विराटनगर । विराटनगर महानगरपालिका १० मा रहेको गोपाल बहुउद्देश्यीय सहकारी संस्था सहकारीको २२ औं बार्षिक साधारण सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष वीरेन्द्र यादवको अध्यक्षता तथा कोशी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री जयराम यादवको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
साधारण सभामा समाजसेवी तथा संस्थाको स्थापनाकालदेखि निरन्तर सहयोग गर्ने विष्णुदेव यादव, सन्तलाल यादव, विन्देश्वर यादवलाई सम्मान गरेको छ ।
त्यस्तै नियमित बचत तथा ऋणको कारोबार गर्ने लक्षुमण साह, चम्पा श्रेष्ठ, रेनुका श्रेष्ठ, विनिता सिंह लगायत १९ जनालाई सम्मान गरेको थियो ।
सभामा सहकारीका अध्यक्ष यादवद्धारा प्रस्तुत बार्षिक प्रगति प्रतिवेदनका अनुसार सहकारीको शेयर पूँजी १ करोड १० हजार ५ सय रुपैया रहेको छ भने ऋण लगानी ५ करोड १४ लाख ९० हजार ६८८ रुपैया रहेको छ । बचत हिसाब २ करोड २३ लाख ५१ हजार ४२९ रुपैया पुगेको छ ।
सहकारीको कोष हिसाव ५५ लाख ११ हजार १२९ रुपैया १४ पैसा रहेको प्रतिवेदनमा उल्ल्ेख गरिएको छ । सहकारीले १२ लाख २० हजार ८१८ रुपैया आम्दानी गरेको र १० लाख ८ हजार २५० रुपैया ९३ पैसा खर्च गरेको अध्यक्ष यादवद्धारा प्रस्तुत प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहकारीमा ५७१ जना शेयर सदस्य रहेका छन् । जसमा महिला २८१ जना पुरुष २९० जना रहेका छन् । आर्थिक बर्ष २०८० / ०८१ मा शेयर पूँजी बढाउने लक्ष्य राखेको सहकारीले न्यूनतम २५० कित्ता शेयर पुर्याउन सदस्यलाई आग्रह समेत गरेको छ ।
प्रस्तुत प्रतिवेदनका अनुसार सहकारीले विगत साधारण सभाले गरेको निर्णयको साथै थप अध्ययन गरी संचालक समितिले कार्य संचालन गराउने गी बढीमा १५ लाखसम्मको संस्थाको पूँजी लगानी कृषि, अर्गानिक तरकारी खेति तथ पशुपालन, स्टेशनरी तथा पुस्तकहरुको व्यवसाय लगायत अन्य व्यवसाय संचालन गर्ने कार्यक्रम अघि बढाएको छ ।
साधारण सभाको उद्घाटन सत्रमा बोल्दै कोशी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री जयराम यादवले सहकारीले विपन्न परिवारको आर्थिक स्तर उकास्ने काम गरेको बताए । सानो सानो पूँजी जम्मा गरेर ठूलो काम गर्न सकिने सुविधा सहकारीले दिने गरेको उनको भनाई छ ।
सहकारीको मूल्य मान्यता र सिद्धान्तमा रहेर सञ्चालन भएका सहकारीले सदस्यको भावनालाई बुझेर काम गर्ने गरेको यादवले बताए । नियत नै कमाउने राखेर सञ्चालन भएका सहकारीमा मात्र समस्या आएको उनको भनाई छ ।
साधारण सभामा विराटनगर महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष राम पोखरेल, जिल्ला सहकारी संघ मोरङका सल्लाहाकार डा.उद्धव पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साधारण सभामा सहभागिहरुलाई संस्थाका सचिव दिपेन्द्रकुमार झाले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन कोषाध्यक्ष हिराकमारी दाहालले गरेकी थिईन ।
Leave a comment