सहकारी मार्फत बेथानचोकका किसानहरुलाई दूधमा अनुदान 

सहकारी मार्फत बेथानचोकका किसानहरुलाई दूधमा अनुदान  :: Sahakari Akhabar

सन्तोष तिमल्सिना काभ्रे । दूध उत्पादन र बजारीकरण गर्दै आएका काभ्रेका दुग्ध उत्पादक कृषि, बहुमखी र बहुउद्देश्यिय सहकारीहरुले अनुदान पाएका छन् । आर्थिक वर्ष २०७९ / ८० मा प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबापत प्रदान गरिने रकम अन्तर्गत बेथानचोकका किसानहरुलाई अनुदान वितरण गरिएको हो ।

आधुनिक कृषि सहकारी संस्थाले थानी महाङ्काल डेरीमार्फत दुध बिक्री गर्ने कृषकहरुलाई अनुदान रकम वितरण गरेको हो । सहकारीले थप अनुदान माग गरेको दश लाख ५८ हजार ३६ लिटर दुधमध्ये दश लाख ५२ हजार लिटर दुधमा मात्रै अनुदान रकम प्राप्त गरेको बेथानचोक–२ का वडा अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जानकारी दिए ।

उनका अनुसार सहकारीमा आवद्ध किसानहरुलाई बागमती प्रदेश सरकारले दूध उत्पादनमा आधारित रही प्रति लिटर दुधमा ३ रुपैंया ५६ पैंसा अनुदान दिएसँगै सो रकम हस्तान्तरण गरिएको हो । उनले सहकारीमार्फत बेथानचोक गाउँपालिका–२ र ३ का १९६ किसान र पनौती नगरपालिकाका ९९ जना किसानले थप अनुदान रकम पाएको बताए ।

सहकारीले दश लाख ५८ हजार लिटर दुधमा ३७ लाख ४८ हजार ५८३ रुपियाँ अनुदान रकम पाएकोमा बेथानचोकका किसानले २६ लाख नौ हजार ६१५ रुपियाँ र पनौतीका किसानले ११ लाख ३८ हजार ९३८ रुपियाँ प्राप्त गरेका हुन् ।

एउटा किसानले कम्तिमा चार हजार ३४३ रुपियाँदेखि अधिकतम पचास हजार रुपियाँसम्म अनुदान पाएको सहकारीले जनाएको छ । अनुदान रकम वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारीले गाउँपालिका किसानको ओठमा हाँसो ल्याउनका लागि सोही अनु्सारको कार्यक्रम अघि बढाएको बताए ।

उनले युवा तथा किसानलाई व्यवसायिक कृषि तथा पशुपालनमा आकर्षित गर्न गाउँपालिकाले निःशुल्क कृतिम गर्भाधान सेवा तथा गाउँपालिका साक्षी बसेर सहुलियत दरमा कर्जा सुविधाको कार्यक्रम अघि बढाएको बताए। गाउँपालिका अध्यक्ष अधिकारीले गाउँपालिकाले किसानको तथ्याङ्क सङ्कलन गर्ने काम अघि बढाएको र तथ्याङ्क सङ्कलनको काम पुरा भएपछि ‘किसान परिचय पत्र’ वितरण गरिने बताए ।



Leave a comment