काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले बागमती प्रदेशका १२ वटा जिल्ला बचत तथा ऋण सहकारी संघहरुको सहभागितामा गोष्ठी सम्पन्न गरेको छ । संघले एक दिवसीय ‘सञ्जाल सहकार्य र व्यवस्थापन आजको आवश्यक्ता’ विषयक गोष्ठी सम्पन्न गरेको हो । प्रोस्कूनले बागमती प्रदेश भित्रका बचत तथा ऋण सहकारी संघहरुको सञ्जाल व्यवस्थापन र सञ्जाल सहकार्य सम्बन्धी साझा धारणा बनाउने उद्देश्यले उक्त गोष्ठीको आयोजना गरेको जनाएको छ ।
बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सञ्चालित गोष्ठीमा बागमती प्रोस्कूनका प्राविधिक सल्लाहकार, डा. शिवजी सापकोटाले सहकारीमा सञ्जाल व्यवस्थापन र सहकार्यको महत्वको वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसैगरी विश्वमा सहकारी सञ्जाल व्यवस्थापनको असल अभ्यासको विषयमा प्रस्तुतीकरण गर्दै उनले अष्ट्रेलिया र अमेरिकामा बाहेक अन्य देशमा सहकारीको जिम्मा सरकारले नलिएको बताए । कति संस्था संघमा आवद्ध भए भन्दा पनि कति संस्थालाई सुरक्षित तवरले सञ्चालन गर्न सकियो त्यो महत्वपुर्ण भएको उनको भनाई थियो ।
तोकिएको मापदण्ड पुरा गरेका संस्थाको सुरक्षाको प्रत्याभुति प्रोस्कुनले लिन्छ भन्न सक्नु अहिलेको आवश्यकता रहेको उनले भने । सहकारीका संघ तथा महासंघ मार्गदर्शन र विज्ञप्ति निकाल्ने होडबाजीमा लागेको भन्दै उनले यसले मात्र सहकारीको समस्या समाधान नहुने प्रष्ट पारे । अहिलेको आवश्यकता स्फेसिफिक एजेन्डामा छलफल गर्ने र कार्यान्वयनको लागि संघ, प्रदेश र स्थानीय तहमा पहल गर्नु पर्ने उनको भनाई छ ।
त्यसैगरी बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले बागमती प्रदेशमा सञ्जाल सहकार्य र सञ्जाल व्यवस्थापनको विषयमा निर्धारण गरेको संरचना र सो मार्फत बचत तथा ऋण सहकारीको उदाहरणीय व्यवस्थापनमा संघको परिकल्पनाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
Leave a comment