रामेछाप । मन्थली नगरपलिकामा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले २५औं स्थापना दिवस तथा रजत वर्ष २०८० शुभारम्भ गरेको छ । रजत वर्ष प्रवेशको अवसरमा संस्थाले विद्यार्थीलाई स्टेशनरी तथा स्कूलव्याग वितरण गरेको छ । संस्थाले ताम्राकौशिका आधारभूत विद्यालय र बालकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेशनरी तथा स्कूलव्याग वितरण गरेको हो ।
संस्थाले दुवै विद्यालयमा अध्ययनरत ७७ जना विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको संस्थाका व्यवस्थापक रमेश कुमार उदासले जानकारी दिए । २५ वर्ष अघि ताम्राकौशिका आधारभूत विद्यालयबाट नै संस्थाको जन्म भएकाले रजत वर्षको पहिलो कार्यक्रम सोही विद्यालयको प्राङ्गणमा आयोजना गरिएको उनले बताए । सोही अवसर पारेर संस्थाले पूर्व अध्यक्ष झम्कबहादुर कार्कीलाई सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष श्याम थापाको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख अतिथि मन्थली नगरपालिका वडा नं २ का अध्यक्ष सुरेन्द्र बहादुर कार्की र विशिष्ट अतिथिमा सोही नगरपालिका वडा नं १ का अध्यक्ष होमप्रसाद पौडेल रहेका थिए ।
रामेछाप जिल्लाका साविक मन्थली गाविसका वडा नं ७ र ८ लाई कार्यक्षेत्र बनाई शुरु भएको संस्थाले २०६२ सालबाट भने ५ वटा गाविसलाई समेटेर मन्थली बजारबाट वित्तीय कारोबार शुरु गरेको हो । स्थानीय निकाय पुनर्संरचनापछि मन्थली नपा, रामेछाप नपा, खाँडादेवी गापा र लिखु गापाका गरी ३९ वटा वडालाई कार्यक्षेत्र बनाई संस्था संचालन भइरहेको व्यवस्थापक उदासको भनाइ छ ।
२०६२ सालमा १० हजार शेयर पुँजी रहेको संस्थाको २०८० असार मसान्तसम्म ४ करोड ७६ लाख ८३ हजार र्पुयाएको छ । त्यसैगरी ६२ सालमा ५४ हजार ७७० बचत र ४९ हजार ३५० ऋण लगानी रहेकोमा संस्थामा असारमसान्तसम्म ५० करोड ५१ लाख ८९ हजार बचत संकलन र ४० करोड ५२ लाख ४ हजार ऋण लगानी पुगेको छ ।
संस्थाको जगेडा कोषमा ६ करोड ८ लाख ९० हजार, अन्य कोषमा ५४ लाख ७५ हजार र ऋण सुरक्षण कोषमा २ करोड ६७ लाख ६३ हजार रकम पुगेको छ । संस्थामा ९ हजार २४९ सदस्य रहेका छन् । संस्थाले रजत वर्षको अवसरमा सदस्यहरुलाई निशुल्क एटिएम कार्ड प्रदान गर्ने व्यवस्थापक उदासले बताए ।
मन्थली बजारमा आफ्नै भवन निर्माण गरी सदस्यहरुलाई आधुनिक र प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्दै आएको उक्त संस्थाले एटिएम, क्यूआर कोड, मोबाइल बैंकिङ जस्ता डिजिटल सेवा सदस्यलाई प्रदान गर्दै आएको छ । नेफ्स्कुनले सञ्चालन गरेको प्रोबेसन कार्यक्रममा सहभागि भएर संस्थाले ब्राण्ड समेत प्राप्त गरिसकेको छ ।
Leave a comment