रुपन्देही । तिलोत्तमा नगरपालिका, कोटिहवामा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाका १० हजार बढी सदस्यले ऋण सेवा लिएका छन् । संस्थाका ४० हजार ६४३ जना सदस्य मध्ये १० हजार २४२ जना सदस्यले संस्थाबाट ऋण लिएका हुन् ।
शनिबार सम्पन्न संस्थाको १८औं वार्षिक साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ज्ञानु पौड्यालले सदस्यहरुलाई व्यवसायिक रुपमा सक्षम बनाउन संस्थाले निरन्तर कार्य गरिरहेको बताइन । उनले संस्था एशियाली ऋण महासंघबाट एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएको बताइन ।
उनले सहकारी शिक्षा कार्यक्रम, विद्यालयमा विद्यार्थी क्लब स्थापना गरी वित्तीय साक्षरता कार्यक्रम, सञ्चालन गरेको जानकारी दिइन् । सस्थाले गत बर्ष सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा विशेष जोड दिएको र यसमा निरन्तरता दिइने पनि जानकारी दिइन ।

संस्थाकी सचिव सरु रानाले सदस्यले संस्थाबाट ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएको बताइन । संस्थाले सदस्य लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरेको र त्यस कार्यक्रमबाट गत आर्थिक बर्षमा पनि धेरै सदस्य लाभान्वित भएको बताइन । संस्थाकी कोषाध्यक्ष विष्णुमाया कुँवरले आर्थिक बर्ष २०७९र८० को आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले गत बर्षको मुनाफाबाट सदस्यलाई १३.३० प्रतिशत लाभांश वितरण गरिने जानकारी गराइन ।
संस्थाले गत आवको असार मसान्तसम्म ३० करोड ९७ लाख शेयर पुँजी, बचत संकलन २ अर्ब ५८ करोड १० लाख, ऋण लगानी २ अर्ब ५७ करोड ६ लाख र शुद्ध बचत ११ करोड ३२ लाख रहेको जनाइएको छ । संस्थाले गत आवमा ३ अर्ब ३० करोड ९७ लाख कुल सम्पत्ति पुर्याएको छ ।
संस्थाको जगेडा कोषमा २८ करोड १० लाख रकम जम्मा भएको छ । रुपन्देही जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले १० वटा सेवा केन्द्र मार्फत सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललको प्रमुख आतिथ्यतामा सम्पन्न सभा एकाइगत रुपमा सम्पन्न गरेको थियो ।
Leave a comment