विराटनगर । पछिल्लो समयमा सहकारीहरु सामाजिक काममा अग्रसर हुन थालेका छन् । सहकारीहरुले विभिन्न सामाजिक कामहरु गर्दै आएका छन् ।
यसैगरी विराटनगरमा रहेको मेगा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १२ औं स्थापना दिवसको अवसर पारेर भोजन सेवा कार्यक्रम आयोजना गरेको छ ।
सहकारीले विराटनगरमा रहेको मानसेवा आश्रममा रहेका ज्येष्ठ नागरिक तथा बालवालिकाहरुलाई बुधबार भोजन खुवाउने कार्यक्रम आयोजना गरेको हो ।
सहकारीको स्थापना दिवसको अवसर पारेर मानविय सेवा गर्ने उद्देश्यले आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई भोजना खुवाएको सहकारीका सचिव सन्तोष श्रेष्ठले जानकारी दिए ।
आश्रममा रहेका ६२ जना बढी ज्येष्ठ नागरिकहरुलाई भोजन गराएको उनको भनाई छ । त्यसैगरी सहकारीका अध्यक्ष राजु श्रेष्ठले समुदायमा आधारित सहकारीहरुले सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने बताउँदै मेघा सहकारीले विगतदेखि नै सामाजिक काम गर्दै आएको बताए ।
‘सहकारीमा स्थापना दिवस होटलमा मनाउनुभन्दा पनि आश्रममा रहेका श्रेष्ठ नागरिकहरुलाई सहयोग गर्नुपर्छ भन्ने उदेश्यले भोजन सेवा कार्यक्रमको आयोजना गरिएको हो’, उनले भने, ‘आफ्नो सदस्यको लागि त काम गर्नैपर्छ त्यो बाहेक सामाजिक क्षेत्रमा पनि योगदान दिनु सहकारीको उत्तरदायित्व हो ।’
त्यस्तै सहकारीका उपाध्यक्ष प्रबिण कुमार कार्कीले पछिल्लो समयमा सहकारीप्रति नकारात्मक धारणा बढ्दै गएकाले सामाजिक काम गरेर राम्रा सहकारी पनि छन् भन्ने सन्देश दिन खोजेको बताए ।
‘व्यक्तिका कारण सहकारीमा समस्या आएका छन्’, उनले भने, ‘कुनै अध्यक्षका कारण समस्यामा परेका छन्, कुनै कर्मचारी कुनै सञचालक समिति लगायत विविध कारणले सहकारीमा समस्या देखिएको छ । समुदायमा आधारित सहकारीमा कुनैपनि समस्या देखिएको छैन् । कस्ता सहकारीमा समस्या आएको छ भन्ने कुरा सदस्यहरुले पनि बुझ्न जरुरी छ ।’
केही सहकारीको बद्मासीका कारण सहकारीको निति नियम अनुसार सञ्चालन भएका सहकारीमा पनि समस्या आएको बताउँदै उनले समुदाय स्तरमा रहेर चलेका राम्रा सहकारी पनि छन् भन्ने सन्देश दिनका लागि पनि सामाजिक कार्यक्रमहरु आवश्यक पर्ने बताए ।कार्यक्रममा सहकारीका सञ्चालक समिति तथा सदस्यहरु र कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।
Leave a comment