विराटनगर । विराटनगर–५ मा रहेको लाभा बचत तथा ऋण सहकारीका अध्यक्ष विष्णुप्रसाद पोखरेलले मिटरब्याजी बनेको र जग्गा दृष्टिबन्धक राखेर ऋण लिँदा मिटरब्याजीको गोलचक्करमा पारेको विराटनगर–४ का लक्ष्मणप्रसाद घिमिरेले बताएका छन् ।
घिमिरेले विराटनगरमा पत्रकार सम्मेलन गरी आफूले जग्गा राखेर सहकारीबाट पैसा लिंदा अध्यक्ष पोखरेलले सहकारीमा जग्गा दृष्टिबन्धक राख्न लगाएर व्यक्तिगत रुपमा ऋण लगानी गरेको र उक्त रकम असुल गर्ने मनसायले आफूलाई मिटरब्याजी कारोबारमा पारेको दाबी गरे । आफू पीडित भएको भन्दै अनुचित लेनदेन सम्बन्धी जाँचबुझ आयोगले माग गरेबमोजिम जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी समेत दिएको जानकारी दिए ।
पीडित घिमिरेले २०७४ चैत ४ र २०७५ मंसिर ३ मा गरी ३९ लाख रुपैंयाँ ऋण लिएकोमा ३ करोड २५ लाख रुपैयाँको कागजातमा सहिछाप गराएको बताएका छन् । उनले अहिलेसम्म आफूले ७० लाख रुपैयाँ फिर्ता गरेको समेत दाबी गरेका हुन् । मिटरब्याजीमा परेर आफूलाई चेक र तमसुकमा समेत सहिछाप गराउन बाध्य बनाएको बताए ।
मिटरब्याजी तरिकाले साँवाब्याज असुल गर्न आफूलाई चेकमा हस्ताक्षर गराएको र चेक बैंकमा नसाटिएपछि २०७७ सालमा बैंककै कालोसुचीमा परेर अन्य व्यावसायिक कारोबार समेत गर्न नपाएको घिमिरेले गुनासो गरे ।
पोखरेललाई कालोसूचीबाट हटाउन सहयोग गर्न आग्रह गर्दा ३ करोड २५ लाख रुपैयाँको तमसुकमा सहीछाप गर्न आफूलाई बाध्य पारिएको बताए । सुरुमा पोखरेलसँग मित्रतापूर्ण व्यवहार रहेका घिमिरे उनीसँगै घरजग्गा कारोवारमा समेत जोडिएका व्यक्तिहरु भएको उनीहरुका आफन्तले बताउँदै आएका छन् । पछि दुवैबीच आर्थिक कारोबार बिग्रिएका कारण मिटरब्याजी प्रकरण सुरु भएको जनाइएको छ ।
पोखरेल अध्यक्ष रहेको लाभा सहकारी समेत सहकारी ऐन विपरितको कारोबारमा संलग्न रही विराटनगर महानगरपालिकाबाट कारवाहीमा परेको छ । उक्त सहकारीको कार्यालय हाल विराटनगर–५ बाट विराटनगर–८ मा सारिएको छ ।
Leave a comment