किसानलाई व्यवसायीक बनाउदै साना किसान कृषि सहकारी सलाङ : जन्मदेखि मृत्युसम्मको सेवा 

किसानलाई व्यवसायीक बनाउदै साना किसान कृषि सहकारी सलाङ : जन्मदेखि मृत्युसम्मको सेवा  :: Sahakari Akhabar

काठमाडौं । तपाई सहकारी संस्थाको सदस्य हुनुहुन्छ ? सहकारीमा कारोबार गर्नुहुन्छ ? यदि सहकारीको सदस्य भएर कारोबार गरिरहनुभएको छ भने सम्झनुहोस् त तपाईलाई सहकारीले के–के सेवा दिइरहेको छ ? संस्थाको उद्देश्य र कारोबार प्रकृतिका आधारमा बचत, ऋण, लाभांस, मल, बीउबिजन, तालिम, भ्रमण जस्ता सेवा पाइरहनुभएको होला ।

तर, आम सहकारीको भन्दा अलग पहिचाहन बनाउन सफल छ, साना किसान कृषि सहकारी संस्था सलाङ धादिङ–जो आफ्ना सदस्यहरुलाई जन्मदेखि मृत्युसम्मका लागि आवश्यक पर्ने सबै सेवा सुविधाहरु उपलब्ध गराउनुपर्छ भन्ने अवधारणामा अघि बढिरहेको छ । त्यसैले त सहकारी संस्था, जसले सदस्य सुत्केरी हुँदा सुत्केरीखर्च उपलब्ध गराउँछ भने बृद्धहरुलाई भत्ता, उपचार खर्चदेखि मृत्युपछि काजकिरिया खर्च र ऋण मिनाहासम्म गर्दै आएको छ ।

नाम नै साना किसान कृषि भएकाले संस्था, किसान सदस्यलाई व्यवसायीक बनाउदै उनीहरुको आर्थिक तथा सामाजिक विकासमा समेत उत्तिकै कटिवद्ध । सहकारीले किसानलाई व्यवसायीक कृषिका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउछ । यस्तै आवश्यक पर्ने सम्पूर्ण सामाग्रीदेखि मल विउबिजन, कृषि औजारसम्म आफ्नै पसलबाटै उपलब्ध गराउछ ।

यस्तै किसानले उत्पादन गरेका वस्तुहरुको वजारको ग्यारेन्टी संस्थाले नै गरेको छ भने किसानलाई उत्पादनको आधारमा अनुदान समेत दिदै आएको छ । जसले गर्दा गाउँघरमा निर्वाहमुखी रुपमा खेती किसानी तथा पशुपालन गर्दै आएका किसान व्यवसायीक बन्दै गएका छन् । संस्थाका अध्यक्ष डिल्ली प्रसाद पाठक सहकारीले सदस्यलाई जन्मदेखि मृत्युसम्मको सबै सेवा उपलब्ध गराउनुपर्छ भन्ने अवधारणा अनुसार काम गरिरहेको बताउछन् ।

त्यसैका लागि संस्थाबाट बच्चा जन्मदा पोषण भत्ता, वालक अवस्थामा वित्तीय शिक्षा र संरक्षणका कार्यक्रम, युवालाई व्यवसायीक तालिम, शिक्षा र उद्यम गर्नका लागि सहुलियत ब्याजदरमा कर्जा साथै बृद्धअवस्थामा सम्मान, भत्ता र विरामी हुँदा उपचार खर्च उपलब्ध हुन्छ । यसैगरी सदस्यको मरणोपरान्त किरिया खर्चका साथै सदस्यको नाममा रहेको ऋण मिनाहा हुने व्यवस्था समेत सहकारीले गरेको छ ।

२ लाखबाट ३० करोड

कृषि बिकास बैंकबाट २०५१ सालमा साना किसान विकास आयोजनाको रुपमा स्थापित भएको संस्था २०५५ सालबाट भने सहकारीको रुपमा दर्ता भइ स्वायत्त रुपमा संचालन हुन थालेको हो । हाल संस्थाको कार्यक्षेत्र धादिङको सिद्धलेक गाउपालिका र बेनिघाट रोराङ गाउपालिकाका ३, ४ र ५ नं वडा रहेका छन् ।

आयोजनका रुपमा सुरु हुँदा संस्थामा किसानहरुको २ लाख ९ हजार रुपैयाँ आन्तरिक पुँजी र कृषि विकास बैंकको २३ लाख ६८ हजार ऋणबाट सुरु भएको थियो । अहिले संस्थामा आन्तरिक पुँजी मात्र ३० करोड भन्दा बढी जम्मा भइसकेको छ ।

