हाइलाइट

गाम्चा सहकारीको १५ औं बार्षिक साधारण सभा सम्पन्न, विद्यालय र विद्यार्थीलाई छात्रवृति

गाम्चा सहकारीको १५ औं बार्षिक साधारण सभा सम्पन्न, विद्यालय र विद्यार्थीलाई छात्रवृति :: Sahakari Akhabar

भक्तपुर । सूूर्यविनायक नगरपालिका ४ गाम्चामा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले श्री अरनिको मावि गाम्चालाई १५ हजार तथा अष्ट्रेलियामा रहेका संस्थाका शेयर सदस्य तथा शुभचिन्तक बिनोद खड्काले प्रदान गरेको ३५ हजार संस्थाका शेयर सदस्यहरुका छोराछोरी निशा कठरिया, खुशी राजथला, रिजन नापित, रुक्सन सैंजु, सम्प्रद नगरकोटी, कृष्ण राजथला र तुलशा बोहरालाई प्रदान गरेको छ ।

असोज १३ गते शनिबार संस्थाका अध्यक्ष बिकास खड्काको अध्यक्षता तथा सूर्यविनायक नगरपालिकाका मेयर बाशुदेव थापाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भउको हो । सभाले संस्थाका जेष्ठ सदस्य यानुकादेवी खड्का र रणबहादुर खड्कालाई सम्मान गरेको थियो ।

प्रमुख अतिथि थापाले सहकारी सिद्धान्त, नीति, विधि र पद्दतिमा भित्र रहेर गाम्चा साकोस संचालन भएको पाएको बताए । उनले सहकारी आयमूलक, सीपमूलक र रोजगारीमूलक उत्पादनशील क्षेत्रमा आफ्नो लगानी बढाउन सुझाव दिए । सभामा संस्थाका अध्यक्ष खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वित्तीय संकटका बीचमा पनि संस्थाले प्रगति गर्दै अगाडि बढिरहेको बताए ।

सभामा संस्थाका सचिव विदुर खड्काले संस्थाको आव २०७९ / ०८० को वार्षिक प्रगति प्रतिवेदन र आव२०८० / ०८१ को प्रस्तावित कार्य योजना, कोषाध्यक्ष सुशिल खड्काले संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सविता भट्टराईले संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदनअनुसार संस्थाको असार मसान्तसम्ममा २ हजार १६ महिला र १ हजार ४२० पुरुष गरी शेयर सदस्य संख्या ३ हजार ४३६ सदस्य, ३३ वटा लघुवित्त समूह रहेको जनाइएको छ । १८ करोड ३८ लाख ७७ हजार ३८४ रुपैंयाँ बचत तथा १४ करोड ५८ लाख ३१ हजार १५२ रुपैंयाँ ऋण लगानी रहेको जनाइएको छ । संस्थाको शेयर पूँजी ३ करोड ७७ लाख ६२ हजार ३०० रुपैंयाँ  र कूल कारोबार ३८ करोड ९३ लाख ६ हजार २३३ रुपौंयाँ रहेको जनाइएको छ ।

सभामा सूर्यविनायक नगरपालिका वडा नं४ का वडाध्यक्ष लछुराम न्यौपाने र वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, सोही नगरपालिकाका सहकारी शाखा प्रमुख राजेन्द्र श्रेष्ठ, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा सुपरीवेक्षण समिति संयोजक बालमुकुन्द उपाध्याय, जिल्ला सहकारी संंघ भक्तपुरका सञ्चालक राजकुमार सिलवाललगायतले शुभकामना मन्तब्य राखेका थिए ।



Leave a comment