झापा । सहकारी संघ–संस्थाका ब्यवस्थापक कर्मचारीहरुको छाता संगठन कोअपरेटिभ्स म्यानेजर क्लब (सिएमसी) झापाको अध्यक्षमा पुनः खोमप्रसाद बगाले निर्वाचित भएका छन् । यसअघि तदर्थ समितिका समेत अध्यक्ष रहेका उनी मेची बहुउद्देश्यीय सहकारी संस्था दमकका प्रमुख कार्यकारी अधिकृत हुन् ।
क्लबको प्रथम अधिवेशनबाट दुईवर्षे कार्यकालका लागि निर्विरोध ११ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो । क्लवको उपाध्यक्षमा निलकण्ठ निरौला, महासचिव सन्तोषकुमार श्रेष्ठ र कोषाध्यक्ष तुलसा कुँवर निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा मानस सिटौला, लीलानाथ रेग्मी, कृष्ण ढुंगाना, विष्णुप्रसाद चुडाल, तिलकबहादुर कार्की, अनिता गुरागाईं र विवेक राई रहेका छन् ।
अधिवेशनकै अवसरमा बिर्तामोडमा सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धी विज्ञ सम्मिलित कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंको सहजीकरण गरेका थिए ।
गोष्ठीमा राष्ट्रिय सहकारी बैंक लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेती, सञ्चालक समिति सदस्य महेन्द्रकुमार गिरी, राष्ट्रिय सहकारी महासंघका सञ्चालक गणेश ढकाल, जिल्ला बचत संघका अध्यक्ष तुलाराम न्यौपाने लगायतले आफ्ना धारणा राखेका थिए ।
Leave a comment