२०८० बैशाख मसान्तसम्ममा ३ सय ७ वटा समूह रहेको संस्थामा सदस्यको संख्या एक हजार ७२५ जना पुगेको छ । त्यसमध्ये महिलाको संख्या मात्र १ हजार ७२ रहेको छ । संस्थाले आन्तरिक र बाह्य गरी ४६ करोड ५७ लाख रुपैयाँ ऋण परिचालन गरेको छ ।

साना किसान सहकारी किसानको बैंक भएकाले यसमा निजी क्षेत्रका बैंकको भन्दा बढी विश्वास रहेको संस्थाका व्यवस्थापक गोपाल सिलवाल बताउछन् । ‘हामीले निजी बैंकभन्दा स्तरिय र विश्वसनिय सेवा दिएकाले किसानको विश्वास सहकारीमा छ’ उनले भने, ‘जसको कारण बैंकमा जम्मा गरेको पैसा झिकेर सहकारीमा ल्याउने सदस्य पनि हुनुहुन्छ ।’

सहकारीमा कारोबारको आधारमा पाउने बोनस र अप्ठेरो अवस्थामा घरमै गएर बचत फिर्ता गर्ने सुविधा र सहकारीको सदस्य भएवापत पाउने विभिन्न सेवाहरुका कारण बैंकले भन्दा सहकारीले किसानको मन जितेको उनको भनाइ छ ।

सहकारीप्रति सर्वसाधारणलाई आकर्षित गर्न र कारोबार बढाउन संस्थाले बचत बृद्धि र वित्तीय साक्षरताका कार्यक्रमहरु संचालन गर्दै आएको छ । समय अनुसारका र सदस्यको मागका आधारमा ल्याउने बचत योजना र कार्यक्रमहरुले आकर्षित गरिरहेको छ । संस्थाको ‘बचत नारीको, उपहार साडीको’ योजनामा मात्र १२ सय भन्दा बढी बचत खाता खुलेका थिए ।

यस्तै चाडपर्वमा मात्र झिक्न पाउने गरी सुरु गरिएको ‘चाडपर्व बचत खाता’ मा मात्र २ करोड भन्दा बढि पैसा जम्मा भइसकेको छ । विद्यार्थीसँग साना किसान कार्यक्रमले विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गर्दा अभिभावकलाई बचत गर्न प्रेरीत गरेको व्यवस्थापक सिलवालको अनुभव छ ।

बीउदेखि बजारसम्मको सुविधा

साना किसान सहकारी संस्था किसानलाई वित्तीय सेवा मात्र दिनमा सिमित छैन । संस्थाले सहुलियत दरको वित्तीय सेवाका साथसाथै किसानलाई आवश्यक सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । वित्तीय सेवामा पनि संस्थाको ७० प्रतिशत ऋण कृषिमा लगानी भएको छ । ३० प्रतिशत मात्र गैरकृषिमा लगानी भएको छ ।

संस्थाले धादिङको सलाङ र बुङचुङमा सहकारी पसल मार्फत आफ्ना सदस्यहरुलाई आवश्यक सम्पूर्ण सेवा दिदै आएको छ । सहकारी पसलमार्फत सदस्यलाई आवश्यक पर्ने मल, बिउ, विषादी, कृषि औजार सहूलियत दरमा उपलब्ध गराउदै आएको छ ।

संघिय सरकार, प्रदेश सरकारका साथै साना किसान लघुवित्त वित्तीय संस्थाबाट ल्याएको सहूलियत ऋणबाट सदस्यलाई वित्तीय पहुँच पुर्याएको छ । यसैगरी संस्थाले व्यवसायीक कृषिका तालिम संचालन गरी किसानलाई व्यवसायीक बनाउन सहयोग गर्ने काम गरेको छ ।

संस्था किसानले उत्पादन गरेका वस्तुहरुको बजारीकरणका लागि उत्तिकै सक्रिय छ । किसानलाई उत्पादन बढाउनका लागि उत्प्रेरीत गर्ने उद्देश्यले उत्पादनमा अनुदान दिदै आएको संस्थाले उत्पादित सामान बिक्रीको ग्यारेन्टी पनि गरेको छ ।

किसानलाई तरकारीमा प्रतिकेजी २ रुपैयाँ, दूधमा प्रतिलिटर ५ रुपैयाँ, बोइलर कुखुरालाई प्रतिकेजी एक रुपैयाँ, लोकल कुखुरालाई प्रतिकेजी २ रुपैयाँ र खसीको मासुमा प्रतिकेजी २० रुपैयाँ अनुदान दिने गरेको छ ।सदस्यको उत्पादन बिक्री नभएको अवस्थामा संस्थाको पसलमा ल्याएमा न्यूनतम प्रतिकेजी १० रुपैयाँमा खरिदको ग्यारेन्टी गरेको छ ।

