हाइलाइट

कोशी प्रदेशमा सहकारी : साढे ४ हजार संस्था, २ खर्ब कारोबार 

कोशी प्रदेशमा सहकारी : साढे ४ हजार संस्था, २ खर्ब कारोबार  :: Sahakari Akhabar

चीना थापा, विराटनगर । कोशी प्रदेशमा संचालनमा रहेका साढे ४ हजार भन्दा बढी सहकारी संस्थाहरुले करिब २ खर्ब रुपैयाँ भन्दा बढी कारोबार गरेका छन् । १०१ औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवा सुनसरीका निमित्त रजिष्ट्रार हरि बहादुर खत्रीले प्रदेशमा संचालनमा रहेका ४ हजार ७२९ वटा सहकारीहरुको शेयर पुँजी १५ अर्व २६ करोड ६७ लाख ४२ हजार, निक्षेप ७८ अर्व ४७ करोड २ लाख ६५ हजार, ऋण लगानी ८७ अर्व ३४ करोड ३४ लाख रुपैयाँ रहेको जानकारी दिए ।

कोशी प्रदेशमा सहकारीमार्फत २० हजार ६८५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सहकारीमा पुरुषको तुलनामा महिला सदस्यहरुको संख्या बढी छ । १७ लाख १४ हजार ९३२ जना शेयर सदस्य रहेकोमा ५७ प्रतिशत महिला रहेको निमित्त रजिष्ट्रार खत्रीले बताए ।

अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदेशस्तरका उत्कृष्ट सहकारी संघ÷संस्था तथा सहकारीकर्मी सम्मान कार्यक्रम २०८० तथा वर्तमान सन्दर्भमा सहकारी नियामक निकाय र छाता संघहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा ‘‘सहकारी क्षेत्रको दीगोपनका लागि स्वनियमन मार्फत सुशासन कायम गर्नमा  नियामक निकाय र सहकारी संघहरुको भूमिका’’ विषयक कार्यक्रम भएको थियो ।

कार्यक्रममा कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयले राष्ट्रिय (संघीय) सहकारी नीति, कानून तर्जुमा, कार्यान्वयन र मूल्यांकन, आवधिक रणनैतिक सहकारी योजना तर्जुमा, कार्यान्वयन र मूल्यांकन, सहकारीको अनुगमन तथा नियमन, सहकारी संघहरुको क्षमता अभिवृद्धि,सहकारी उद्यम व्यवसायको विकास विस्तार, सहकारी बजार विकास कार्यक्रम, सहकारी शिक्षाको प्रवर्द्धन गर्नेगरेको छ ।

सहकारीको पहुँच स्थानीयस्तरसम्म विस्तार, लक्षित समुदायसम्म सहकारी विकास र विस्तार, एकिकृत र समन्वयात्मक सहकारी सेवा सुविधा प्रवाहको व्यवस्था, समस्याग्रस्त सहकारी घोषणा जस्ता धेरै कार्यक्रम भएपनि अहिलेको अवस्थामा कतिपय कामहरु भैसकेको र कतिपय हुन बाँकी रहेको निमित्त रजिष्ट्रार खत्रीले जानकारी दिए । उनले भने, ‘समस्याग्रस्त सहकारी घोषणा गर्ने काम कोशी प्रदेशमा भएको छैन्, यसको लागि मन्त्रालयले समिति बनाउनुपर्ने भएपनि अहिलेसम्म समिति नबनेकाले काम हुन सकेको छैन ।’

त्यसैगरी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले विभिन्न तालिमहरु पनि सञ्चालन गरिरहेको छ । चालु आर्थिक बर्षमा १० वटा विभिन्न तालिमहरु  गरेको जनाईएको छ । रजिष्ट्रार कार्यालयले स्थानीय पालिकाहरुमा पनि सहजिकरण गरिरहेको छ ।

कोशी प्रदेशको सहकारीको अवस्था र तथ्यांक मजवुद बनाउनको लागि स्थानीय तहहरुसँग विवरण मागेको भएपनि अहिलेसम्म कसैले नदिएको खत्रीले जानकारी दिए । त्यस्तै कोशी प्रदेशमा विभिन्न प्रकृतिका संघहरु १६ वटा रहेपनि केहीमात्र सक्रिय रहेको जनाईएको छ ।

खत्रीले कोपोमिस कार्यान्वयनको विषय पनि अब दण्डको विषय बन्ने बताउँदै अहिलेसम्म नियमन प्रतिवेदन बुझाउने सहकारी कम भएकाले अब देखि बार्षिक साधारण सभा तथा लेखापरिक्षण प्रतिवेदन बुझाउने समय पुस मसान्तसम्म भएकाले माघ १ गते नै प्रतिवेदन सार्वजनिक गर्ने र नबुझाउने सहकारीलाई कार्वाही गरिने बताए । सजाय, दण्ड, पुरस्कार पनि सँगसँगै लैजाने नीति रजिष्ट्रार कार्यालयको रहेको उनको भनाई छ । खत्रीले सहकारीको सेवा केन्द्र खोल्ने प्रवृति बढेकाले ऐन परिवर्तन गरेर नै ढोका नै बन्द गर्ने पक्षमा आफू रहेको बताए ।

