विराटनगर । मोरङको लेटाङमा रहेको लेटाङ बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ३० औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सहकारीले वडागतरुपमा साधारणसभा सम्पन्न गरेको हो । सहकारीका अध्यक्ष गोपाल बाराकोटीका अनुसार सहकारीले असोज १२ गते एक कार्यक्रम गरी फाइन्ट प्रमाणिकरण गर्ने छ ।
सहकारीले शेयर सदस्यको फाईदाको लागि वडागत सहभागिता छुट्याएर साधारणसभा गर्ने गरेको र सदस्यबाट सुझाव पनि संकलन गर्ने गरेको उनले जानकारी दिए । सहकारीको स्थापना दिवसको अवसरमा कार्यक्रम आयोजना गर्ने गरिएको भएपनि साधारणसभामा भव्य कार्यक्रम गर्नुभन्दा सदस्यको सुझाव संकलन गर्ने, उनीहरुको सुझाव अनुसार कार्यान्वयन गरेर संस्थालाई अगाडि बढाउने उदेश्य अनुरुप अरुको भन्दा फरक तरिकाले साधारणसभा गर्ने गरेको अध्यक्ष बाराकोटीले बताए ।
सहकारीको बार्षिक प्रतिवेदन अगाडि नै सदस्यको हातमा दिने गरेको सहकारीका व्यवस्थापक सिताराम न्यौपानेले बताए । ‘हामी अगाडि नै बार्षिक प्रतिवेदन सदस्यको हातमा दिन्छौं’, उनले भने, ‘त्यसपछि वडागत रुपमा कार्यक्रम गरेर उहाँहरुको सुझाव संकलन गछौं ।
एक दिन भव्य कार्यक्रम गरेर न त सदस्यले सुझाव नै दिन भ्याउनुहुन्छ, न त प्रतिवेदन माथि छलफल हुन सक्छ । त्यही भएर सदस्यले आफ्ना कुराहरु निर्धक्कसँग राख्न सकून भनेर हामीले साधारण सभाको सदस्यलाई सजिलो हुने तरिकाले गर्ने गरेका छौं ।’
सहकारीले ५ वटा वडागत केन्द्र बनाएर कार्यक्रम गरेको व्यवस्थापक न्यौपानेले बताए । सहकारीले कार्यक्रमबाट आएका सुझाव संकलन गरि सम्बोधन गर्ने गरेको छ । सहकारीले सदस्यको मृत्यु हुँदा राहत कोषमा आवद्ध सदस्यहरुलाई एक लाख, कोषमा आवद्ध नभएका सदस्यको हकमा २५ हजार, घातक रोग लागेर उपचार गरिरहेका सदस्लाई २५ हजार उपचार खर्च दिने निर्णय पारित गरेको पनि न्यौपानेले जानकारी दिए ।
सहकारीको शेयरपुँजी ५ करोड ६२ लाख ६० हजार १ सय रुपैया रहेको छ भने साधारण जगेडा कोष ३ करोड ६८ लाख ४५ हजार ८५८ रुपैया ३४ पैसा रहेको छ । त्यस्तै सहकारीको विभिन्न कोषहरुमा १ करोड १४ लाख ६८ हजार ९६१ रुपैया ६८ पैसा रहेको छ भने कूल संस्थागत पुँजी ३ करोड ७२ लाख ७३ हजार ३५५ रुपैया १७ पैसा रहेको छ ।
सहकारीको बचत ४१ करोड १३ लाख ४६ हजार २९५ रुपैया ५० पैसा रहेको छ भने ऋण लगानी ४० करोड ७० लाख ९५ हजार ५८७ रुपैया ६७ पैसा रहेको छ । सहकारीको तरलता १२ करोड ३८ लाख २० हजार ३४ रुपैया ०८ पैसा रहेको छ भने कूल सम्पति ५५ करोड ९० लाख १८ हजार ५८४ रुपैया रहेको छ । सहकारीको शेयर सदस्य ३ हजार ३ सय रहेका छन् भने ऋणीको संस्था ९४६ जना रहेको छ ।
Leave a comment