विराटनगर । आवश्यक नपरेको बेला कर्जा लिन जवरजस्ती गर्ने सहकारी बैंकले आवश्यकपर्दा कर्जा नपाईने गरेको सहकारीकर्मीहरुले गुनासो गरेका छन् । शनिबार विराटनगरमा सम्पन्न सदस्य सम्मान एवम् सहकारीको वर्तमान अवस्था वित्तिय पहुँच तथा भावि कार्यक्रमको बारेमा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले समस्या पर्दा आफ्नै बैंकले पनि साथ नदिएको गुनासो गरेका हुन ।
लामो समयदेखि कर्जा माग गर्दा पनि नपाईएको उनीहरुको भनाई थियो । उनीहरुले बैंकले सुःखमा मात्र नभएर दुःखमा झन बढी साथ दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले आफुहरुले आफ्नो संस्थामा बनाएको नियम मात्र पालना गर्ने हो भने पनि सहकारीमा समस्या नआउने बताए । उनले सहकारीहरुले सदस्यहरुलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए ।
सहकारी बैंकका सञ्चालक महेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका सञ्चालक तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, कोशी प्रदेशका निमित्त रजिष्ट्रार हरि बहादुर खत्री, नेफ्स्कून सञ्चालक गोमा नेपाल र धनश्याम अधिकारी, जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगा प्रसाद दाहाल, र जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका अध्यक्ष प्रेम प्रकाश कोईराला लगायतले बर्तमान सहकारीको अवस्था र सुधार गर्नुपर्ने विषयमा आ आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा सहकारीको वर्तमान अवस्था वित्तिय पहुँच तथा भावी कार्यक्रमको बारेमो प्रस्ुतती पनि राखिएको थियो । कार्यक्रममा कोशी प्रदेशका सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।
Leave a comment