धादिङ । बैंक तथा वित्तीय संस्थाहरूले उद्योग तथा व्यवसाय गर्नका लागि ग्राहकलाई ऋण लगानी गर्छन् । त्यसका लागि सर्वसाधारणले पेश गरेको व्यवसायीक योजना अनुसार घरजग्गालगायत सम्पति दृष्टिबन्धक गरेपछि पैसा त पाउँछन् तर, ऋण बाहेक अन्य कुनै सुविधाहरु भने पाउदैनन् । साना किसान कृषि सहकारी संस्थाहरु भने सदस्यहरुलाई ऋणसँगसँगै दिने अन्य सेवा तथा सुविधाहरुका कारण समाजमा अलग पहिचान स्थापित गर्न सफल भएका छन् ।
सहकारीले सदस्यलाई वित्तीय सेवासँगै शिक्षा, तालिम तथा परामर्श सेवाहरु उपलब्ध गराउछन् । जसले गर्दा सहकारीबाट ऋण लिएर साना किसानहरु उद्यमी तथा व्यवसायी बन्न थालेका छन् । पारिवारीक रुपमा निर्वाहमुखी ढंगले खेती किसानी तथा पशुपालन गर्ने साना किसानहरु विस्तारै व्यवसायीक बन्न थालेका छन् ।
आधुनिक गोठ तथा खोर निर्माण गरी पशुपालन, बाख्रापालन तथा कुखुरापालन, बंगुरपालन गर्ने र टनेल तथा खुल्ला रुपमा आधुनिक प्रविधिहरुको प्रयोग गरी तरकारीलगायतका खेतीमा गर्नेहरुको संख्या बढिरहेको छ । यसरी किसानहरुलाई व्यवसायीक रुपमा डोर्याउने सफल सहकारी संस्थाको रुपमा स्थापित भएको छ, साना किसान कृषि सहकारी संस्था कुम्पुर ।
साना किसान विकास आयोजनाको रुपमा तत्कालिन कुम्पुर गाविस वडा नं–३ मा २०५० साल चैत २९ गते संस्था स्थापना भएको थियो । २०५५ साल साउन १ गतेदेखि भने साना किसान कृषि सहकारी संस्थाका रुपमा दर्ता भएको हो । सिद्धलेक गाउपालिका–६ माझिटारमा रहेको आफ्नै भवनबाट सेवा दिदै आएको संस्थाले सिद्धलेक र गजुरी गाउँपालिकामा सेवा दिदै आएको छ ।
तीन लाखबाट १३ करोड
२०५५ सालमा सहकारी संस्था स्थापना हुँदा संस्थामा साना किसानहरुको ६ हजार रुपैयाँ शेयर पुँजी र तीन लाख रुपैयाँ बचत थियो । ५ सय जना सदस्यहरु लिएर स्थापना भएको सहकारीमा २०८० बैशाखसम्म आइपुग्दा सदस्यको संख्या २ हजार नाघेको छ भने ३५० वटा समूह निर्माण भएका छन् । जसमध्ये करिब एक हजार जनाले संस्थाबाट ऋण सेवा उपभोग गरिरहेका छन् ।
२०८० बैशाखसम्ममा संस्थाको शेयर पूँजी २ करोड १९ लाख रुपैयाँ, १३ करोड ८५ लाख निक्षेप, ४ करोड ८९ लाख जगेडा कोष पुगेको छ । साना किसान लघुवित्त वित्तीय संस्थाबाट समेत गरी संस्थाको लगानी रहेको ऋण ३४ करोड २४ लाख रुपैयाँ पुगेको संस्थाका प्रबन्धक विष्णु प्रसाद थपलियाले जानकारी दिए । संस्थाको लगानीमध्ये अधिकांश कृषि र पशुपालनलगायतको व्यवसायमा लगानी भएको उनले बताए ।
कर्जासँगै सिप, प्रविधि र प्रोत्साहन
साना किसान सदस्यहरुलाई सहकारीमा आवद्ध गराउदै उनीहरुको आर्थिक तथा सामाजिक विकासमा क्रियाशिल रहेको सहकारीले सदस्यहरुलाई ऋण मात्र लगानी गर्दैन । ऋण लगानीको अतिरिक्त सदस्यहरुलाई व्यवसायीक रुपमा कृषिका लागि अन्य सेवाहरु पनि दिदै आएको छ ।
संस्थाले सदस्यहरुलाई सर्वसुलभ मूल्यमा गुणस्तरिय सामान उपलब्ध गराउने उद्देश्य सहित संस्थाले गजुरी बजारमा कृषि सामाग्री तथा दैनिक उपभोग्य सामानहरुको बिक्री केन्द्र संचालन गरिरहेको छ । सहकारी पसलबाट सहूलित मूल्यमा बिउँ, विजन, मलखाद, विषादी सामानहरु बिक्री गर्दै आएको छ ।
यसैगरी संस्थाले पशु बिमा तथा वाली बिमा र पशु बिमाको क्षतिपुर्ती, सदस्य सुरक्षा बिमा, मृतक राहत कोष तथा कल्याणकारी कोष, छात्रवृत्ति तथा पुरस्कार, सुत्केरी भत्ता तथा स्वास्थ्य उपचार अनुदान जस्ता सेवा समेत सदस्यलाई दिइरहेको छ ।
यसैगरी सदस्यहरुलाई व्यवसायीक कृषिमा आकर्षित गर्न बोयर ब्याड बोका वितरण तथा पाठापाठी साटासाट, स्प्रे पम्प तथा हाते ट्याक्टर मिनीटिलर र बाखाखोर अनुदान वितरण तथा भैसीको गोठ सुधार, तरकारी विउमा तथा टनेल निर्माण अनुदान जस्ता कार्यक्रमहरु संचालन गरिरहेको छ ।
