विराटनगर । विराटनगरमा रहेको नारी सृजित बहुउदेश्यीय सहकारी संस्थाको बचत ४ करोड ३३ लाख ७० हजार ५७९ रुपैया पुगेको छ । सहकारीको विहिबार सम्पन्न २१ औं साधारण सभामा सहकारीकी कोषाध्यक्ष सरिता खनालद्धारा प्रस्तुत आर्थिक प्रतिवेदनका अनुसार शेयरपुँजी ५८ लाख ५३ हजार ९ सय रुपैया रहेको छ । सहकारीले २ करोड ३१ लाख ७१ हजार ऋण लगानी गरेको छ ।
बचत भन्दा शेयर रकम निकै कम रहेकाले लेखा समितिले सञ्चालक समितिलाई शेयर थप गर्न सुझाव दिएको छ । लेखा सुपरिवेक्षण समिति सदस्य सुभना दाशालद्धारा प्रस्तुत लेखा समितिको प्रतिवेदनमा बचतको तुलनामा शेयर पूँजी वृद्धि गर्न आवश्यक रहेकाले सदस्यहरुबाट २ हजार देखि १० हजारसम्म शेयर रकम थप गर्न सुझाव दिएको हो ।
सहकारीकी अध्यक्ष सीता शर्माको अध्यक्षता तथा राष्टिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा शर्माले सहकारीको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन।
प्रतिवेदन अनुसार सहकारीले ६ लाख ११ हजार १२० रुपैया खुद नाफा कमाएको छ ।
सहकारीले व्यापार व्यवसाय –तरकारी उत्पादन बिक्री, खरिद बिक्री, खुद्रा व्यापार चिया नास्ता पसल, सिलाई कटाई) मा २२५ जना, पशुपालन १०५ जना, बैदेशिक रोजगारीमा ३० जना, सामाजिक तथा शैक्षिक कार्यमा ६५ जना, घर निर्माण र जग्गा खरिदमा ७७ जना र हायर पर्चेजमा ३ जना गरी ५०५ जनालाई ऋण लगानी गरेको छ ।
सहकारीले ८ वटा समूह मार्फत संस्था सञ्चालन गरिरहेको छ । सगुन बचत समूह, आरती बचत समूह, बजरङ्गवली बचत समूह क, बजरङ्गवली बचत समूह ख, ओम शान्ती बचत समूह, राधाकृष्ण बचत समूह, नारी कल्याण बचत समूह र नारी ज्योति बचत समूह गरी आठ वटा समूह मार्फत बचत तथा ऋण लगानीको काम गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीमा १०२२ जना शेयर सदस्य रहेका छन् । जसमा महिला ८६४ जना र पुरुष १५८ जना रहेका छन् । सहकारीले सदस्यहरुबाट मासिक १ सयदेखि ५०० रुपैयासम्म बचत गर्दै आएको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
साधारणसभाको अवसरमा सहकारीले जेष्ठ सदस्य अम्विका दाहाल, उमा गुरागाई, सावित्री वाराकोटी र राधा पोखरेलाई सम्मान गरेको थियो । त्यस्तै सफल व्यवसायि र उत्कृष्ट ऋणीहरुमा कमला राय, मिना मण्डल, बबि ठाकुर, पुष्पा शर्मा र फूलो कामतलाई सम्मान गरेको थियो । उत्कृष्ट बचतकर्तामा सम्झना राई र उत्कृष्ट खुत्रुके बचतमा अम्विका शर्मालाई सम्मान गरेको थियो ।
त्यस्तै साधारण सभाको अवसरमा विराटनगर महानगरपालिकाका सहकारी शाखा प्रमुख प्रतिक गड्तौलाले सहकारी समुदायमा आभारित भएर सञ्चालन भएको पाएको बताए । अहिले सहकारीमा देखिएका विभिन्न नकारात्मक कुरालाई नारी सृजित जस्ता सहकारीले हटाउन मदत गर्ने उनले बताए ।
महानगरपालिकाको नियमन भित्र अहिले १७२ वटा सहकारी रहेको बताउँदै गड्तौलाले सहकारी संस्थाहरुलाई बजेटले भ्याएसम्म प्रशिक्षणहरुको पनि आयोजना भईरहेको जानकारी दिए । उनले आवश्यकता भन्दा धेरै सहकारी संस्था दर्ता भएकाले सहकारीहरुलाई एकिकरणमा जान आग्रह गर्दै एकिकरणमा जाने सहकारीहरुलाई प्रोत्साहन स्वरुप कम्प्युटर तथा कार्यक्षेत्र विस्तार गर्दिने जस्ता सहकारी प्रवर्दनका योजना महानगरमा रहेको बताए ।
सहकारी सही तरिकाले चलेको छ की छैन, लगानी कसरी गरिएको छ, संस्था कसरी चलिरहेको छ भन्ने कुरामा सदस्यहरु एकदमै चनाखो बन्नुपर्नेमा उनले जोड दिए । साधारण सभामा सहकारी शेयर सदस्य तथा आमन्त्रित अतिथिहरुलाई सहकारीकी उपाध्यक्ष मेनका सुवेदीले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन सचिव बन्दना घिमिरेले गरेकी थिईन । साधारणसभामा ८० प्रतिशत भन्दा बढी सदस्यहरुको सहभागिता रहेको थियो ।
Leave a comment