दुग्ध संघको स्थापना दिवस : मानवसेवा आश्रममा दुग्धजन्य पदार्थ वितरण

दुग्ध संघको स्थापना दिवस : मानवसेवा आश्रममा दुग्धजन्य पदार्थ वितरण :: Sahakari Akhabar

बागलुङ । बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको २२ औ स्थापना दिवसको अवसर पारेर सोमबार मानवसेवा आश्रम बागलुङमा दुग्धजन्य पदार्थ, खाद्यान्न र सरसफाई सामग्री हस्तान्तरण गरिएको छ । संघको स्थापना दिवसका अवसरमा संघमा उत्पादित दुध, घिउ लगायत खाद्यान्न सहित सरसफाईका सामग्री हस्तान्तरण गरिएको बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक दिपक गौतमले जानकारी दिए ।

दुग्धजन्य पदार्थ, खाद्यान्न तथा सरसफाई सामग्री हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले दुग्ध सहकारी संघले स्थापना दिवसमा सामाजिक उत्तरदायित्व बहन गरेको बताइन् ।

शेयर सदस्य कृषकहरुलाई उत्पादनमा क्रियाशिल बनाउने, सहकारी संस्थाहरुले दुध संकलन देखि बजारसम्म पुर्याउने तथा संघले बजारीकरण र प्रशोधन गरेर सहकारीको नमुना काम संघमार्फत भइरहेको उनको भनाइ थियो । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न र आयात कम गर्नका लागि संघले गरेको काम सह्रानिय भएको भन्दै उनले अन्य संघ संस्था लगायत स्थानीय तहले स्थानीय उत्पादन प्रवद्र्धनका क्षेत्रमा काम गर्नु बताए । कार्यक्रममा मानव सेवा आश्रमका विपना तामाङले मानव सेवा आश्रमका बारेमा जानकारी गराउदै दुग्ध सघंको सहयोगका लागि धन्यवाद ज्ञापन गरेको थियो ।

बागलुङ दुग्ध उत्पादक सहकारी संघमा १५ वटा दुग्ध उत्पादक सहकारी संस्थाहरु आवद्ध रहेका छन् । १५ वटा सहकारी संस्थाका करिव २ हजार जना कृषकले दैनिक दुध उत्पादन गरी संस्थामा पठाउने र संस्थाले संघमा पठाउने गरेका छन् ।

दुग्ध उत्पादक सहकारी संघले दुध संकलन, बजारीकरण र प्रशोधन गर्दै आएको छ । दुग्ध उत्पादक कृषकहरुका पशुको बिमा, स्वास्थ्य परिक्षण सहित औषधी वितरण गर्नुका साथै वचत तथा ऋणको कारोबार गरी सहज रुपमा उत्पादक कृषकहरुलाई ऋण लगानी गर्दै आएको छ ।

संघले आर्थिक वर्ष २०७८/ ०७९ मा ६ करोड ११ लाख ६८ हजार ३ सय १६ रुपैयाको दुध खरिद गरी ७ करोड ८४ लाख ४७ हजार ५ सय ५६ रुपैया बराबरको दुध तथा दुग्धजन्य पदार्थ विक्री गरेको छ । संघले १५ वटा दुग्ध सहकारी संस्थाका शेयर सदस्यहरुले उत्पादन गरेको दैनिक करिव ३ हजार लिटर दुध विक्री वितरण गर्दै आएको संघका अध्यक्ष दिपक गौतमले जानकारी दिए । संघले दुध विक्री गर्नुका साथै दुध प्रशोधन गरी छुर्पी लगायत विभिन्न ९ प्रकारका दुग्धजन्य पदार्थ विक्री गर्दै आएको छ ।



Leave a comment