धादिङ । साना किसानहरुलाई व्यवसायीक बनाउदै उनीहरुको आर्थिक अवस्था सुधार गर्न धादिङ जिल्लाको चैनपुरमा २०४६ सालदेखि साना किसान विकास आयोजनाको कार्यक्रम सुरु भयो । कार्यक्रम अन्र्तगत सुरु गरिएको संस्थाको स्वामित्व २०५१ सालमा स्थानियलाई नै हस्तान्तरण गरेपछि साना किसान कृषि सहकारी संस्था चैनपुरका रुपमा अघि बढ्यो ।
किसानहरुले संचालन सुरु गरेपछि सहकारी संस्था मुलुकमा सुरु भएको शसस्त्र द्धन्द्धको चपेटामा पर्यो । द्धन्द्धरत पक्षले २०५७ सालमा दुई पटक सहकारीको भवनमा आगो लगाइदिए । जसको कारण संस्थाको भवन खरानीको थुप्रोमा परिणत भयो । भवन खरानी भएपनि साना किसानहरुले सहकारीमार्फत देखेको समृद्धिको सपना भने मर्न दिएनन् । निरन्तर रुपमा अघि बढिरहेको सहकारीमा कारोबार २६ करोड रुपैयाँ नाघेको छ।
सहकारीका कारण ग्रामीण क्षेत्रका गरिव, विपन्न तथा दलित सर्वसाधारणलाई गर्जो टार्न सजिलो त भएको छ नै, कृषिलगायत उद्यम व्यवसायका लागि सजिलो र सहज रुपमा घरआगनमै वित्तीय सेवा पनि उपलब्ध छ । सहकारीले सदस्यहरुलाई दिने व्यवसायीक शिक्षा तथा तालिम, आधुनिक प्रविधि, अनुदान, बिमालगायतका सेवाका कारण अलग पहिचान स्थापित गर्न सफल भएको छ ।
सशस्त्र समूहले आगो लगाइदिएपछि सदरमुकाम धादिङ बेसीमा कार्यालय राखेर संस्थाको सेवा निरन्तर संचालन गरेको मुख्य ब्यवस्थापक पूर्णबहादुर अर्याल बताउछन् । ‘कार्यालय जलेपनि हामीले किसान सदस्यहरुको सपना जल्न दिएनौं, धादिङबेसीमा कार्यालय राखेर, गाउँ गाउँ पुगेर बचत संकलत तथा लगानी गरेर संस्था अघि बढायौं ।’
साना किसान आयोजनाले हस्तान्तरण गर्दा ७० लाख पुँजी रहेको संस्थामा अहिले २६ करोड भन्दा बढीको कारोबार छ । त्यसमध्ये साना किसान लघुवित्त वित्तीय संस्थाको ऋण ९ करोड छ भने १७ करोड भन्दा बढी किसानहरुकै पुँजी जम्मा भएको छ ।
मासिक २ रुपैयाँ नियमित बचतबाट सुरु भएको संस्थामा अहिले सदस्यहरु ५ सय बचत गर्छन् । संस्थाको वित्तीय साक्षरताका कार्यक्रम र सदस्यहरुको आर्थिक स्तरवृद्धिसँगै बचत गर्ने क्षमता पनि बढेको ब्यवस्थापक अर्यालले बताए ।
जन्मदेखि नै बचत सिकाउदै
सहकारीले सेयर सदस्यका छोराछोरीलाई जन्मदेखी नै सहकारीमा आवद्ध भई बचत गर्ने बानी बसाल्न कार्यक्रम संचालन गरिरहेको छ । सदस्य सुत्केरी भएपछि बच्चा जन्मेपछि संस्थाले घरमै गएर निशुल्क खाता खोल्ने र संस्थाको तर्फबाट एक सय रुपैयाँ बचत गर्ने अभियान संचालन गरिरहेको अध्यक्ष बोधमाया उपाध्यायले बताइन् । ‘हामी कुनै सदस्यको छोराछोरी भएपछि घरमै गएर बाल बचत खाता खोल्छौं र एक सय रुपैयाँ बचत गरिदिन्छौ’ उनले भनिन्, ‘यसबाट सदस्यहरुलाई बचत गर्ने बानीको विकास गराएको छ ।’
व्यवसायीक बन्दैछन् किसान
नेपाल राष्ट्र बैंकबाट तत्कालिन समयमा सिमित बैंकिङ कारोबारको अनुमति पाएको सहकारी संस्थाले साना किसानहरुलाई व्यवसायीक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । सदस्यलाई बचत गर्न सिकाउने, नियमित बचतलगायतका योजना संचालन गरेको संस्थाले सदस्यलाई व्यवसायीक बनाउने शिपमुलक तालिम, प्रविधि, पुँजीको पहुँच पुर्याएको छ । जसका कारण साना किसानहरुको आर्थिक अवस्था सुधार आएको र साहुबाट ऋण खोज्न पर्ने अवस्था अन्त्य भएको छ ।
