बागलुङका सहकारीकर्मी भन्छन् : ‘कृषि क्षेत्र सरकारको प्राथमिकतामा परेन’    

बागलुङका सहकारीकर्मी भन्छन् : ‘कृषि क्षेत्र सरकारको प्राथमिकतामा परेन’     :: Sahakari Akhabar

बागलुङ । बागलुङका सहकारीकर्मीहरुले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण पक्ष कृषि क्षेत्रलाई सरकारले कहिल्यै पनि प्राथमिकतामा राख्न नसकेको गुनासो गरेका छन् ।

राष्ट्रिय किसान आयोगले शुक्रवार सहकारीकर्मीसंग गरेको छलफलमा सहभागीहरुले कृषि क्षेत्रलाई प्रवर्धन गर्ने विषयमा राज्यको चासो नदेखिएको गुनासो गरेका हुन् ।

कृषि क्षेत्रमा लागेका कृषकहरुलाई प्राविधिक ज्ञान लगायत मल विउको व्यवस्थापन गर्ने देखि किसानहरुले दुख गरेर उत्पादन गरेका वस्तुहरुको बजारीकरणमा सरकारले ध्यान नदिएको उनीहरुको गुनासो छ ।

राष्ट्रिय किसान आयोगका कन्सल्टेण्ट पुष्पराज शाहीले कृषि क्षेत्रका समस्याको पहिचान गर्नुका साथै कृषि सहकारीहरुको समस्या समाधानमा सहजीकरण गर्नका लागि आयोगले देशव्यापी रुपमा अभियान सञ्चालन गरेको जानकारी गराए ।

कृषि सहकारीहरुलाई व्यवस्थित बनाउने विषयमा नेटवर्क विस्तार लगायत समन्वकारी भूमिका निर्वाह गर्न आयोग तयार रहेको भन्दै शाहीले कृषि सहकारी संघहरुको सक्रियता आवश्यक रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु), कृषि सहकारी संघका अध्यक्ष नर बहादुर थापा, सूचना तथा सञ्चार सहकारी संघका अध्यक्ष खिम बहादुर कार्कीको सहभागीता रहेको थियो ।

त्यसैगरी कृषि सहकारी संघका सल्लाहकार मोहनलाल शर्मा, सचिव गंगा बहादुर थापा, जिल्ला सहकारी संघका सञ्चालक जगन्नाथ सापकोटा लगायत कृषि सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले कृषि क्षेत्रको प्रवद्र्धनका लागि आयोगले सहजीकरण गरेर प्रभावकारी काम गर्नु पर्नेमा जोड दिए ।



Leave a comment