महानगरले कर लिने मात्र नभई सहकारी प्रवर्धनको पनि काम गर्छ

महानगरले कर लिने मात्र नभई सहकारी प्रवर्धनको पनि काम गर्छ :: Sahakari Akhabar

चीना थापा, विराटनगर । विराटनगर महानगरपालिकाका कार्यपालिका सदस्य तथा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले महानगरले सहकारीबाट राजस्व उठाउने मात्र नभएर सहयोग, प्रवर्धन तथा विकासका क्षेत्रमा काम पनि गर्ने बताएका छन् ।

सहकारी तथा गरिबी निवारण सम्वन्धि व्यवस्थापन सूचना प्रणाली कोपोमिस तालिमको उद्घाटन कार्यक्रममा बोल्दै घिमिरेले महानगरले कुनै पनि सहकारीलाइ विभेद नगर्ने बताउँदै महानगरका सहकारीलाई समान रुपमा अगाडि बढाउने बताए ।

घिमिरेले भने ‘सहकारीमा बेथिति आयो, कति सहकारीले जनताको पैसा घोटला भयो भन्ने गुनासो आएको छ । कति सहकारी झोलामा छन् । त्यसैले अब  हामीले महानगरका सहकारीलाई सशक्त रुपमा अगाडि बढाउनुपर्नेछ ।’

सहकारी शाखामा जनशक्ति कम भएका कारण काम हुन नसकेकाले अहिले कर्मचारी थपिएको पनि उनले जानकारी दिए । अहिले सहकारी शाखामा ४ जना कर्मचारी रहेका छन् । महानगरका १५ वटा सहकारी भर्खरै खारेज भएकाले अब संख्या घटाउने र गुणस्तर बढाएर सहकारी संचालन गर्नुपर्ने उनले बताए ।

‘हल्लाले पनि सहकारीमा समस्या भएको त्यसले  गर्दा सहकारी क्षेत्रमा बदनाम भइरहेको छ’, उनले भने, ‘महानगर भित्रका सहकारीमा समस्या कम आओस भन्ने तर्फ महानगर लागेको छ, केही सहकारिको नाममा सबै सहकारी बद्नाम नहुने गरि लैजानुपर्ने अवस्था छ ।’ 

विराटनगर महानगरका आर्थिक बिकास माहाशाखा प्रमुख दिपक पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ मोरङका कोषाध्यक्ष अमृत गुरुङले सहकारी क्षेत्रमा दक्ष जनशक्तिको पनि अभाव भएको बताए ।

दक्ष कर्मचारी राख्दा धेरै तलब दिनुपर्ने बाध्यताका कारण थोरै तलब दिएर राखेका कर्मचारीबाट सोचेजस्तो काम हुन नसक्ने पनि उनले बताए । महानगरले सञ्चालन गरेको तालिमले सहकारी क्षेत्रको वित्तिय विवरण तथा डाटा अपडेटका लागि सहज हुनेमा आफु विश्वस्त  रहेको पनि उनले बताए ।

 त्यसैगरी सहकारी शाखा प्रमुख  प्रतीक गड्तौलाले विराटनगर महानगरपालिकामा  १७६ वटा सहकारी सस्था रहेकोमा १४७ वटाले युजरनेम र पासवर्ड लिएको भएपनि औंलामा गन्न सकिने संस्थाले मात्र नियमित डाटा अपडेट गर्ने गरेको जानकारी दिए । महानगर भित्रका सहकारीको डाटा अपडेट नहुँदा नियमनमा पनि समस्या हुने गरेको उनले बताए ।

त्यसैगरी आर्थिक महाशाखा प्रमुख पौडेलले सहकारी स्वनियम र सुशासनबाट चल्ने भएकाले   बिराटनगर महानगरका सहकारिमा यो कुरा लागू हुनुपर्नेमा जोड दिए ।  सहकारीको आफ्नो मूल्य मान्यता बिर्सेका सहकारिलाइ महानगरले नियमन गरिरहेको र नियम अनुसार चलेका सहकारिलाइ महानगरले सहयोग पनि गरिरहेको पौडेलले बताए ।

उनले सहकारीकर्मीको माग अनुसार नै तालिमको आयोजना गरिएको बताउँदै अहिले निति तथा कार्यक्रम र बजेट बनाउने समय भएकाले पनि सहकारीकर्मीको मागअनुसार कार्यक्रम बनाउन सहयोग पुग्ने भएकाले के कस्ता कार्यक्रम राख्न सकिन्छ भन्ने विषयमा सुझाव दिन पनि आग्रह गरे ।

सहकारी संस्था उत्कृष्ट रुपमा सञ्चालन गरेर देखाउने बेला आएको बताउँदै पौडेलले आफ्नो संस्था राम्रोसँग चलायौं भने बिग्रेका सहकारी सबै हटेर जाने बताए । नियम अनुसार चलेका सहकारी डराउनु पर्ने अबस्था नरहेको उनको भनाई छ ।

महानगरले केही नपुगेको कुरालाइ पूरा गर्नुस भनेर अहिले पनि धेरै सहकारीलाई परिपत्र गरेको बताउँदै उनले  खारेजी गर्ने हो कि भनेर नडराउन आग्रह गरे ।  महानगर सहकारीसग सहकार्य गर्न चाहने  भएकाले गल्ति भयो भनेको ठाउँलाई सच्याउनुभयो र संस्था नियमसंगत सञ्चालन भयो भने समस्या नआउने पनि उनले बताए ।

तालिममा ५० वटा सहकारीका प्रतिनिधि सहभागि छन् । तालिमको सहजिकरण प्रदेश सहकारी रजिष्टार कार्यालय तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका  मनोज कार्कीले गरिरहेका छन् । तालिम १९ गतेसम्म सञ्चालन हुनेछ ।



Leave a comment