हाइलाइट

काठमाडौंमा सहकारीका उत्पादन बेच्न अनलाईन मेट्रो मार्ट, समस्याग्रस्त संस्था हेर्न छुट्टै संयन्त्र 

काठमाडौंमा सहकारीका उत्पादन बेच्न अनलाईन मेट्रो मार्ट, समस्याग्रस्त संस्था हेर्न छुट्टै संयन्त्र  :: Sahakari Akhabar

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुको उत्पादन बिक्रीका लागि अनलाईन मेट्रो मार्ट संचालन गर्ने भएको छ । आर्थिक वर्ष २०८० / ०८१ का लागि महानगरपालिकाको वार्षिक बजेट सार्वजनिक गर्दै उपमेयर सुनिता डंगोलले उत्पादन र उपभोगलाई जोड्न अनलाईन इ–कमर्स प्लाटफर्म मार्फत मेट्रो मार्ट संचालनमा गर्न १ करोड रकम छुट्याइएको जानकारी दिइन् ।

यसअघि महानगरको नीति तथा कार्यक्रममा मेयर बालेन्द्र शाहले महानगर क्षेत्र बाहिर संचालित उत्पादनमूखी सहकारीहरुसँग सहकार्य गरी गुणस्तरीय वस्तु सुलभ रुपमा उपलब्ध गराउन प्रवन्ध गर्ने घोषणा गरेका थिए । उक्त नीति अनुसार नै महानगरले अनलाईन मार्ट बनाउन बजेट बिनियोजन गरेको हो ।

यसैगरी महानगरले समस्याग्रस्त सहकारीहरुको ब्यवस्थापनका लागि छुट्टै संयन्त्र बनाउने भएको छ । उपमेयर डंगोलले संकटग्रस्त सहकारी व्यवस्थापनको लागि संस्थागत संयन्त्र निर्माण गरी प्रभावकारी कार्यक्रम संचालन गर्न सहकारी विभाग अन्तर्गत आवश्यक रकमको प्रबन्ध मिलाएको जानकारी दिइन् ।

नीति तथा कार्यक्रममा संकटग्रस्त सहकारी व्यवस्थापनका लागि संस्थागत संयन्त्र निर्माण गरी प्राथमिकताका साथ काम गर्ने उल्लेख थियो । हाल संघिय सरकार अन्तगत समस्याग्रस्त सहकारी सम्पति ब्यवस्थापन समिति क्रियाशित छ । उक्त समितिले संघिय सरकार अन्तर्गत रहेका समस्याग्रस्त सहकारीको मात्र काम गर्दै आएको छ ।

महानगरमा मातहत रहेका सहकारीहरु पनि समस्याग्रस्त हुन थालेपछि छुट्टै संयन्त्र बनाउन लागेको हो । काठमाडौं महानगर मातहतमा करिब २ सय संस्थाहरु संचालनमा छन् । 
 



Leave a comment