काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था र काभ्रेपलाञ्चोक बनेपाको विन्धावासिनी बचत तथा ऋण सहकारी संस्था विच भगिनी सम्बन्ध स्थापना भएको छ । चन्द्रागिरिको मुख्य कार्यालय थानकोटमा आयोजित एक कार्यक्रममा चन्द्रागिरि र विन्धवासिनी दुवै संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवर र शान्तकुमार श्रेष्ठ तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ र के.बि.लामा स्याङ्तानले भगिनी सम्बन्ध स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
दुवै संस्थाले एक अर्काको साख अभिवृद्धिमा सकारात्मक योगदान पुर्याउने र सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमितिहरु, उच्च व्यवस्थापन, कर्मचारी र सदस्यहरुकाबीच आपसमा अध्ययन, अवलोकन, तालिम तथा क्षमता अभिवृद्धि जस्ता संस्थागत लगायत औपचारिक, अनौपचारिक कार्यक्रमहरुमा परस्परमा सहभागी गराई एकापसमा सामाजिकीकरणको अवसर उपलब्ध गराउने उद्देश्यले उक्त भगिनी सम्बन्ध स्थापना भएको जनाएको छ ।
एक अर्काले प्रयोगमा ल्याएका नीति, विधि, प्रविधि तथा अभ्यासहरु आपसी सहमतिमा कार्यान्वयनमा ल्याई दुवै संस्थालाई व्यावसायिक, सुशासनयुक्त, स्वअनुशासित, प्रविधिमैत्री र जोखिममुक्त बनाउन रचनात्मक योगदान गर्ने । त्यसैगरी साझा कार्यक्षेत्रभित्र रहेका सदस्यहरुकाबीच दोहोरो लगानी नगर्ने र दोहोरो सदस्यता तथा लगानी रहेको पाइएमा त्यसलाई उच्च प्राथमिकतामा राखी क्रमशः समायोजन गर्दै जाने ।
सहकारी ऐन, नियमावली, निर्देशन तथा मापदण्ड, नियामक निकाय, छाता सङ्गठनले गर्ने परिपत्र, दिने निर्देशन एवं सहकारी सम्बद्ध क्षेत्रीय, अन्तर्राष्ट्रिय सिद्धान्तहरुको परिधि र मर्यादाभित्र रहेर सहकारी अभियानको साख वृद्धिमा संयुक्तरुपमा उल्लेख्य योगदान पुर्याउने ।
यसैगरी दुवै संस्थाहरुले आ–आफ्ना सदस्यहरुको आवश्यकतालाई सम्बोधन गर्न उपयोेगी हुने खालको समान प्रकारको वस्तु तथा सेवा विकासका अवसरहरु संयुक्त रुपमा खोजी गर्ने र आकस्मिक अवस्थाहरुमा दुवै संस्था निर्वाध रुपमा सञ्चालन गर्न विपत व्यवस्थापन र व्यवसाय निरन्तरता योजना सम्बन्धी ज्ञान तथा विशेषज्ञता आदान प्रदान गर्ने आदि जस्ता कार्यहरु दुवै संस्थाहरु मिलेर गर्नेछन् ।
चन्द्रागिरि साकोसले यस अघि बनेपा स्थित ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि। र पोखरा स्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थासंग पनि भगिनी सम्बन्ध स्थापना गरी सहकारीता, पारस्पारिकता र आपसी समझदारी कायम गर्दै आईरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण श्रेष्ठले जानकारी दिए ।
Leave a comment