र लगनशिल कर्मचारीको रुपमा रामकृष्ण भण्डारीलाई पुरस्कृत गरेको छ । त्यसैगरी बर्षभरीका उत्कृष्ट सदस्यको रुपमा सदस्यहरु इन्दीरा लामा र नकुल बस्नेतलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
साधारण सभामा संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुंवरले आव २०७९ / ०८०बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले १७ हजार ६ सय ४० जना सदस्य रहेको र संस्थाको शेयर पुँजी १९ करोड १२ लाख रुपैंयाँ, कुल बचत पुँजी २ अर्ब ६७ करोड ६० लाख रुपैंयाँ रहेको जानकारी गराए ।
त्यसैगरी संस्थाले ऋण लगानी २ अर्ब १२ करोड ८४ लाख रुपैंयाँ तथा संस्थागत पुँजी १० करोड ५० लाख रुपैंयाँ रहेको जनाए । उनले आम समुदाय र सदस्यहरुको विश्वासका कारण संकटको घडिमा पनि चन्द्रागिरिले सफलता हासिल गरेको बताए । कुनैपनि बेला ऋण लगानी नरोकिएको भन्दै संस्थाको योजना अनुसार संस्था अघि बढेको बताए ।

लेखा सुपरिवेक्षण समितिका संयोजक भानुप्रकाश ढकालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले संस्थाले सदस्यहरुको आवश्यक्ता बमोजिम सिर्जशिल कार्यक्रम समावेश गरेको बताए । सदस्य र समुदायको विश्वास र मायाकै कारण आजको अवस्था सम्म आइपुगेको श्रेष्ठको भनाइ छ ।
उनले आगामि दिनमा पनि संस्थाले योजनाबद्ध रणनीति बमोजिम काम गर्दै जाने बताए । साधारण सभाले विभिन्न ५ ईकाइ सभाहरुबाट पारित भई आएका विभिन्न १३ वटा कार्यसूचीहरुको निर्णयहरु प्रमाणित गरेको छ ।कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ, सहकारी बैंकलगायत चन्द्रागिरि भित्र कार्यक्षेत्र बनाइ क्रियाशिल भइरहेका संस्थाका प्रतिनिधिहरुले चन्द्रागिरिको शुभकामना मन्ब्य राखेका थिए ।
Leave a comment