विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले चार जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारी सस्थाले अग्रज पत्रकार प्रमोद प्रधान, गोरखापत्र दैनिकका रङ्गेलि सम्वाददाता नवराज कट्टेल, मकालु टेलिभिजनका सह सम्पादक सन्तोष सिग्देल र नेपाल टाइम्स अनलाइनकी कार्यक्रम सम्योजक रन्जिता पोखरेललाई पुरस्कृत गर्ने भएको हो । उनीहरुलाई सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको बाह्रौं स्थापना दिवसको अवसर पारेर सम्मान गर्न लागेको हो ।
प्रधान तोरेन्द्र इन्दिरा प्रधान प्रेस स्वतन्त्रता सम्मानबाट सम्मानित हुने भएका हुन् । डा. सम्झना प्रधानले आफ्ना बुबा वरिष्ठ समाजसेवी तोरेन्द्रमानसिंह प्रधान र आमा इन्दिरा प्रधानको नाममा राखेको सो पुरस्कारको राशी ५१ हजारको छ । गत बर्षदेखि सुरु भएको यो पुरस्कार पहिलो वर्ष शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाललाइ प्रदान गरिएको थियो ।
कट्टेल २०७५ सालदेखि प्रदान गर्न सुरु गरिएको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका हुन् । समाजसेवी दीनवन्धु गोयलले आफ्ना दाजुको नाममा राखेको सो पुरस्कारको राशि ५० हजारको छ । यो पुरस्कारको लागि समाजसेवी गोयलले पाच लाखको अक्षयकोष स्थापना गरेका थिए ।
कोषबाट प्रत्येक वर्ष आर्थिक क्षेत्रमा कलम चलाउने देशभरीका उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्न थालिएको हो । यसअघि इलामका पत्रकार भीम चापागाईं, काठमाडौंका पत्रकार गजेन्द्र बुढाथोकी, विराटनगरका पत्रकार अनन्तराज न्यौपाने, मीनकुमार श्रेष्ठ र मोहन मान्नधरलाई प्रदान गरिसकेको छ ।
यस्तै २०८० सालको मेम्बर चन्द्रलाल दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार पत्रकार सिग्देललाई प्रदान गर्ने भएको हो । यसअघि पत्रकार कुमार लुइटेल, मोहन मानन्धर, उद्धव घिमिरे, अभय राई, देवनारायण साह, मोहम्मद सदरुल, तारा आचार्य र बाबुराम भण्डारी पुरस्कृत भैसकेका छन् ।
नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष दीपक दाहालसहित दाहाल परिवारद्वारा स्थापित मेम्बर चन्द्रलाल दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार मोरङ जिल्ला कार्यक्षेत्र भएका सञ्चार श्रमजीवी भई उत्कृष्ट कार्य गर्ने एक जनालाई प्रत्येक वर्ष २१ हजार नगद सहित सम्मान गरिदै आएको छ ।
यस्तै पत्रकार पोखरेल २०८० सालको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत हुने भएकी हन् । सो पुरस्कारको राशी १० हजार छ । यस अघि सुशीला पाठक, इन्दिरा भट्टराई , बिनु तिम्सिना, ज्योती चौहान, उमा पोखरेल, राजकुमारी तामाङ, एलिना दियाली र उषा सरदार पुरस्कृत भैसकेका छन् । मीनादेवी श्रेष्ठ महिला पत्रकारिता पुरस्कार कोशी प्रदेशमा बसी कार्य गरिरहेका महिला पत्रकारलाई मात्र प्रदान गरिन्छ ।
सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरका अध्यक्ष दिपक दाहालको अध्यक्षतामा बिहिबारको बैठकले छनौट समितिले सिफारिस गरेको नामलाइ अनुमोदन गर्दै चारैवटा पुरस्कारको घोषणा गरेको हो । पुरस्कार संस्थाको बाह्रौं स्थापना दिवसको अवसरमा २०८० असार २७ गते प्रदान गरिने संस्थाका सचिव बिजय खतिवडाले जानकारी दिए ।
छ्नौट समितिमा सञ्चारकर्मी सञ्चार सहकारी संस्थाका अध्यक्ष दिपक दाहाल, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सन्जिब खनाल, सञ्चारकर्मी सञ्चार सहकारी संस्थाकी सदस्य शान्ति गौतम दाहाल र पुरस्कार दाताको परिवारको प्रतिनिधि रहेका थिए ।
Leave a comment