हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न सभा अतिथि रहित थियो ।
अध्यक्ष श्रेष्ठले साधारणसभामा सहकारी भित्रकै सदस्यहरुलाई बोल्ने र पर्याप्त छलफल गर्न समय प्रदान गर्ने उद्देश्यसहित प्रमुख एबम् बिशिष्ट अतिथीहरु नबोलाइएको बताउदै भने “हामीले मञ्चबाट भाषण गर्ने भन्दा पनि बार्षिक नीति तथा कार्यक्रममा तपाईहरुको सुझाब र आबश्यक्तालाई छलफलको बिषय बनाउनको लागि बाहिरी अतिथीहरु समेत बोलाएका छैनौ, हामीले परम्परागत निरन्तरता भंग गर्दै शेयर सदस्यहरुको भावना समेट्ने प्रयास गरेका हौं ।”
सभामा अध्यक्ष श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका युवाहरुलाई स्वरोजगार र उद्यमी बनाउने उद्देश्यसहित कार्यक्रमको लागि बजेट बिनियोजन गरेको बताए । उनले सहकारीको मर्म र भावना अनुरुप शेयर सदस्यहरुलाई उद्यमी बनाउनको लागि पहल गर्दै बार्षिक कार्यक्रममा नै समेटेको जानकारी दिए ।
उनले अबको दिनमा युवा, महिला सबैलाई स्वरोजगार बनाउदै राष्ट्रिय अर्थतन्त्रमा सहकारीले उल्लेख्य भुमिका निभाउने बताए । उनले बार्षिक कार्यक्रमहरुमा ४ बर्षे रणनीतिक योजना बनाउदै सञ्चालक, सहकारीका महिला र कर्मचारी समेतको क्षमता अभिबृद्धी गर्दै उत्कृष्ट सहकारी बनाउने मात्र नभई सबल र समृद्ध शेयरधनी भएको सहकारी बनाउन जोड दिइएको बताए ।
सहकारीको कूल शेयरपुंजी २ करोड ८१ लाख ४४ हजार रहेको सहकारीले जनाएको छ भने बचत रकम २६ करोड ७० लाख ३६ हजार ८ सय ३९ रुपैंया रहेको बताएको छ । त्यसैगरी ऋण लगानी तर्फ २६ करोड ५७ लाख ५९ हजार २ सय ३१ रुपैंया रहेको छ भने ब्याज आम्दानी ३ करोड २६ लाख ५७ हजार ५ सय २१ रुपैंया रहेको बताइएको छ ।
सहकारीले यसबर्ष बिमा योजना लागु गर्ने, क्यु आर कोड प्रबिधी लागु गर्ने लगाएतको कार्यक्रम संचालनमा ल्याउने अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले सहकारीको दुई हजार सात सय ९९ जना शेयर सदस्य रहेको जनाए । सभामा सभामा अध्यक्ष श्रेष्ठको बार्षिक प्रतिवेदन, सचिब, कोषाध्यक्ष र लेखासमितिको प्रतिबेदनमाथि छलफल गरी प्रतिवेदन पारित गरिएको थियो ।
Leave a comment