जसका कारण किसानको उत्पादन खेतबारीमा कुहिने अवस्थामा थोरै राहत भएको छ । यस्तै संस्थाले संचालन गरेको पशुधन सुरक्षण कार्यक्रमबाट पनि किसानले राहत पाएका छन् । गत आर्थिक वर्षमा मात्र संस्थाले सदस्यहरुबाट २१ लाख केजी तरकारी संकलन गरी एक वर्षमा १५ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । यसैगरी सहकारी पसलबाट संस्थाले ६ करोडको चामल किसानहरुलाई बिक्री गरेको छ ।

ग्रामीण क्षेत्रमा निर्वाहमुखी ढंगले मात्र खेती किसानी गर्दै आएका किसानहरु सहकारी अभियानको कारण विस्तारै व्यवसायीक बन्न थालेका छन् । हिजो घरमा एक दुई वटा बाख्रा पाल्ने किसानको घरमा आज व्यवस्थित र आधुनिक खोरसहित बाख्रापालन छ । यस्तै तरकारी खेती, भैसीपालन, गाइपालनलगायतका काम व्यवसायीक रुपमा हुन थालेको छ ।

‘राजमार्गले छोएको ठाउँ भएपनि यहाँका किसानलाई हिजो आफ्नो आम्दानीबाट वर्षभरी खान पनि पुग्दैनथ्यो’ व्यवस्थापक सिलवालले भने, ‘सहकारीका कारण कृषि पेशा व्यवसायीकरण बन्दै गएको छ, किसानको आयआर्जन बढेको छ र उनीहरुको आर्थिक अवस्था पनि सुधारिएको छ ।’

पिछडिएको वर्ग र पेशालाई संरक्षण

सहकारीको आफ्नो कार्यक्षेत्रका सबै पेशा, वर्ग र जातजातीका व्यक्तिहरुलाई समेट्ने योजना सहित काम गरिरहेको छ  । यस्तै कार्यक्षेत्र भित्रका पिछडिएका वर्ग र पेशाको संरक्षणको काममा पनि संस्था अग्रसर देखिन्छ ।

संस्थाले गन्धर्व जातीको सारंगी पेशालाई संरक्षण गर्दै यसलाई व्यवसायीक बनाउन काम गरिरहेको छ । गान्धर्वहरुलाई ब्यवसायीक रुपमा सारंङगी निर्माण गरी बजारीकरण गर्नका लागि संस्थाले सहुलियत ब्याजदरमा लगानी गरिरहेको छ ।

दर्जन पुरस्कार

उत्कृष्ट सेवाबाट सदस्यहरुको मन जित्दै आएको संस्थाले सरकारी तथा निजी क्षेत्रका दर्जन बढी सम्मान तथा पुरस्कार जितिसकेको छ । संस्थाले लघुवित्त सेवा विस्तार प्रतिस्पर्धामा विजयी भई जिटिजेडबाट ८० हजार प्राप्त गरेको छ ।

यस्तै राष्ट्रिय सहकारी संघबाट उत्कृष्ट सहकारी पुरस्कार-२०६६, आव २०६१ / ०६२ को कार्य सम्पादनमा उत्कृष्ट भई साना किसान वित्तीय संस्थाबाट कदरपत्र, आव २०६४ / ०६५ मा उत्कृष्ट कार्यगरे बापत डिभिजन कार्यालय धादिङबाट प्रशंसा पत्र पाएको छ ।

यसैगरी आव २०६५ / ०६६ र २०६६ / ०६७ मा जिल्ला स्तरमा प्रथम भई कृषि संघ धादिङबाट प्रथम पुरस्कार, आव २०६५ / ०६६ र २०६७ / ०६८ मा इलाकास्तरमा उत्कृष्ट भई साना किसान वित्तीय संस्था इलाका गजुरीबाट प्रथम पुरुस्कार र आव ०६८ / ०६९ मा उत्कृष्ट व्यवसाय संचालन राष्ट्रिय पुरस्कार प्राप्त गरेको संस्थाले जनाएको छ । यस्तै उत्कृट काम गरेवापत संस्थाका प्रवन्धकले समेत राष्ट्रिय उत्कृष्ठ व्यवस्थापन पुरस्कार प्राप्त गरेका छन् ।



Leave a comment