गलत गर्नेलाई जोगाउने नभई कार्वाही गनुपर्ने

गलत गर्नेलाई जोगाउने नभई कार्वाही गनुपर्ने :: Sahakari Akhabar

चीना थापा, विराटनगर । १८ औं अध्यक्ष सचिव गोष्ठी २०८० मोरङको सुन्दरहरैचामा सम्पन्न भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको आयोजना तथा नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा भएको कार्यक्रममा पुनरुत्थान  लागि सामाजिक एकता अर्थतन्त्र तथा सहकारीमा स्वनियमन र सुशासन विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यपत्र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले अहिले देखिएको विकृति र समस्याको अन्त्यका निमित्त सहकारी अभियान लागिरहेको बताए ।

त्यसैगरी सहकारी विभागमा उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारीलाई सरकारले नियन्त्रण गर्ने कुरा राम्रो नभएको बताए । यदी हामीले सरकारको नियन्त्रण चाह्यो भने यो सहकारी अभियान प्रतिको प्रहार भएको उनको भनाई छ ।

‘सरकारसँग चाहना हुन्छ, सरकारले आशा जगाउने काम गर्ने हो’, उनले भने, ‘ तर सहकारीका सन्दर्भमा स्वनियमको तोकतान्त्रिक विधिबाट नियन्त्रण हुने संस्था हो । जसरी हामी यसको सिद्धान्तलाई आत्मसाथ गर्दै सोही अनुसार अभ्यास गर्दै आयौं सोही अनुसार हामी आफूलाई परिक्षण गछौं । त्यसैले अहिले सबैले आफूले आफैलाई म म भन्न जरुरी छ ।’

अर्थतन्त्र सबैसँग निर्भर भएका कारण सहकारी क्षेत्र मात्र राम्रो भन्ने नभई विश्वमा अर्थतन्त्रमा आउने उताव चढावले सहकारी क्षेत्रमा पनि समस्या आउने बताउँदै उपाध्याायले अर्थतन्त्रमा आएका उतावचडाव र समस्याकाबीचमा उठ्न सकेका सहकारीसंस्था नै वास्तविक सहकारी भएको बताए ।

उनले सरकारल सञ्चालन गरेको कोपोमिस कार्यक्रममा पनि सबै सहकारीलाई आवद्ध हुन आग्रह गरे । नेपालको सहकारी अभियानको अवस्थामा बारेमा अहिले यसै भनेर बताउन नसक्ने अवस्था भएकाले कोपोमिस मार्फत डाटा आएमा एकिन अवस्था थाहा हुने र निति नियम बनाउन पनि सजिलो हुने उनले बताए ।

त्यसैगरी कार्यक्रममा पूर्व संघिय सासंद तथा सहकारी अभियान्ता घनश्याम खतिवडाले आफू सासंद हुँदा पनि सहकारीका विषयलाई नै प्राथमिकतामा राखेर बोलेको बताए । अहिले सरकारले बढाएको करको दायरालाई घटाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा संघको संस्थापक पदाधिकारी तथा सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा संघको बारेमा बोल्दै बचत संघका अध्यक्ष प्रेमप्रकाश कोईरालाले पहिला सहकारीमा पनि विविधता रहेकाले एकै प्रकारको बनाउने काम गरेको बताए । सहकारी अभियानमा अग्रणी संघको रुपमा रहेकोले सहकारीको वोर्ड, लोगोहरु सबै एकै किसिमको  बनाउनुपर्छ भनेर बचत सघ मोरङले भूमिका खेलेको बताए ।

‘२०५० मा प्रारम्भिक भेला भएको भएपनि २०५१ मा विधिवत रुपमा दर्ता भएर सञ्चालन आएको मोरङ बचत संघ हो, पछि केन्द्रि बचत संघ स्थापना भयो, केन्द्रि बचत संघको दुई ओटा साधारण सभा मोरङ बचत संघ कै समन्वयमा भएको थियो’, उनले भने, ‘मोरङ बचत संघले सञ्चालन गरेको कार्यक्रमले कुनै न कुनै प्रभाव पारेको छ । पहिला अध्यक्ष र सचिव दुवैलाई सहभागि गराएर कार्यक्रम गर्ने भएता पनि अहिले धेरै सदस्य भएकाले अध्यक्ष वा सचिवलाई सहभागि गराउने गरेको हो ।

