बाँके । जिल्लाका आठ वटा साना किसान कृषि सहकारी एकीकरण भएका छन् । संस्थालाई बलियो र सेवा प्रभावकारी बनाउने उद्देश्यले बाँकेका विभिन्न स्थानीय तहमा रहेका आठवटा साना किसान कृषि सहकारी संस्थाहरू एकीकरण भएका हुन् ।
सोमबार साना किसान कृषि सहकारी संस्था राप्तीसोनारी, सिर्जनशिल साना किसान कृषि सहकारी संस्था बैजनाथ, महिला साना किसान कृषि सहकारी संस्था बैजनाथ, सुर्यलक्ष्मी साना किसान कृषि सहकारी संस्था राप्तीसोनारी, सौगात साना किसान कृषि सहकारी संस्था राप्तीसोनारी, नवज्योती साना किसान कृषि सहकारी संस्था खजुरा, हातेमालो साना किसान कृषि सहकारी संस्था खजुरा, आपसी मेलमिलाप साना किसान कृषि सहकारी संस्था र जानकी एकीकरण भएका हुन् ।
एकीकरण पछि सहकारीको नाम अष्टम साना किसान कृषि सहकारी संस्था राखिएको छ । समान उद्देश्यले काम गर्ने सहकारी एकीकरण हुँदा त्यसले आन्तरिक व्यवस्थापन खर्च कम हुने, सदस्यहरूले लाभ र सेवा बढी पाउने उनीहरुको भनाइ छ ।
महासंघले आगामी १० बर्षमा सहकारी एकीकरण गरेर १० हजारमा झार्ने लक्ष्य लिएको छ, जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले भने, ‘बाँकेका आठ सहकारी एकीकरण हुँदा त्यसले एउटा सकारात्मक सन्देश दिएको छ ।’ धेरै सहकारी हुनुभन्दा समान प्रकृतिका सहकारी एकीकरणले सेवामा सरलीकरण हुने, सहकारीको पूँजी वृद्धि हुँदा ऋण लगानी बढ्ने, शेयर सदस्यले लाभांस बढी पाउने बताए । ‘एकीकरणले कार्यालयको व्यवस्थापन खर्च समेत घट्छ’, उनले भने ।
जिल्लामा पछिल्लो समय केही सहकारीले बचत संकलन छाडिसकेको छ भने केही बन्द गरेर सम्पर्क विहीन छन् त केहीले ऋण लगानी उठाउँदै बिस्तारै बचत फिर्ता गरिरहेका छन् । सहकारीमा देखिएको समस्याले लामो समय लगाएर आर्जन गरेको विश्वास गुम्दै गएको छ । मानिसहरूले दैनिक बचत समेत गर्न डराएको र छाडेको बचतकर्ता उनी बताउँछन् ।
Leave a comment