बागलुङ । बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले आफ्ना सदस्यहरुलाई जागरुक बनाउनका लागि सहकारीहरुले वित्तीय साक्षरता अभियानलाई थप प्रभावकारी बनाउनुु पर्ने बताएकी छन् । जिल्ला सहकारी संघ बागलुङ र विषयगत संघहरुका तर्फबाट सहकारी सुधारका लागि सरकारले गर्नु पर्ने १३ बुदे माग बुझेपछि सहकारीकर्मीहरुसंग कुरा गर्दै उनले सुझाव दिएकी हुन् ।
नियमसंगत रुपमा नचलेका सहकारीका कारण नीतिगत रुपमा सञ्चालन भएका, शेयर सदस्यहरुसंग मात्रै कारोबार गरेका र सहकारीको मर्म र भावना आत्मसात गरेका सहकारीहरुमा पनि समस्या बढ्दै गएको उनको भनाइ छ । यस्तो बेलामा नीतिगत रुपमा सञ्चालनमा रहेका सहकारीहरुले आफ्ना सदस्यहरुलाई जागरुक बनाउनका लागि वित्तीय साक्षरता लगायत सचेतना अभियानलाई थप प्रभावकारी बनाउनु पर्छ ।
बागलुङमा सञ्चालित २ वटा सहकारीले वचतकर्ताहरुको ठुलो रकम जोखिममा पारिदिएका कारण आम समुदायमा सबै सहकारीका बारेमा गलत धारणाको विकास भएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई १३ बुदे माग पत्र बुझाउदै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)ले सहकारीमा देखिएका समस्या समाधानका लागि सहकारी ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताइन् ।
जिल्ला सहकारी संघका पदाधिकारी सदस्यहरु, विषयगत सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत सहकारीकर्मीहरुको टोलीले राष्ट्रिय सहकारी महासंघले अगाडि सारेका १३ बुदे माग प्रमुख जिल्ला अधिकारी श्रेष्ठ मार्फत संघीय सरकारलाई पठाएको जिल्ला सहकारी संघ बागलुङका सचिव तेज प्रसाद शर्माले जानकारी दिए ।
Leave a comment