गाउँको उत्पादन सहरमा, सहरको पैसा गाउँमा भित्र्याउने अभियानमा सूर्यमुखी साना किसान सहकारी

गाउँको उत्पादन सहरमा, सहरको पैसा गाउँमा भित्र्याउने अभियानमा सूर्यमुखी साना किसान सहकारी :: Sahakari Akhabar

काठमाडौं । काठमाडौं उपत्यकाबाट २३ किलोमिटर पार गर्दा सिन्धुपाल्चोक जिल्लाको भोटेचौर पुगिन्छ । मेलम्ची उपत्यकामाथी रहेको यो पहाडी गाँउको हावापानी कृषि तथा पशुपालनका लागि उर्वर छ । काठमाडौं उपत्यकाको नजिक  र सहज यातायात सुविधाले उत्पादित कृषिजन्य सामान बजार पुर्याउन समस्या छैन । उपयुक्त हावापानी र सहज बजारको पहुँचका कारण भोटेचौरमा व्यवसायीक रुपमा कृषि तथा पशुपालन गर्ने किसानहरुको संख्या बढ्न थालेको छ ।

२०७२ सालको महाभूकम्पपछि गाउँ छाडेर काठमाडौं वसाई सर्नेको संख्या बढ्यो । यद्यपी गाउँमा भने व्यवसायीक रुपमा कृषि तथा पशुपालन गर्नेहरुको संख्या बढीरहेको छ । हिजो निर्वाहमुखी कृषिमा निर्भर सर्वसाधारणहरु व्यवसायीक कृषक बन्न थालेका छन् ।

कृषिलाई आधुनिकीकरण गर्दै किसानलाई व्यवसायीक बनाउनका लागि अगुवा बनेको छ गाउँमा स्थापित सूर्यमुखी साना किसान कृषि सहकारी संस्था । संस्थाले किसान सदस्यलाई बचत तथा ऋण सुविधाका साथै ब्यवसायीक कृषिका लागि आवश्यक मल, बिउ, विषादी, पशु आहार सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ ।

भेटनरी प्राविधिक राखेर सदस्यलाई प्राविधिक सेवा पनि उपलब्ध गराउने संस्थाले दूधलगायतका कृषि उपज संकलन तथा बजारीकरणको सेवा दिइरहेको छ । घरदैलोमा रहेको सहकारीको सेवाका कारण किसानहरु व्यवसायीक रुपमा उत्पादनमा केन्द्रीत हुन थालेको देखिन्छ ।

गाउँमा आधुनिक खोरगोठ बनाएर पशुपालन गर्ने, टनेललगायतका आधुनिक प्रविधिबाट तरकारीलगायतका खेती, समूह बनाएर तथा एकल रुपमा किबी, सुन्तला, कागतीलगायतका फलफुल खेती र कुखुरा, बाख्रा, बंगुर, गाई, भैंसीजस्ता पशुपालनमा सर्वसाधारणको आकर्षण बढिरहेको छ ।

बहुउद्देश्यीयबाट साना किसानतर्फ

२०५६ सालमा भोटेचौरका अगुवा किसानहरुले सूर्यमुखी कृषि बहुउद्देश्यीय सहकारी संस्था दर्ता गरे । किसानहरुलाई सहयोग गर्नका लागि सहकारी दर्ता गरेपनि एक दशकसम्म संस्था सक्रिय भएन । २०६७ सालमा संस्थालाई साना किसान कृषि सहकारीको रुपमा रुपान्तरण गरी संचालन गर्न थालेपछि डेढ दशकमा सहकारी किसानको सहयात्री बनेको अध्यक्ष मित्रलाल चौलागाई बताउँछन् ।

‘लहैलहैमा लागेर खोलिएको कृषि सहकारी १० वर्षसम्म निश्कृय रह्यो’ उनले भने, ‘साना किसान सहकारीमा रुपान्तरण गरेर संचालन गर्न थालेपछि ठूलो फड्को मारेका छौं ।’ साना किसान कृषि सहकारी देशब्यापी संजाल फैलिएको सफल मोडल भएको, कृषि सहकारी केन्द्रीय संघ साथै साना किसान विकास लघुवित्त वित्तीय संस्थाले अनुगमन र प्रवर्धन गर्दै आएको र त्यसमार्फत काम गर्न सजिलो र प्रभावकारी भएकाले संस्थालाई सोही मोडलमा परिवर्तन गर्दै लगेको उनले अनुभव सुनाए ।

वित्तीय सेवादेखि कृषि उत्पादनको बजारीकरण

साना किसानहरु सदस्य रहेको संस्थाले उनीहरुलाई आवश्यक वित्तीय सेवादेखि उत्पादनको बजारीकरणसम्मका लागि काम गरिरहेको छ । संस्थाले सदस्यलाई बचत, रेमिट्यान्सका अतिरिक्त घरायसी गर्जो टार्न ऋण प्रदान गर्दै आएको छ । यसैगरी व्यवसायीक रुपमा कृषि कामका लागि भने संस्थाले सहूलियत ब्याजदरमा ऋण दिने गरेको छ । हाल वागमती प्रदेश सरकारको कर्जा ३ प्रतिशतमा र ग्रामीण उद्यम कर्जा शिर्षकमा ९ प्रतिशत ब्याजदरमा किसानलाई ऋण दिइएको संस्थाले जनाएको छ ।

