विराटनगर । बचत तथा ऋण सहकारी संघ लि. सुनसरीले आफ्नो १६ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सघकी अध्यक्ष योगमाया सुवेदीको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य गणेश ढकालको प्रमुख आतिथ्यतामा भएको संघको साधारण सभामा सहकारी अभियानमा लामो समयसम्म सहकारी क्षेत्रमा काम गरी योगदान पुर्याउने संघकी निवर्तमान महिला उपाध्यक्ष बिमला प्रधानलाई सहकारी अभियान्ता सम्मानबाट सम्मानित गरिएको थियो भने उत्कृष्ट साकोस पुरस्कार बहुभाषी बचत तथा ऋण सहकारी संस्था तरहराले पाएको छ ।
उत्कृष्ठ साकोस कर्मचारी पुरस्कार निशान साकोस धरानकी व्यवस्थापक सोभा धमलालाई प्रदान गरिएको थियो भने उत्कृष्ट बचत जम्मा गर्ने सकासो पुरस्कार शान्तिनगर नारी साकोस इटहरीलाई प्रदान गरिएको थियो। त्यस्तै उत्कृष्ठ सेयर बचत गर्ने साकोस जनकल्याण साकोस दुहवीलाईपनि सम्मान गरिएको थियो । संघको शनिबार सम्पन्न बार्षिक साधारण सभामा बार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघकी सचिव गोम गिरीले संघमा आवद्ध हुन बाँकी रहेका सहकारी संस्थाहरुलाई संघमा आवद्धता गराई प्रारम्भिक साकोसहरुको एकीकरणमा जोड दिने जानकारी दिईन । आगामी निती तथा कार्यक्रममा सम्पति बृद्धि, सेयर पुँजी बृद्धि, संस्थागत पुँजी बृद्धि, बचत बृद्धि, ऋण लगानीमा बृद्धि गर्ने, सञ्चालन खर्चलाई ५ प्रतिशत भन्दा कम कायम गर्ने, तालिम, गोष्ठी र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, साझेदारी कार्यक्रमलाई निरन्तरता दिने लगायतका कार्यक्रमहरु प्रतिवेदनमा समावेश गरिएको छ । संघले आवद्धले प्रारम्भिक सहकारीहरुलाई ५ हजार कित्ता शेयर रकम थप्न र नियमित बचत गर्न आग्रह गरिएको सचिव गिरीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै संघका कोषाध्यक्ष मिलन त्रितालद्धारा प्रस्तुत आर्थिक प्रतिवेदनका अनुसार संघको बचत निक्षेप ५ करोड १० लाख ७४ हजार ७६७ रुपैया ९० पैसा रहेको छ भने सेयरपुँजी ४९ लाख ५२ हजार ५ सय रुपैया रहेको छ । संघको जगेण कोषमा ७ लाख ५२ हजार ३१ पैसा रहेको छ । संघले ४ करोड ३३ लाख ०१ हजार ७११ रुपैया ऋण लगानी गरेको छ । संघको संस्थागत बचत १९ लाख ८९ हजार ६९० रुपैया ९३ पैसा रहेको छ भने संघले २५ लाख बाह्य ऋण लिएको छ ।
संघले आर्थिक बर्ष २०८० / ०८१ मा शेयरपुँजी बढाएर ७५ लाख ५० हजार पुर्याउने लक्ष्य लिएको छ संस्थागत बचत तथा व्यवस्था १३ लाख ९६ हजार ४८८ रुपैया, बचत ५ करोड ८७ लाख, १० हजार ३७४ रुपैया पुर्याउने लक्ष्य लिएको छ ।
सुनसरीमा ३५५ वटा प्रारम्भिक साकोसहरु रहेकोमा संघमा २९२ वटा साकोसहरु आवद्ध भएका छन् । जसमा एक्सेस ब्राण्डिङ्ग कार्यक्रममा ४ वटा, प्रोवेसन कार्यक्रममा ४ वटा र नेफ्स्कून साझेदारी कार्यक्रम अन्तर्गत जोखिममा आधारित साकासे कवर्स कार्यक्रममा १९ वटा सहकारीहरु आवद्ध भएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
साधारण सभाको अवसरमा प्रमुख अतिथि ढकाल, नेफ्स्कून सञ्चालक गोमा नेपाल जिल्ला बचत संघ सुनसरीका अध्यक्ष गंगा प्रसाद दाहाल, बचत संघ मोरङका बरिष्ठ उपाध्यक्ष एकराज निरौंला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उनीहरुले सहकारी सिद्धान्तभन्दा बाहिर गएर सञ्चालन भएका कारण समस्यामा आएको बताएका थिए । सहकारीको निति नियम, विधि प्रक्रियामा तथा सिद्धान्त अनुसार चलेका कुनैपनि सहकारीमा समस्या नआएको बताएका थिए ।
त्यस्तै साधारण सभामा बोल्दै सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले सहकारी अभियानमा लागेका व्यक्तिहरुले आफ्नो प्रारम्भिक सहकारीलाई राम्रो बनाउनुपर्ने बताए ।
सहकारी अभियानमा लागेको व्यक्तिको सहकारी अनुगमनको क्रममा दुई दुई पटक सम्म पनि सहकारीको कार्यालय नखुलेको र तेस्रो पटक जाँदा मात्र सहकारीको कार्यालय खुलेको बताउँदै अभियानमा लाग्नेले आफ्नो सहकारीलाई हेर्न लायक बनाउन उनले आग्रह गरे ।
‘सहकारी भन्ने वित्तिकै सहकार्य गर्ने हो, सहकारीता गरेन र सहकारीता नअपनाएको ठाउँमा समस्या देखिएको छ’, उनले भने, ‘अरु कुनै पनि ठाउँमा समस्या छैन ।’ सदस्य केन्दीयता सहकारी सञ्चालन गर्नेपर्ने उनको भनाई छ ।
झापा जिल्लामा जनसंख्या भन्दा बढी सहकारीको सदस्य रहेको बताउँदै दोहोरो सदस्यतालाई न्युनिकरण गर्नुपर्नेमा जोड दिए । कोशी प्रदेशका १० वटा संघ खारेजीको प्रक्रियामा रहेको उनले जानकारी दिए ।
Leave a comment