यसैगरी सदस्यहरुका लागि विभिन्न सामाजिक सुरक्षाका कार्यक्रम गरिरहेको छ । संस्थाले बृद्ध सदस्यलाई पेन्सन वितरण तथा मनकामना दर्शन, कोरोनाका कारण निधन भएको सदस्यको परिवारलाई अनुदान, विद्यार्थीलाई छात्रवृत्ती जस्ता कार्यक्रम समेत संचालन गरिरहेको छ ।
साना किसान कृषि सहकारी संस्थाहरुको भूमिकाका कारण यो मोडललाई सरकारले समेत विश्वास गरेको संस्थाका अध्यक्ष खिल नारायण श्रेष्ठले बताए । ‘साना किसान सहकारीहरुले तल्लो तहका किसान सदस्यहरुको आर्थिक विकासमा काम गर्दै आएको छ’ उनले भने, ‘यहि कारण साना किसान मोडललाई सबैभन्दा विश्वास मानेर सरकारले पनि सहयोग गर्दै आएको छ ।’ सरकारले कृषिको विकासका लागि अनुदानका दिने कार्यक्रम संचालन गर्दै आएको र यसभन्दा पनि सहूलियत ब्याजदरमा ऋण दिनुपर्ने र उत्पादनको आधारमा अनुदान दिने हो भने प्रभावकारी हुने उनको भनाइ छ ।
सेवामूलक र आयमूलक कार्यक्रम
सहकारीले आन्तरिक स्रोत तथा अन्य निकायसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएकाे छ । सहकारीले सचालन गरेका कार्यक्रमहरु यस्ता छन् ।
पाठापाठी वितरण : ८ समहलाई ४० वटा ।
व्याड बोका वितरण : ८ जनालाई ।
बोयर ब्याड बोका वितरण : १५ जनालाई खरिद रकमको ५० प्रतिशत बराबर
बोका कास्टेशन : ४५ वटा ।
सदस्य सुरक्षा बिमा : १ हजार ११३ जना (कोषमा रकम ३१ लाख ८५ हजार)
माटो परिक्षण : ९ वडामा ।
पशु उपचार : बाखा ३९, भैसी १७ र गाईगोरु १ वटा ।
पशु बिमा ः २० हजार १८० ओटा ।
पशु विमा क्षतिपुर्ती : ९५ जनालाई ११८ वटा पशुको १५ लाख ३४ हजार
इजरायलमा कृषि प्रशिक्षार्थी पठाएको : २४ जना ।
बृद्धबृद्धालाई मनकामना दर्शन : ५८ जना ।
तरकारी बिउ बितरण तथा अनुदान : २ लाख २९ हजार ५९० रुपैयाँ ।
अन्तर संस्था अवलोकन भ्रमण : १५० जनालाई ।
एसइइ छात्रवृत्ति : ९ जनालाई ।
सहकारी शिक्षा गोष्ठी : वित्तिय साक्षरता ६३ जनालाई ।
बाखा पालन तालिम : १०५ जनालाई ।
सुत्केरी भत्ता : ५६ जनालाई १ लाख १२ हजार ।
स्टेचर वितरण : ८० वटा ।
सदस्य सुरक्षा बिमा अनुदान : २८ जनालाई १२ लाख ।
मिनीटिलर वितरण : २० जनालाई २ लाख ७७ हजार ।
स्प्रे पम्प वितरण : ३९ ओटा रकम ८५ हजार ८ सय ।
हाते पम्प : २२ ओटा रकम १३ हजार २ सय ।
स्वास्थ्य उपचार कोष वितरण : १२ जनालाई २ लाख ८० हजार ।
गोठ सुधार : चार जनालाई २ लाख ।
खोर सुधार : १४ जनालाई २ लाख ९५ हजार
बाखा प्रबर्धन कार्यक्रम : २३ जनालाई ११ लाख ९८ हजार
कम्बाइन मिल : २ जना रकम २७ हजार ।
तरकारी टनेल निर्माण अनुदान : एक जनालाई १५ हजार ।
बृद्ध सदस्य पेन्सन : १८ जना रकम २१ हजार ६ सय ।
सम्मान / पुरस्कार
सहकारी संस्थाले विभिन्न पुरस्कार पनि जितेको छ । हालसम्म आधा दर्जन भन्दा बढी पुरस्कार पाएको छ । राष्ट्रिय सहकारी दिवसका अवसरमा २०६१ साल चैत २० गते तत्कालिन डिभिजन सहकारी कार्यालयबाट प्रशंसा पत्र पाएको संस्थाले २०६१ माघ १५ गते साना किसान कृषि सहकारी संघ धादिङबाट जिल्लाभरका साना किसान सहकारीमध्येमा असुलीदर, आन्तरिक पुँजी र सामुदायिक कार्यक्रमका आधारमा प्रथम पुरस्कार पाएको थियो ।
कार्य सम्पादन तथा प्रगति मूल्यांकनका आधारमा साना किसान लघुवित्त वित्तीय संस्था इलाका कार्यालय गजुरीबाट आर्थिक वर्ष २०६२ / ०६३, २०६७ / २०६८ र २०७७ / ०७८ तीन वर्ष पुरस्कार पाएको छ । यस्तै २०६४ मंसिर ६ गते साना किसान विकास लघुवित्त वित्तीय संस्था केन्द्रीय कार्यालयबाट लघुपित्त विस्तार प्रतिस्पर्धामा सर्वोत्कृष्ट भई सम्मान पत्र र ८० हजार नगद प्राप्त गर्न सफल भएको छ ।
Leave a comment