बागलुङ । जिल्ला सहकारी संघ बागलुङले जिल्लामा सञ्चालित सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई सदस्य केन्द्रीत सचेतना अभियान सञ्चालन गर्नका लागि आव्हान गरेको छ । जिल्ला सहकारी संघका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षतामा शनिवार सम्पन्न वैठकले सहकारी संस्थाहरुमा रहेको सहकारी शिक्षा कोषलाई परिचालन गरी सदस्यहरुलाई सहकारी शिक्षा लगायत सचेतनाका कार्यक्रम सञ्चालन गर्न आव्हान गरेको हो ।
यतिबेला केही सहकारीहरुमा देखिएको समस्याका कारण समग्र सहकारी अभियानप्रति नकारात्मक धारणा बढ्दै गएको छ, सबै सहकारी एउटै हुन्, सबै सहकारीले गलत गरेका छन् भन्ने तरिकाले प्रचार भइरहेको अवस्थामा सबै सहकारीहरुले आफ्ना सदस्यहरुलाई यस्ता खाले गलत प्रचारका बारेमा सचेत बनाउनका लागि कार्यक्रम सञ्चालन गर्न आव्हान गरिएको संघका अध्यक्ष जिसीले जानकारी दिइन ।
यसैबीच संघको बैठकले राष्ट्रिय सहकारी महासंघद्वारा गठित सहकारी समस्या सहजीकरण कार्यदलको आव्हानमा भएको आन्दोलनमा ऐक्यवद्धता जनाउने निर्णय गरेको छ । कार्यदलको आव्हानमा सञ्चालित आन्दोलनलाई जिल्लामा सञ्चालनका लागि जिल्ला सहकारी संघका अध्यक्ष जिसीको संयोकत्वमा जिल्ला सहकारी संघका पदाधिकारी सदस्यहरु र विषयगत संघको प्रतिनिधित्व हुने गरी जिल्ला स्तरीय सहकारी समस्या समाधान सहजीकरण संयन्त्र गठन गरिएको जिल्ला सहकारी संघका सचिव तेजप्रसाद शर्माले जानकारी दिए ।
आन्दोलनका कार्यक्रम अन्तरगत जेठ १४ गते जिल्ला प्रशासन कार्यालयमा १३ बुदे माग पत्र बुझाउने कार्यक्रम रहेको सचिव शर्माले बताउनुभयो । यस्तै जिल्ला सहकारी संघले सहकारीबाट ऋण लगेर ऋण नतिरेको भन्दै केही सहकारीहरुले लिखित र केहीले मौखिक रुपमा संघमा जानकारी गराएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।
सदस्यहरुले समयमा ऋण नतिरेका कारण सहज रुपमा संस्था सञ्चालनमा समस्या भएको भन्दै सहकारीहरुले जिल्ला सहकारी संघ र नियमनकारी निकायमा निवेदन दिन थालेका छन् । सहकारीमा वचतको प्रेसर परेको र ऋण नउठेका कारण समस्या सिर्जना हुन थालेको जनाइएको छ ।
Leave a comment