बागलुङ । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले सहकारीमा अध्यक्षको भूमिका विषयक एक दिने लघुगोष्ठी सोमबार सम्पन्न गरेको छ । सहकारी संस्थालाई प्रभावकारी रुपमा सञ्चालनका लागि अध्यक्षले खेल्नुपर्ने नेतृत्वदायी भूमिकाका विषयमा गोष्ठी आयोजना गरिएको बैंकले जनाएको छ ।
कार्यक्रमका सहभागीहरुले आगामी दिनमा सहकारीहरुलाई थप प्रभावकारी बनाउनका लागि शेयर सदस्यहरुसंगको सम्बन्धलाई प्रभावकारी बनाउने, संस्थाबाट ऋण लगेका शेयर सदस्यहरुलाई ऋणको ब्याज र किस्ता समयमै भुक्तान गर्ने वातावरण बनाउन राज्यका निकायसंग समन्वय गर्नु पर्नेमा जोड दिएका थिए ।
केही सहकारी संस्थाहरुले वचत फिर्ता गर्न नसकेका कारण सबै सहकारीप्रति अविश्वास बढ्दै गएको भन्दै सहभागीहरुले खराबलाई कार्वाही गर्न र राम्रो काम गर्नेहरुप्रति विश्वासको वातावरण बनाउन सरोकारवालाहरुले ध्यान दिनु पर्ने बताए ।
सहकारीहरुलाई समस्या पर्दा छाता संघहरु र राष्ट्रिय सहकारी बैंकले सहजीकरणको काम गर्नु पर्ने, राज्यका निकायहरुले नियमनलाई प्रभावकारी बनाउनु पर्नेमा सहभागीहरुको जोड थियो । सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीको समसामयिक अवस्था तथा बैंकका तर्फबाट भैरहेका गतिविधिका बारेमा जानकारी गराए । बैंकका शाखा प्रमुख युवराज त्रिपाठीले बैंकको वित्तीय अवस्था र शाखाबाट सञ्चालन भैरहेका सेवाहरुका बारेमा जानकारी गराए ।
Leave a comment