किसानलाई मल वितरण, सिजन अनुसारको विउ, कृषि यात्रिकरणमा पनि काम गरिरहेको छ । संस्थाले गत वर्षमात्र ज्वालामुखी गाउँपालीको वडा नं ६ र ७ बाट ४३ लाख सहुलियतको रकम ल्याएर सदस्यलाई वितरण गरेको छ ।
कृषि क्षेत्रमा कुखुरापालन, गाईपालन, बाख्रापालनजस्ता क्षेत्रमा लगानी गरेको छ । संस्थाले कार्यक्षेत्र भित्र २ सय भन्दा बढी कुखुरापालन व्यवसायका लागि २ करोड भन्दा बढी लगानी गरेको छ । यस्तै बाख्रापालनमा ठूला फार्मसम्म लगानी भएको छ । १० ओटा भन्दा माथी बाख्रा पालन गर्ने २ सय बढी किसानहरु रहेका छन् । सहकारीले सदस्यको सिप अनुसारको लगानी गरिरहेको छ ।
बिमादेखि सिपमूलक तालिम
सहकारीले सदस्यको सुरक्षण कार्यक्रम समेत गरिरहेको छ । एक जना सदस्यले २ हजार पैसा राखेपछि मुटु, मृगौला, क्यान्सर र दिमागसम्बन्धी जटिल रोग लागेमा उपचारका लागि ५० हजार दिने गरेको छ । यस्तै सदस्यका घरपरिवार रोग लाग्दा २५ हजार सहयोग पाउछन् । सदस्यको मृत्युपश्चात परिवारलाई ५० हजार दिने गरेको छ ।
सहकारीले पशुपालन गर्ने किसानहरुका लागि पशुबिमा कार्यक्रम समेत संचालन गरिरहेको छ । जसले गर्दा किसानले पशुको मृत्युमा क्षतिपूर्ति पाउने गरेका छन् । संस्थाले सदस्यलाई व्यवसायीक बनाउनका लागि सिपमुलक तालिम दिदै आएको छ ।
अचार बनाउने तालिमबाट सानो लगानीमा पनि सदस्यहरुले आम्दानी गर्ने अवसर पाएका छन् । सदस्यलाई व्यवसायीक बनाउनका लागि संस्थाले हाउस वाइरिङ, भूकम्प प्रतिरोधी संरचना निर्माण तालिम, तीन महिने पशु प्राविधिक तालिम, साबुन बनाउने जस्ता सिपमुलक तालिम समेत संचालन गर्दै आएको छ ।
सामाजिक काममा उत्तिकै सक्रिय
समाजको अभिन्न अंगको रुपमा स्थापित भएको संस्था सामाजिक गतिविधिमा पनि उत्तिकै सक्रिय छ । संस्थाले विद्यालयहरुमा भौतिक सुधारलगायत आफ्नो कार्यक्षेत्रभित्र विभिन्न सामाजिक गतिविधिहरुमा समेत सक्रियता देखाउदै आएको छ ।
यसैगरी वन तथा वातावरण संरक्षणका काममा पनि संस्था सक्रिय छ । बन जोगाउनका लागि संस्थाले नर्सरी ब्यवस्थापन गरेर ज्वालामुखी गाउँपालिकाको काउलेडाडा र चित्रेपाखालाई हराबरा गराएको छ । यस्तै बनमा हेरालुको व्यवस्था गरी वातावरण संरक्षणमा पनि भूमिका निर्वाह गरेको छ ।
जसले जन्मायो साना किसानको नेतृत्व
देशभरका साना किसानहरुको नेताको छवी बनाएका खेम बहादुर पाठकको सहकारी यात्रा पनि चैनपुर साना किसान कृषि सहकारीबाट सुरु भएको थियो । उनी संस्थाको संस्थापक अध्यक्ष हुन् । प्रारम्भिक संस्थाको कुशल नेतृत्व गरेका उनी यतिबेला देशभरका साना किसान सहकारी संस्थाहरुको नेतृत्वका रुपमा आफुलाई स्थापित गर्न सफल भएका छन् ।
आफ्नो कुशल नेतृत्वमा सहकारीको जग बसालेका पाठक स्थानियस्तरमा सामाजिक व्यक्तित्वका रुपमा पनि उत्तिकै प्रतिष्ठित छन् । ‘अहिले पनि खेम सर चैनपुर आउदै हुनुहुन्छ भन्ने थाहा भयो भने गाउँमा तास खेल्ने, मादक पदार्थ सेवन गर्नेहरु तितर वितर हुन्छन्’ संस्थाका व्यवस्थापक अर्याल भन्छन्, ‘नेतृत्व आफु अनुशासनमा बस्ने हो भने सदस्यहरुलाई पनि अनुसाशित बनाउन सकिन्छ भन्ने उदाहरण हुनुभएको छ ।’ पाठकको पहलमा चैनपुरको हुलाक भञ्याङदेखि तल्लो रामपुरसम्म घरकै खाजा बोकेर स्थानियले श्रमदानमा बाटो बनाएको समेत उनले बताए ।
Leave a comment