कोशी प्रदेशका उत्कृष्ट सहकारी तथा व्यक्तित्व सम्मानित

१०१ औ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा कोशी प्रदेशका उत्कृष्ट २ वटा सहकारी र एक जना व्यक्तित्वलाई सम्मान गरिएको छ । शनिबार कोशी प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले बिराटनगरमा औपचारिक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।

सम्मानित हुनेमा दमकमा मुख्य कार्यालय रहेको मेची बहुउदेश्यीय सहकारी झापा र बचत  ऋणतर्फ महिला बचत तथा ऋण सहकारी इटहरी रहेका छन् । त्यसैगरी सहकारी व्यक्तित्वमा नेपाल बहुउदेश्यीय सहकारी झापाका निर्वतमान अध्यक्ष रामचन्द्र उप्रेतीलाई सम्मान गरेको छ ।

‘आर्थिक वर्ष २०७९ / ८० मा यस कार्यालयलको नियमन क्षेत्रभित्रका विषयगत सहकारी सस्थाहरुमध्ये सस्थागत सुशासनका सुचकांकहरुका आधारमा मुल्यांकन संस्था छनौट गरिएको पुरस्कार छनौट समितिका संयोजक मनोज कार्कीले जानकारी दिए । त्यस्तै लामोसमय देखि सहकारी क्षेत्रमा क्रियाशिल रही सहकारी अभियानलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेका कारण उप्रेतीलाई सहकारी व्यक्तित्व सम्मानबाट सम्मानित गरिएको उनले बताए ।

सम्मानपछि बोल्दै उप्रतीले पुरस्कार पाईन्छ भनेर नभई आफ्नो चाहना र जिम्मेवारी सम्झेर लागेको बताउँदै काम गर्दै जाँदा सरकारी निकायबाट सम्मान पाउँदा खुसी लाग्नुका साथै अझै काम गर्न प्रेरणा मिलेको बताए । सहकारी संस्था आफैमा समस्या नभई त्यसको नेतृत्व गर्ने व्यक्तिहरुमा समस्या देखिएका कारण पछिल्लो समयमा सहकारी संस्थाहरुमा समस्या देखिएको बताए । ‘सहकारी संस्था असफल भएको हैन’, उनले भने, ‘सहकारी चलाउन आउने व्यक्तिको मनोवृद्धि असफल भएको हो ।

सहकारी आफ्नो हिसावमा चलिरहेको छ । इच्छाशक्ति बोकेर आउनेले राम्रो बनाएर लैजान्छन् । तर, व्यक्तिगत फाईदाको लागि सुशासन कमजोर बनाउँदै लैजाँदा समस्या आईरहेको हो । अरुलाई  सुधार्न भन्दा पनि पहिला आफूलाई सुधार्न सके सहकारी संस्थामा कहिले पनि समस्या आउँदैन ।’

१ प्रतिशतले गर्दा ९९ प्रतिशतलाई असर नगर्ने काम गरौं : सचिव दाहाल

कोशी प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्याललय सुनसरीको आयोजना तथा कोशी प्रदेश सहकारी संघको संयोजनमा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहालले सहकारीको नकारात्मक प्रचार बढी भएको बताए ।

१०० वटा सहकारीमा २ वटा सहकारी संस्थाले वदमासी गर्दा ९८ वटालाई असर गरेको बताए । ‘नराम्रो २ वटा सहकारीको बढी प्रचार भयो’, उनले भने, ९८ वटा राम्रो सहकारीको प्रचार नै भएन । त्यसैले अव २ वटा सहकारी कारण ९८ वटा सहकारी पनि नराम्रो भन्ने कुरालाई चिर्न सक्ने काम गर्नुपर्ने हुन्छ । अब मन्त्रालय यसतर्फ सचेत भएर काम गर्नेछ ।’

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक शिव डागी, जिल्ला सहकारी संघ झापाका अध्यक्ष तथा महासंघका सन्चालक गढेश ढकाल, कोशी प्रदेश सहकारी संघका अध्यध्यक्ष  डिल्ली पोखरेल, जिल्ला सहकारी संघ सुनसरीकी अध्यक्ष योगमाया सुवेदीले सहकारी क्षेत्रमा अहिले देखिएका समस्या न्युनिकरण गर्न पहिला नेतृत्व तहमा जाने व्यक्तिहरु आफै सुर्धिनुपर्नेमा जोड दिए ।



Leave a comment