बागलुङ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले गण्डकी प्रदेशका १७ वटा सहकारी संस्थालाई पुरस्कृत गरेको छ । गत पुसमा सम्पन्न बैंकको १६ औं वार्षिक साधारणसभामा विभिन्न विधामा पुरस्कारका लागि छनोट भएका सहकारीहरुलाई सोमबार पोखरामा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो ।
सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे र बैंकका अध्यक्ष के.बी.उप्रेतीले पुरस्कृत संस्थाका पदाधिकारीहरुलाई प्रशंसापत्र सहित पुरस्कार प्रदान गरेका थिए । पुरस्कृत हुने संस्थाहरुमा महिलाद्वारा सञ्चालित सहकारी मध्ये राष्ट्रिय स्तरको पुरस्कार शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्था कावासोतीलाई प्रदान गरिएको थियो ।
यस्तै प्रदेश स्तरमा उत्कृष्ट हुने वचत तथा ऋण सहकारी मध्येबाट फेवा वचत तथा ऋण सहकारी सस्था पोखरा र वचत तथा ऋण बाहेकका सहकारी मध्येबाट सयपत्री बहुउद्देश्यीय सहकारी संस्था गलकोट बागलुङलाई पुरस्कृत गरिएको छ ।
आर्थिक वर्ष २०७८ / ०७९ मा बैंकसंग उत्कृष्ट र नियमित कारोबार गर्ने संस्थाहरु मध्ये शाखा स्तरीय पुरस्कारबाट दमौली शाखामा उत्कृष्ट कारोबार गर्ने भिमाद वचत तथा ऋण सहकारी संस्था भिमाद तनहुँ र नियमित कारोबार गर्ने विधामा शिवकालिका वचत तथा ऋण सहकारी संस्था ब्यास–२, तनहुँ पुरस्कृत भएका छन् ।
पोखरा शाखामा उत्कृष्ट कारोबार गर्ने दुधपोखरी बचत तथा ऋण सहकारी संस्था कास्की र नियमिततर्फ द गोर्खाज वचत तथा ऋण सहकारी संस्था कास्की पुरस्कृत भएको हो । यसैगरी वालिङ शाखामा उत्कृष्ट कारोबार गर्ने मिलन वचत तथा ऋण सहकारी संस्था वालिङ, स्याङ्जा र नियमिततर्फ बोलबम बहुउद्देश्यीय सहकारी संस्था वालिङ स्याङ््जा पुरस्कृत भएको छ ।
बागलुङ शाखामा उत्कृष्ट कारोबार गर्ने बेनी वचत तथा ऋण सहकारी संस्था म्याग्दी र नियमिततर्फ साझा चौतारी युवा उद्यमशिल सहकारी संस्था बागलुङ पुरस्कृत भएका छन् । यस्तै पुतलीबजार शाखामा उत्कृष्ट कारोबार गर्ने सुर्योदय वचत तथा ऋण सहकारी संस्था पुतलीबजार स्याङ्जा र नियमित तर्फ जयजनता बहुउद्देश्यीय सहकारी संस्था पुतलीबजार स्याङ्जा पुरस्कृत भएका छन् । तालचोक शाखामा उत्कृष्ट कारोबार गर्ने लेखनाथ वचत तथा ऋण सहकारी संस्था पोखरा–२६ कास्की र नियमिततर्फ लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारी संस्था पोखरा–२७ कास्की पुरस्कृत भएका छन् ।
कावासोती शाखामा उत्कृष्ट कारोबार गर्ने मध्य नेपाल वचत तथा ऋण सहकारी संस्था देवचुली नवलपुर र नियमिततर्फ सिर्जनशिल वचत तथा ऋण सहकारी संस्था कावासोती नवलपुर पुरस्कृत भएका हुन् । बैंकका संस्थापक अध्यक्ष स्वर्गीय राजेशहरि जोशीको नाममा स्थापना गरिएको संस्थापक अध्यक्ष / सञ्चालक सम्मानबाट गण्डकी बचत तथा ऋण सहकारी संस्था गैडाकोट नवलपुरका गोविन्द सुवेदीलाई नगद २५ हजार सहित सम्मान गरिएको थियो ।
बैंकले प्रवाह गर्ने कर्जा कारोबारमा उत्कृष्ट संस्थाहरु मध्येबाट मिलिजुली महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कावासोती नवलपुरलाई उत्कृष्ट ऋणी संस्था (ग्रीनकार्ड) प्रदान गरिएको थियो । बैंकले विभिन्न सामुदायिक विद्यालयहरुमा गठन गरेका बाल क्लवका विद्यार्थीहरुबीच सञ्चालन गरेको वित्तीय साक्षरतामा सहकारीको भूमिका विषयक निवन्ध लेखन प्रतियोगितामा देशभरका सहभागी मध्ये द्वितिय हुने आदर्श माध्यमिक विद्यालय पोखरा–२७ कास्कीका छात्रा सदिक्षा सुवेदीलाई नगद १० हजार सहित पुरस्कृत गरिएको बैंकका सञ्चालक एवम् शिक्षा, तालिम तथा सम्मान उपसमितिका संयोजक माधवलाल देवकोटाले जानकारी दिए ।
Leave a comment