भक्तपुर । दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाको २५औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा विभिन्न विधामा उत्कृष्ट सदस्य,सक्रिय उपसमिति र विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
संस्थाकी अध्यक्ष निर्जला ढुङ्गेल दाहालको अध्यक्षतामा तथा सुर्यविनायक नगरपालिकाकी उपमेयर सरिता भट्टराईको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
अध्यक्ष दाहालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले महिलाहरुको आर्थिक सामाजिक रुपान्तरण गर्ने उद्देश्यले २५ वर्ष अघि संस्था स्थापना गरेको बताइन् ।
संस्थाले ऐन नियम र नियामकले जारी गर्ने मापदण्डहरुको पूर्ण पालना गर्दै अगाडि बढेको बताइन् । सदस्यहरुमा उद्यमशीलता र सीप विकास गरी स्वावलम्बी सदस्य बनाउनका संस्था लागिपरेको उनको भनाइ थियो ।
संस्थाले स्थापनाकालदेखि नै सदस्यहरुमा नियमित बचत गर्ने बानीको विकास गरेको र संकलित पुँजीलाई उनीहरुकै आर्थिकस्तर उकास्न, उद्यमी बनाउन ऋण लगानी गर्दै आएको जानकारी दिइन् ।
संस्थाकी सचिव पार्वती घिमिरे भण्डारीले आर्थिक वर्ष २०७९।८० वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले सदस्यहरुकै हितका लागि योजना बनाइ कार्यान्वयन गर्दै आएको उल्लेख गरिन् ।
संस्थाले ज्येष्ठ सदस्य सम्मान, एसईई सम्मान, राहत कोषमार्फत रकम वितरण, सहकारी शिक्षा, रक्तदान, स्त्रीरोग, दन्त शिविर र अध्ययन अवलोकन भ्रमण जस्ता कार्यक्रम गर्दै आएको जानकारी दिइन् ।
संस्थाकी कोषाध्यक्ष तारा खतिवडाले गत आवको आर्थिक प्रतिवेदन पेश गर्दै संस्थाले ६ करोड ३० लाख ९० हजार बचत संकलन गरी ८ करोड ३१ लाख ७६ हजार ऋण लगानी गरेको बताइन ।
संस्थाले १ हजार १८० जना शेयर सदस्यबाट १ करोड ३८ लाख शेयरपुँजी संकलन गरेको छ । संस्थाको जगेडा कोषमा १ करोड ५३ लाख रकम जम्मा रहेको छ ।
त्यस अवधिमा संस्थाले ६० लाख ७५ हजार सञ्चालन बचत गर्न सफल भएको छ । सभामा बोल्ने अधिकांश वक्ताहरुले संस्थाको वित्तीय सूचकांकहरु बलियो रहेकाले सदस्यहरुको बचत सुरक्षित रहेको जनाए ।
संस्थाले मासिक बचत, शेयरपुँजी र जगेडा कोषलाई पहिलो प्राथमिकतामा राखेको र मासिक बचतको हिस्सा कुल बचतको आधा भएकाले संस्था वित्तीय रुपमा दरिलो रहेको उनीहरुले औंल्याए ।
कार्यक्रममा एवं भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सदस्यहरुले यातायात खर्च र खाजाखानामा भन्दा पनि संस्थाको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनमाथि गहन छलफल गर्नुपर्ने बताए । सभाको सञ्चालन संस्थाकी व्यवस्थापक दीपा क्षेत्रीले गरेकी थिइन ।
Leave a comment