‘सहकारीका समस्या समाधान गर्न सरोकारवालाहरु एकतावद्ध होऔ’      

‘सहकारीका समस्या समाधान गर्न सरोकारवालाहरु एकतावद्ध होऔ’       :: Sahakari Akhabar

बागलुङ । बागलुङमा पछिल्लो समय दुईवटा सहकारीमा आएको समस्यालाई समाधान गरी सहकारीको साख जोगाउनका लागि सबै सरोकारवालाहरु एकठाउँमा उभिएका छन् । दर्ता तथा निमयन गर्ने, शान्ति सुरक्षा प्रदान गर्ने, सहजीकरण गर्ने, समन्वय गर्ने, सञ्चालन गर्ने देखि सहकारीका कारण पीडित बनेकाहरुले एउटै मञ्चबाट शिव शिखर र इमेज सहकारीमा आएको समस्या समाधान गर्न ऐक्यवद्धा प्रकट गरेका छन् ।

सहकारीमा समस्या आउनुको कारणका विषयमा व्यापक चर्चा भयो, सहकारीका सञ्चालकहरुको बद्मासी सरोकारवालाहरुको विश्वास र वेवास्ता दुवैका कारण सहकारीमा वचत गरेका धेरै वचतकर्ताहरु पीडित बनेका छन्, अब ति पीडितहरुलाई न्याय दिन र स्थानीय स्तरमा सञ्चालित सहकारीहरुलाई थप प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि सबै सरोकारवालाहरुका बीचमा समन्वय र सहकार्य गरेर अगाडि बढ्ने कार्यक्रमका सहभागीहरुले बताए ।

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराको आयोजना तथा बागलुङ नगरपालिको समन्वयमा शुक्रवार बागलुङमा आयोजित सहकारी संस्थाका अध्यक्ष एवं सरोकारवालाहरुसंगको समन्वय तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले समस्या आइसकेपछि समाधानका लागि जुट्न पर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले सहकारीलाई सहकारीको मर्म, भावना र सिद्धान्त अनुसार सञ्चालन गर्न नसकेका कारण सहकारी क्षेत्रमा समस्या आएको बताए। उनले सहकारी सदस्यहरुको सहभागितामा सञ्चालन हुने भएकाले सदस्यहरुको सहभागितामा सबै सहकारीको स्वास्थ्य जाँचका लागि सहकारीहरुले आफ्नो एक्सरे आफै गर्न सुझाव दिए ।

जनप्रतिनिधिले सञ्चालन गरेकै सहकारीले वचतकर्ताको रकम जोखिममा पारेको विषयले आम जनतामा नैरास्यता प्रदान गरेको भन्दै थापाले सहकारीलाई उपयोग गरेर आफ्नो निजी सम्पत्ती जोड्ने प्रवृति भएका केही सहकारीका सञ्चालकहरुका कारण सहकारीको मर्म, भावना र सिद्धान्त अनुसार आफ्ना सदस्यहरुसंग मात्रै कारोबार गर्ने सहकारीहरुलाई पनि समस्या सिर्जना हुन सक्ने भएकाले सचेत रहन उनले आव्हान गरे ।

बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले जनताको विश्वास बेच्ने मानिसले जुनसुकै कुरा पनि बेच्न सक्ने भएकाले सचेत बन्नु पर्नेमा जोड दिए । बागलुङ नगरपालिकाका नगर उप–प्रमुख राजु खड्काले बागलुङ नगरपालिका नियमन क्षेत्र भित्रका सहकारीहरु ठिक ढंगले सञ्चालन भएको बताए ।

जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रागंत बरालले इमेज सहकारीबाट पीडित भएकाहरुलाई तत्काल जाहेरी दर्ता गर्न आव्हान गरे । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी, नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्माले सहकारीमा आएको समस्या समाधानका लागि अभियानको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।



Leave a comment