काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारीहरुको सहकारी दर्ता, नविकरण तथा मर्जर सम्बन्धमा मापदण्ड बनाउने भएको छ । आर्थिक वर्ष २०८० / ८१ का लागि महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र शाहले सहकारीको अनुगमनलाई अझ प्रभावकारी बनाउनका लागि मापदण्ड बनाउने घोषणा गरे ।
महानगरको नीति तथा कार्यक्रममा सहकारी क्षेत्रमा सुशासन कायम गर्न सहकारीहरुलाई प्रबर्धन, नियमन तथा अनुगमन गर्ने कार्यलाई तिब्रता दिंदै विद्युतिय प्रणालीमा आवद्ध गरिने घोषणा गरिएको छ । यस्तै सहकारी संस्थाका सदस्यहरुलाई लक्षित गरी सहकारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने र महानगर क्षेत्र बाहिर संचालित उत्पादनमूखी सहकारीहरुसँग सहकार्य गरी गुणस्तरीय वस्तु सुलभ रुपमा उपलब्ध गराउन प्रवन्ध गरिने महानगरको योजना छ ।
यसैगरी संकटग्रस्त सहकारी व्यवस्थापनका लागि संस्थागत संयन्त्र निर्माण गरी प्राथमिकताका साथ काम गर्ने समेत महानगरले उल्लेख गरेको छ । चालू आवमा पनि संकटग्रस्त सहकारीलाई संघ, प्रदेश र सम्बन्धित स्थानीय तहसँगको समन्वयमा प्रभावकारी व्यवस्थापनको लागि संस्थागत प्रबन्ध मिलाई सुधारका लागि नीतिगत प्रवन्ध गरिएको महानगरले जनाएको छ ।
Leave a comment