हाइलाइट

सहकारीमाथी चौतर्फी आक्रमण, जोगाउन सबै जुट्नुपर्ने 

सहकारीमाथी चौतर्फी आक्रमण, जोगाउन सबै जुट्नुपर्ने  :: Sahakari Akhabar

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष बेग प्रसाद पुनले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको महत्वपूर्ण आधारस्तम्भका रुपमा रहेको सहकारी क्षेत्रमाथि यतिबेला चौतर्फी आक्रमण भइरहेको बताएका छन् । गाउँपालिकाको सहकारी शाखाले सञ्चालन गरेको तिन दिने सहकारी शिक्षा तालिमको आइतवार समापन कार्यक्रममा बोल्दै अध्यक्ष पुनले भने, समस्या हरेक क्षेत्रमा छन्, सहकारी क्षेत्रमा पनि समस्या छन्, समस्या देखिएका छन्, केही नियत खराव भएका सहकारीहरुले गरेको बद्मासीलाई देखाएर आम सहकारी क्षेत्रलाई तर्साउने गरी भएका प्रचारलाई निस्तेज पार्नका लागि सबै तहका सरकार र अभियान गम्भिर बन्नुपर्छ ।

बदमासी गर्नेलाई कार्वाही गर्ने हो, उनीहरुले गरेको गल्तीको भारी आम सहकारीलाई बोकाउने गरी जसरी प्रचार गरिएको छ, यसलाई चिर्नका लागि पालिका सरकारले पहल गर्ने र त्यसमा पालिका भित्रका सबै सहकारीहरुले सहयोग गर्नु पर्ने उनको भनाइ थियो ।      सहकारीका सञ्चालक र कर्मचारीहरुले कमजोरी गरेका छन् भने हामीले कार्वाही गर्छौ, तर देशमा आएको वित्तीय संकटका कारण समस्या देखिएका सहकारीहरुलाई जोगाउनु पनि पालिकाको र अभियानको जिम्मेवारी हो, अध्यक्ष पुनले भने । 

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ति मगरले समुदाय केन्द्रीत सहकारीले गरेको सकारात्मक विषयहरु जनता र राज्यका बीचमा लैजानु पर्नेमा जोड दिए । सहकारीले विपन्न वर्गका जनताको आर्थिक विकास र सामाजिक सशक्तिकरणमा धेरै योगदान गरेका छन, केही बदमास सहकारीहरुका कारण सबैलाई एउटै तरिकाले हेर्ने र व्यवहार गर्न नुहने उनको भनाइ थियो । 

तालिम समापन कार्यक्रममा सहभागीहरुका तर्फबाट नव मालिका वचत तथा ऋण सहकारी संस्थाका सचिव छवि वि.क. र न्यू दरवाङ महिला वचत तथा ऋण सहकारी संस्थाका सचिव लक्ष्मी सापकोटा आचार्यले तालिमबाट सहकारी संस्थालाई थप व्यवस्थित गराउन आवश्यक विषयहरु र सदस्यसंगको सम्बन्ध थप विस्तारका लागि योजना बनाउने विषयमा समेत सचेत बनाएको बताए । 

तालिममा गाउँपालिकाको सहकारी ऐन र पालिकाका सहकारीहरुको सम्बन्ध, सहकारी संस्थाका सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुको भूमिका, सहकारीमा वचत परिचालन र ऋण जोखिम व्यवस्थापन, सदस्यहरुका लागि वित्तीय साक्षरता लगायतका विषयमा सहजीकरण गरिएको गाउँपालिकाका योजना अधिकृत तथा सहकारी शाखा प्रमुख सोम बहादुर केसीले जानकारी दिए । 
 



Leave a comment