व्यवसायीक कृषिका लागि ऋणदेखि त्यसबाट हुने उत्पादनको बजारीकरणसम्म काम गरिरहेको अध्यक्ष चौलागाइले बताए । ‘हामी किसानलाई सहूलियत ब्याजदरमा ऋण दिन्छौं, पशुको क्षतिमा सहयोग पुगोस् भनेर बीमा गर्छौ, पशु ब्याएपछि प्रोत्साहन गर्न २५ किलो पिठो बोनसका रुपमा दिन्छौं,  दूध दुहुन बाल्टी दिन्छौं, डेरीमा क्यान दिन्छौं, खोले ख्याउन डेक्ची दिन्छौं ।

त्यसपछि किसानको दूधलगायतका उत्पादन खरिद गरेर बजारमा बिक्री गरेर पैसा घरैमा पुर्याउछौं’ उनले भने । हाल संस्थाले दैनिक ४ हजार ५ सय लिटर दूध संकलन गरी बजार ब्यवस्थापन गरिरहेको छ । यसका लागि संस्थाको आफ्नै चिलिङ भ्याट र दूध ढुवानी ट्याङकर समेत संचालनमा छ ।

यसैगरी किसानका तरकारीलगायतका उत्पादनहरु संकलन गरी बजारमा ल्याउन तथा किसानलाई आवश्यक पर्ने सामाग्री घरदैलोमा पुर्याउनका लागि संस्थाको आफ्नै ढुवानी साधनको समेत ब्यवस्था गरेको छ । संस्थाले गाउँको उत्पादन सहरमा र सहरको पैसा गाउँमा भन्ने अवधारणासहित काम गरिरहेको प्रवन्धक गोविन्द नेपालले बताए ।

किसानलाई सुपथ मूल्यमा मल बीउ पुर्याउनका लागि संस्थाले आवश्यक सामाग्री बिक्री केन्द्रका साथै २ जना भेटनरी प्राविधिक समेत राखेर सेवा दिइरहेको छ । संस्थाको ऋण लगानीका कारण गाउँमा व्यवसायीक रुपमा तरकारी खेती, पशुपालन, फलफुल खेती जस्ता गतिविधि बढिरहेको छ ।

संस्थाले आफ्नै भवनमा सहकारी पसल र भेटनरी पसल समेत संचालन गरिरहेको छ । यस्तै बीउ ग्रेडीङ मेसिन जडान गर्नुका साथै किबी भण्डारका लागि कोल्ड स्टोरको समेत ब्यवस्था गरेको छ । साविकको भोटेचौर गाउँ विकास समिति कार्यक्षेत्र रहेको संस्था मेलम्ची नगरपालिका बनेपछि १३ वटा वडामध्ये ६ वटा वडामा आफ्नो सेवा संचालन गरिहरको छ । संस्थामा ३ हजार सेयर सदस्य र एक हजार बाल बचतकर्ता छन् ।

सदस्यलाई सहयोग

संस्थाले आफ्नो आन्तरिक स्रोतका अतिरिक्त विभिन्न निकायको समन्वयमा सदस्यहरुका लागि विभिन्न सहयोग कार्यक्रम समेत गर्दै आएको छ । संस्थामा दूध बिक्री गर्ने किसानलाई बागमती प्रदेश सरकारबाट प्रतिलिटर २ रुपैयाँ र संस्थाले प्रति लिटर २ रुपैयाँ अनुदान दिदै आएको छ। यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत संस्थाले सदस्यहरुलाई स्प्रेयर पम्प, डिक्स मिल, चापकटरलगायतका उपकरण अनुदानमा उपलब्ध गराएको छ ।

संस्थाले सदस्य राहत कार्यक्रम अन्र्तगत महिला सदस्य सुत्केरी हुँदा एक हजार ५ सय र अपरेसन गर्नुपर्ने अवस्थामा १० हजार रुपैयाँ ६ महिनाका लागि निब्र्याजी सापटी दिने गरेको छ । यस्तै प्राकृतिक विपतीमा राहत स्वरुप ५ हजार र सदस्यको मृत्यु भएमा काजकिरिया खर्च उपलब्ध गराउदै आएको छ ।

जिल्लाकै अगुवा

सूर्यमुखी साना किसान सहकारी सिन्धुपाल्चोक जिल्लाकै अगुवा सहकारीका रुपमा आफुलाई स्थापित गर्न सफल भएको छ । संस्थाले जिल्लामा १४ वटा साना किसान कृषि सहकारी संस्था बनाएर हस्तान्तरण गरिसकेको छ । अनुसरण कार्यक्रम अन्र्तगत बनेको संस्थाको कारोबार समेत ७ करोडसम्म पुगेको छ ।

सूर्यमुखीबाट नेतृत्व विकास गरेका चौंलागाई अहिले सिन्धुपाल्चोक जिल्ला कृषि सहकारी संघका अध्यक्ष समेत छन् । उनी जिल्लाभर साना किसान कृषि सहकारीको विकास र विस्तारमा नेतृत्व समेत गरिरहेका छन् ।



Leave a comment