काठमाडौं । सूर्यविनायक नगरपालिकाले प्रत्येक वडामा कम्तीमा एउटा सहकारी सुपथ मूल्य सहकारी पसल संचालन गर्ने भएको छ । आर्थिक वर्ष २०८० / ८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख बासुदेव थापाले नगरपालिकाका आर्थिक तथा सामाजिक कार्यक्रमहरुमा सहकारी क्षेत्रलाई प्राथमिकता दिएका हुन् ।
७५३ स्थानीय तहमध्ये सवैभन्दा पहिला सहकारी ऐन स्वीकृत गरी पुरस्कृत भएको नगरपालिकाले कृषि, घरेलु उद्यम, यातायात, वातावरण संरक्षणलगायतका कार्यक्रमहरुका लागि सहकारी क्षेत्रलाई अघि बढाउने योजना बनाएको छ ।
नगरपालिकाले सहकारी तथा निजी क्षेत्रसँगको साझेदारीमा नगरभित्र कृषिमेला, हाटबजार, कृषि उपज संकलन केन्द्र, दुध चिस्यान केन्द्र, कृषि प्रयोगशाला आदि निर्माण तथा कृषि प्रदर्शनी आयोजना गर्ने तथा नगरपालिका र कृषि सहकारीको समन्वय र सहकार्यमा स्थानीय बिउँ बैंकको स्थापना गर्ने योजना पनि अघि सारेको छ ।
यस्तै निजी, सहकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा प्राविधिक तथा सीपमूलक तालिम मार्फत युवा लक्षित रोजगारमूलक कार्यक्रम संचालन गर्ने, प्रत्येक वडामा सार्वजनिक यातायातको पहुँच सुनिश्चित गर्न निजी तथा सहकारी क्षेत्रसँग सहकार्य गर्ने, सामुदायिक, सहकारी तथा निजी क्षेत्रसँगको सहकार्यमा सःशुल्क तथा निःशुल्क पार्किङ्गको व्यवस्था गर्ने र वातावरण संरक्षण तथा फोहोर मैला व्यवस्थापनमा निजी, सहकारी, गैरसरकारी संस्थासँग समन्वय र सहकार्यलाई निरन्तरता दिईने नगरपालिकाको योजना छ ।
यसैगरी सहकारी संस्था दर्ता तथा सञ्चालित सहकारीहरुको नियमित अनुगमन र नियमन गरिने, नगरपालिका र सहकारी संस्थाबीचको सहकार्यमा स्थानीय उत्पादनको प्रवद्र्धन गरी रोजगारी र आय आर्जन वृद्धिमा जोड दिने र उत्पादित बस्तुको बजारीकरण गर्ने नगरपालिकाको योजना छ ।
सहकारी संस्थाको प्रवद्र्धन र संस्थागत क्षमता विकासको लागि विविध सीपमूलक तालिम कार्यक्रम संचालन गर्ने, प्रत्येक सहकारीले वार्षिक रुपमा कम्तिमा दुईवटा सामाजिक कार्य गरी प्रतिवेदन सम्बन्धित वडा कार्यालय र नगरपालिकामा पेश गर्नुपर्ने कार्यलाई कडाइ गर्ने नीतिमा उलेख छ ।
राष्ट्रिय सहकारी बैक, नेफ्स्कुन, सहकारी संघ तथा सहकारी अभियानकर्ताहरुसँगको समन्वयमा समस्या समाधान गर्न सवलीकरण कार्यक्रम संचालन गर्ने, सहकारी संस्थाहरुको तथ्याङ्क तथा विवरणहरुलाई व्यवस्थित गर्ने, सहकारी तथा गरिवी निवारण सम्वन्धी व्यवस्थापन सूचना प्रणालीलाई अझ व्यवस्थित गर्ने तथा सहकारीको बचतलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिने नगरपालिकाको योजना छ । कर्जा सुरक्षण केन्द्र तथा कर्जा सूचना केन्द्रको स्थापनाको लागि आवश्यक तथा योगदानमा आधारित सहकारी प्रवद्र्धन कोष स्थापना गर्ने समेत नगरपालिकाको योजना छ ।
Leave a comment