संघले तरलता व्यवस्थापन कोष १० बर्ष अगाडि देखि सञ्चालन गर्दै आएको बताउँदै कोईरालाले अहिले निकै प्रभावकारी भएको र बचत संघमा आवद्ध कुनै पनि सहकारीले तरलताको समस्या भोग्नुनपरेको उनले बताए । तरलता व्यवस्थापन कोष अहिले संघको दिगो र जीवन्त कार्यक्रमको रुपमा अगाडि बढेको पनि उनले जानकारी दिए ।

सहकारी एकिकरणको सुरुवात पनि बचत संघ मोरङले नै सुरुवात गरेको उनले बताए । अहिले संघले साथी संघ प्रवर्दन कार्यक्रम पनि सुरुवात गरेको कोईरालाले बताए । यसमा अन्य जिल्लाका बचत संघका कसैले सहयोग मागे वा नमागेपनि बर्षको एक पटक अन्तर जिल्लाका बचत संघले गरेका काम सुन्ने र आफ्ने पनि सुनाउने कार्यक्रम रहने उनले जानकारी दिए ।

त्यसैगरी कार्यक्रममा बचत संघका बरिष्ठ उपाध्यक्ष एकराज निरौलाले संघको बर्तमान अवस्थाको र कारोबार बारेमा जानकारी गराएका थिए । उनले कार्यक्रममा प्रस्तुत गरेको प्रतिवेदन अनुसार बचत संघमा २६७ वटा सहकारी आवद्ध भएका छन् ।

जसको शेयर पुँजी १ करोड ४२ लाख ५४ हजार ५ सय रुपैया रहेको छ भने जगेडा कोष ५० लाख ३० हजार ४६३ रुपैया रहेको छ । त्यसैगरी ऋण लगानी ८ करोड ८० लाख ७२ हजार ११५ रुपैया रहेको छ भने स्थिर सम्पति ३२ लाख २२ हजार ७१० रुपैया रहेको छ । अन्य कोषमा ३३ लाख १५ हजार ७६० रुपैया रहेको छ ।

त्यस्तै संघमा आवद्ध सहकारीहरु मध्ये ५०  करोडभन्दा बढी कारोबार गर्ने ५ वटा रहेका छन् भने ३० देखि ५० करोडसम्म कारोबार गर्ने ४ वटा रहेका छन् । २० देखि ३० करोडसम्म कारोबार गर्ने ९ वटा रहेका छन् भने १० देखि २० करोडसम्मको कारोबार गर्ने ३७ वटा रहेका छन् । ५ देखि  १० करोडसम्म कारोबार गर्ने २८ वटा रहेका छन् भने १ करोड देखि ५ करोडसम्म कारोबार गर्ने ६४ वटा रहेका छन् भने १ करोडसम्म कारोबार गर्ने १९ वटा रहेका छन् ।

उपाध्यक्ष निरौलाद्धारा प्रस्तुत प्रतिवेदन अनुसार बचत संघमा आवद्ध ७९ वटा सहकारी संस्थाको आफ्नै भवन रहेको छ । सफ्टयोयरबाट कारोबार गर्ने सहकारी ८४ वटा रहेका छन् । शेयर सदस्य २ लाख १२ हजार १२६ जना रहेका छन् ।

जसमा पुरुष ८७ हजार १ सय छन् भने महिला १ लाख २५ हजार २६ जना रहेका छन् । कर्मचारी ८१८ जना रहेका छन् । जसमा महिला ४९२ जना र पुरुष ३२६ जना रहेका छन् । कुल शेयर पुँजी २ अर्व १० करोड छ भने जम्मा कोष हिसाब १ अर्व ९२ करोड रहेको छ । बचत निक्षेप १२ अर्व ३५ करोड रहेको छ भने ऋण लगानी १३ अर्व १४ करोड रहेको छ । स्थीर सम्पति ५३ करोड रहेको छ भने  कुल सम्पति १६ अर्व ५० करोड रहेको छ ।

बचत संघमा आवद्ध सहकारी मध्ये एक्सेस कार्यक्रममा ११ वटा सहकारी आवद्ध भएकामा अहिलेसम्म ३ वटाले ब्राण्ड पाईसकेका छन् भने प्रोवेशनमा १३ वटा सहकारी आवद्ध भएकामा ४ वटाले  ब्राण्ड पाईसकेको र कब्र्स कार्यक्रममा ३७ वटा सहकारी आवद्ध भएको पनि उपाध्यक्ष निरौलाले जानकारी दिए ।

कार्यक्रममा बचत संघमा आवद्ध सहकारीका अध्यक्ष तथा सचिवहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै बचत संघकी महिला उपाध्यक्ष सिता लामिछानेले सहकारी क्षेत्रमा महिलाको सहभागिता बढी भएपनि नेतृत्व तहमा कम भएको बताईन ।



Leave a comment